नयाँ क्रान्तिको सुरूआत गरेर जनयुद्धका उपलब्धीको रक्षा गर्नेछौं : विप्लव – Nepal Press
नेपाल टक

नयाँ क्रान्तिको सुरूआत गरेर जनयुद्धका उपलब्धीको रक्षा गर्नेछौं : विप्लव

१० वर्षको सशस्त्र युद्ध र १७ वर्षको शान्तिपूर्ण राजनीतिक उतारचढाव पार गरेको यो अवस्थामा माओवादी आन्दोलनका संस्थापकहरु नै पाँचतिर लागेका छन् । सरकारको नेतृत्व, सदनको नेतृत्व सबै अनुभव संगालेको माओवादी नेतृत्वको सांगठनिक छिन्न भिन्नताले यसलाई अझै सपार्ने छैन तर पनि नेताहरुको दम्भ भने सेलाएको छैन ।

२७ वर्षअगाडि २०५२ साल फागुन १ गते सरकारविरुद्ध सशस्त्र युद्धको घोषणा गर्दै नेकपा माओवादी भूमिगत भएको थियो । राजनीतिक दलको सहकार्यमा माओवादी आन्दोलनमा उठेका एजेण्डाहरु स्थापित त भए तर माओवादी आन्दोलन गम्भीर रक्षात्मक अवस्थामा पुगेको छ ।

माओवादीकै सहभागितामा बनेको संविधान र यो व्यवस्थाप्रति नै असहमति जनाउँदै आन्दोलनमा रहेको नेकपा माओवादी विप्लव समूहको आगामी रणनीति के हो ? नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सँग फागुन १ अर्थात् जनयुद्ध दिवसको सन्दर्भमा गरेको कुराकानी  नेपाल टकमा ।

– तपाईंहरू आज जनयुद्ध दिवस मनाइरहनु भएको छ । कसरी सम्झनुहुन्छ फागुन १ लाई ?

खासगरी इतिहासमा कुनैकुनै दिनले नयाँ सुरुआतको सन्देश दिन्छन् । फागुन १ गते त्यस्तै ऐतिहासिक दिन हो, जसले देशको राजनीतिमा ऐतिहासिक र विशिष्ट महत्व राख्छ । यसलाई अर्को अर्थमा भन्दा यो एउटा उत्कर्षको दिन हो । एउटा राजनीतिक सन्दर्भमा उत्कर्षको दिन ।

एउटा प्रक्रिया निषेध गरेर नयाँ प्रक्रिया सुरु भएको दिन हो यो । नेपालको राजनीतिमा जनयुद्धबाट आएको माओवादी पार्टीको नेतृत्व र संसदवादी पार्टीहरूको गठजोडबाट नेपालको राजनीतिमा प्रतिगमन वा पश्चगमन सुरु भयो, त्यसलाई तोडेको दिन हो । त्यसलाई निषेध गरेर कम्युनिस्ट आन्दोलनलाई एउटा मोड दिएको दिन हो । यो एउटा क्रमभङ्ग पनि हो, आरम्भ पनि हो । नेपाली जनताका लागि सुखद् एवम् गौरवपूर्ण दिन हो ।

फागुन १ गते नेपाल र नेपाली जनताको गौरवको दिन हो । हामीले पनि यो दिनलाई गौरवको दिनका रुपमा मनाउँछाँै । पहिलो कुरा महान् जनयुद्ध राजनीतिको एउटा क्रमभङ्ग थियो । नयाँ सुरुआत थियो । एउटा थालनी थियो । त्यसको सार भनेको नेपालमा कायम रहेको सामन्ती सत्ता नोकरशाही तथा दलाल पुँजीवादी सत्तालाई आमूल परिवर्तन र नेपाली जनताको सत्ता नौलो जनवादहुँदै वैज्ञानिक समाजवादतिर देशलाई लैजाने एउटा सुरुआत थियो ।

भारतले नेपालको कालापानी, लिपुलेक, लिम्पियाधुरा क्षेत्रमा गरेको अतिक्रमण, सीमा क्षेत्रमा गरेको ज्यादती, अमेरिकाले एमसिसीलाई नेपालमा जसरी पनि लाद्ने चेस्टा गर्दै अहिले साम्राज्यवादी, पुँजीवादी देशका रणनीतिले नेपाली जनताले दुःखकष्ट, चुनौतीको सामना गर्नुपरेको छ ।

नेपालका श्रमिक जनताहरूको विद्रोहको प्रतिनिधित्व गर्दै नेपाल कम्युनिस्ट पार्टी (माओवादी)ले जनविद्रोह सुरु गर्यो । त्यसले एउटा सफलता प्राप्त गर्दै जाँदा नेपालमा त जनताले जित्छन् भन्ने साबित गर्यो । त्यतिमात्रै होइन, सही विचार, सही कार्यदिशा, सही योजना र नेतृत्व रहँदा जुनसुकै परिस्थितिमा पनि सामन्तवाद, पुँजीवादलाई पल्टाउन सक्ने जनताको सामथ्र्य छ भन्ने साबित गरेको छ ।

१० वर्षमा आइपुग्दाखेरि नेपालको इतिहासमा अभूतपूर्व परिणामहरू प्राप्त भए । जनताले पहिलोपटक आफ्नो सत्ता बनाए । सत्ता सामान्य औपचारिक मात्र होइन, व्यावहारिक र कामकाजी बनाए । उनीहरूले सत्ताभित्र आफ्नो न्याय बनाए, न्याय प्रणाली खडा गरे । उनीहरूले सुरक्षाका लागि एउटा विशाल जनमुक्ति सेना निर्माण गरे । त्यसपछि गएर प्रशासन खडा गरे । विभिन्न खालका राज्य र अङ्गहरू निर्माण गरे, प्रशासनिक निकायहरू निर्माण गरे, वित्तीय संस्थाहरू निर्माण गरे, उद्योगहरू निर्माण गरे ।

शिक्षा र स्वास्थ्यका क्षेत्रमा नयाँ सुरुआतहरू गरे । यस्ता खालका अभूतपूर्व परिणामहरू दस वर्षमा प्राप्त भएर ती परिणामहरूले के साबित गर्‍यो भने जनता नै इतिहासको निर्माता हो र कम्युनिस्ट पार्टीले सही नेतृत्व दिन सक्दाखेरी जनताले रातारात एउटा कायापलट, एउटा ठूलो परिवर्तनलाई हेरफेर गर्न सक्छन् भन्ने प्रमाणित गर्‍यो ।

श्रमिक जनताको प्रतिनिधित्व गरेको हाम्रो पार्टी पंक्तिले एउटा आत्मसमर्पणवादका विरुद्धमा, बिसर्जनवादका विरुद्धमा र संशोधनवादको विरुद्धमा पुनः एउटा क्रान्तिको झन्डा खडा गर्‍यौं । त्यो झन्डा सामान्य नभएर विश्वभरिका श्रमिक जनताका बारेमा देख्ने खालको झन्डा खडा गरेर आज हामी यहाँ आइपुगेका छौँ । फेरि एउटा नयाँ उज्यालो अभ्यास सुरु भएको छ । हामी यहाँ आइपुगेका छौँ र अहिले फेरि दलाल पुँजीपति वर्ग र नेपाली जनताको बीचमा नयाँ संघर्षका किरणहरू अथवा संघर्षका प्रक्रियाहरू अगाडि आएका छन् ।

– तर, तपाईं त अझै क्रान्ति पूरा भएको छैन, क्रान्ति नै गर्नुपर्छ भनिरहनु भएको छ नि, किन ?

क्रान्ति असम्भव होइन, अपरिहार्य आवश्यकता हो । जुन दिनसम्म नेपाली जनताले आफ्नो सत्ताको सुनिश्चित गर्न सक्दैनन्, नेपाल स्वाधीन बन्न सक्दैन, तबसम्म त्यो पुरानो प्रतिक्रियावादी, पुँजीवादी सत्ताका विरुद्धमा क्रान्ति अपरिहार्य र आवश्यक हुन्छ ।

-माओवादी युद्धमा धरै ज्यान गुमाए, घाइते-अपाङ्ग भए । उनीहरूलाई के भन्नुहुन्छ ?

जनयुद्ध एउटा गौरवपूर्ण विद्रोहको दिन हो । त्यसभित्र पनि आफ्नो रगत बलिदान गर्ने, प्राण दिने, नेपाली जनताको मुक्तिको लागि सम्मान र श्रद्धाका लागि हाम्रो पार्टीले जहिले पनि सम्मान गर्छ । यो धर्तीमा रहुन्जेलसम्म हामी जहिले पनि सहिदको सम्मान गर्छौं ।

सहिद जन्माउने, आमाबाबु गुमाउने, छोराछोरी, जीवनसंगिनी गुमाउने, सहिदहरूप्रति सम्मान गर्छौं । क्रान्तिको हैरानीले गर्दा केही रुपरेखा देखा परे तापनि आज सहिदको बलिदान नभएको भए मुलुकमा गणतन्त्र स्थापना हुने थिएन । महत्वपूर्ण राजनीतिक अधिकारहरु प्राप्त हुने थिएनन् ।

क्रान्तिको नेतृत्वमा आएको विचलनले गर्दा केही सहिदको सपनामा समस्या देखा परे पनि ती अपूर्ण सहिदका सपनालाई पूर्णता दिएर लक्ष्यका साथ हाम्रो पार्टीका नेता कार्यकर्ता त्याग, निष्ठाका साथ लाग्नुभएको छ । सहिद परिवारको पनि साथ सहयोगबाट हामी अगाडि बढेका छौ । देश परिवर्तनका लागि आफ्नो ज्यानको आहुति दिनुहुने सहिदहरुप्रति हामी जहिले पनि सम्मान गर्छौं ।

-देशमा संघीयतासहितको गणतन्त्र आइसक्यो । तर तपाईं क्रान्तिको मात्रै कुरा गर्नु हुन्छ । अब केका लागि गर्नुपर्ने हो क्रान्ति चाहिँ ?

क्रान्ति प्रतिकूल परिस्थतिसँग, इतिहाससँग लड्ने कुरा हो । जनताका उत्पीडन दमनसँग लड्ने कुरा हो । जनता जहिले पनि परिवर्तनको पक्षमा हुन्छन्, क्रान्तिको पक्षमा छन् ।

जनताले क्रान्तिप्रति जुन विश्वास गरेर जनयुद्धमा आफ्नो बलिदान गरेका थिए, ती शोषित, पीडित जनताले अहिले पनि न्यायको अनुभूति गर्न सकेका छैनन् । ती शोषित पीडितलाई मुक्ति दिन न्यायको अनुभूति दिलाउनको लागि हामी अगाडि बढेका छौँ ।

शोषित पीडित जनतालाई जबसम्म न्यायको अनुभूति हुँदैन त्यति बेलासम्म हामीले नेतृत्व गर्छांै । जनताप्रति विश्वासका साथ अगाडि बढेमा क्रान्तिका चरणमा आउने विभिन्न घटना र परिघटनालाई सजिलैसँग समाधान गर्न सकिन्छ ।

-अब तपाईंको पार्टीको रणनीति के हो त ?

दलाल पुँजीवादी संसदीय व्यवस्था असफल र संकटग्रस्ट भएका कारणले जनताले निकास पाउन सकेका छैनन्, जनताले दुःख पाएका छन्, कष्ट भोग्नुपरेको छ । जसका कारणले देशमा पुँजीवादी सत्ता निर्माण भए तापनि जनताले त्यसको आकार, ईकारको पहिचान गर्न सकेका छैनन् ।

१० वर्षमा आइपुग्दाखेरि नेपालको इतिहासमा अभूतपूर्व परिणामहरू प्राप्त भए । जनताले पहिलोपटक आफ्नो सत्ता बनाए । सत्ता सामान्य औपचारिक मात्र होइन, व्यावहारिक र कामकाजी बनाए । उनीहरूले सत्ताभित्र आफ्नो न्याय बनाए, न्याय प्रणाली खडा गरे । उनीहरूले सुरक्षाका लागि एउटा विशाल जनमुक्ति सेना निर्माण गरे ।

त्यसकारण जनताको सत्ता अर्थात् वैज्ञानिक समाजवादी सत्ता निर्माणको लागि हामी लागेका छौं । नेपालमा वैज्ञानिक समाजवादी सत्ता किसान, मजदुर, श्रमिक वर्गको हुनेछ । त्यसको लागि हामी निरन्तर लागिपरेका छौँ । नेपालमा नेपाली जनताको सत्ता वैज्ञानिक सत्ता हुँदै एकीकृत जनक्रान्तिमार्फत् पूरा हुन्छ ।

-सरकारले चुनाव घोषणा गरिसक्यो, सबै दल चुनावी तयारीमा लागेका छन् । तपाईंहरु चाहिँ जनमत संग्रहको कुरा गर्नुहुन्छ । आम नागरिकले कसरी बुझ्ने ?

जनमत संग्रह वस्तुस्थिति र जनताले चाहना गरेअनुसार हुने हो । नेपालमा संसदीय व्यवस्था सफल हुन सकेन, जसकारणले नेपाली जनताले विभिन्न बाधा अवरोध, दुःखकष्टको सामना गनुपर्‍यो । जनताका कुरालाई हामीले उजागर गर्दा राज्यले हामीलाई हत्या र हिंसाको संज्ञा दियो ।

हामीले नेपालमा नेपाली जनताको आफ्नै व्यवस्था ल्याउनको लागि जनमत संग्रहको अवधारणा ल्याएका छौँ । नेपालमा अब नेता छान्ने चुनाव होइन व्यवस्था छान्ने चुनाव गरौँ, हामी तयार छौँ भनेर भन्दा राज्य जिम्मेवार बनेन । राज्य जनताप्रति उत्तरदायी बन्न सकेन, ३ बुँदे सहमति कार्यान्वयन गर्न सकेन । राज्यका क्रियाकलापले गर्दा हामी जिम्मेवार बनेका छौँ । लगत्तै केन्द्रीय समितिको बैठक बसेर चुनावबारे नयाँ रणनीति ल्याउँछौँ ।

-अहिले देशमा एमसीसीको विषय चर्चामा छ । यसबारे तपाईंको पार्टीको धारणा के हो ?

खासगरी विश्व भूमण्डलीकृत चरित्रमा पुगेको छ । सामाज्यवादी, पुँजीवादी देशले साना अविकसित देशलाई जहिले पनि उत्पीडन, दमनको सिकार बनाइराखेका छन् । त्यसको तीव्रता नेपालमा परेको छ ।

भारतले नेपालको कालापानी, लिपुलेक, लिम्पियाधुरा क्षेत्रमा गरेको अतिक्रमण, सीमा क्षेत्रमा गरेको ज्यादती, अमेरिकाले एमसिसीलाई नेपालमा जसरी पनि लाद्ने चेस्टा गर्दै अहिले साम्राज्यवादी, पुँजीवादी देशका रणनीतिले नेपाली जनताले दुःखकष्ट, चुनौतीको सामना गर्नुपरेको छ ।

जनताको सार्वभौमता, स्वाधीनतामा दिन प्रतिदिन समस्याको उजागर भएको छ । परिवर्तनको लागि हजारौँ जनताले बलिदान गर्नुभयो, लाखौँ जनताले साथ सहयोग गर्नुभएको छ । नेपाली जनताले राष्ट्रिय स्वाधीनता सार्वभौम रक्षाको लागि आन्दोलन गर्नुपर्छ, त्यसका लागि हामी तयार छौँ । अन्तर्राष्ट्रिय परिस्थतिको सामना गरेर नेपाल र नेपाली जनतालाई विदेशी उपनिवेशबाट मुक्त बनाउँछौं।

-आन्दोलनका उपलब्धीको रक्षा गर्न के गर्नुपर्‍यो ? माओवादीको संगठन संरचना ध्वस्त हुनुलाई कसरी विश्लेषण गर्नुहुन्छ ?

जनयुद्धले नेपालको राजनीतिक इतिहासमा अभूतपूर्व इतिहास, सफलता र उपलब्धी हासिल गर्‍यो । नेपाली जनताले विजय हासिल गरे । नेपाली जनताले आफ्नै अर्थतन्त्र बनाए, सेना बनाए, प्रशासन बनाए, अदालत बनाए र सामन्तवाद र पुँजीवादका विरुद्धमा जनताले आफ्नै सत्ता स्थापना गरेर जनताले देशमा नयाँ सत्ता निर्माण गरे । मूलतः त्यो बेला जनयुद्धको मुख्य नेतृत्व गरेका भनेर चिनिने प्रचण्ड, बाबुराम र बादलहरू हुन् ।

जनयुद्ध एउटा गौरवपूर्ण विद्रोहको दिन हो । त्यसभित्र पनि आफ्नो रगत बलिदान गर्ने, प्राण दिने, नेपाली जनताको मुक्तिको लागि सम्मान र श्रद्धाका लागि हाम्रो पार्टीले जहिले पनि सम्मान गर्छ । यो धर्तीमा रहुन्जेलसम्म हामी जहिले पनि सहिदको सम्मान गर्छौं ।

जनयुद्धको नेतृत्व गरेका उनीहरूमा एकाएक त्यत्रो विचलन आयो । बाबुरामले माक्र्सवाद नै छोड्नुभयो । प्रचण्डजीले क्रान्ति छोड्नुभयो । जनयुद्धले उठाएका विषयले आज पूर्णता पाउन सकेनन् । प्रचण्ड, बाबुरामले जनयुद्धको आदर्श र प्राप्त उपलब्धीको रक्षा गर्न सक्नुभएन ।

जनताले जुन उचाइमा सफलता प्राप्त गरे ती सफलताबाट पराजय हुनुपर्यो, रक्षा हुन सकेन । यो गौरवपूर्ण दिन विभिन्न घटना परिघटना हँुदै आज यहाँसम्म आएको छ । ती घटना र परिघटनाका शिक्षालाई आज एकीकृत जनक्रान्तिमा रुपान्तरण गरेर नेपालमा नयाँ क्रान्तिको सुरुवात गरेर जनयुद्धका उपलब्धीको रक्षा गर्नेछौँ ।

-जनयुद्ध दिवसमा के सन्देश दिन चाहनुहुन्छ ?

जनयुद्ध दिवस नेपाली जनताको मनमनमा भिजेको छ । सबैको जीवनमा बदलिसकेको पर्व नै हो, यद्यपि पछिल्लो समयमा केही समस्याहरू आए । तर पनि जनयुद्धमा कुनै न कुनै रूपले संलग्न नहुने नेपालमा मान्छे नै छैन । यद्यपि कांग्रेस–एमालेभित्रको पनि ठूलो पंक्ति कुनै न कुनै रूपले जनयुद्धमा संलग्न छ । जनयुद्ध दिवसलाई एउटा उत्सवका रूपमा मनाउनुपर्छ । पहिलो कुरा यो हो ।

दोस्रो कुरा जनयुद्धको जगमा एकीकृत जनक्रान्तिको विकास हुँदै गएको छ । जनयुद्धलाई उत्सवका रूपमा मनाउँदै गर्दा एउटा नयाँ प्रतिबद्धता गर्न चाहन्छौँ- जनयुद्धको जुन अधुरो पाटो छ राज्यसत्तालाई आमूल परिवर्तन गरेर वैज्ञानिक समाजवाद निर्माण गर्ने जुन लक्ष्य छ, त्यो कार्यभारलाई पूरा गर्न हामी यो उत्सवमा एकीकृत जनक्रान्तिको कार्यभारलाई जोड्दै त्यही उचाइमा देश, परिवार, गाउँ, जिल्ला, क्षेत्र, देशभरि र अन्तर्राष्ट्रिय क्षेत्रमा समेत यसलाई उत्सवका रूपमा मनाउनुपर्छ ।

यो गौरवको इतिहासलाई एकीकृत जनक्रान्तिको कार्यभारसँग जोड्नुपर्छ । एउटा नयाँ प्रतिबद्धतासँग जोड्नुपर्छ । गौरवको इतिहासलाई विजयको इतिहाससँग जोड्नुपर्दछ भन्ने अपिल छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर