भाइरल रत्नेचौरको तोरीबारीमा आजदेखि घुम्न पाइने


म्याग्दी । पछिल्लो समय सामाजिक सञ्जालमा भाइरल बनेको बेनी–१ रत्नेचौरको तोरीबारीमा भीड लागेपछि स्थानीय प्रशासनले लगाएको रोक आजबाट खुला भएको छ ।
म्याग्दी, बागलुङ र पर्वतसहित गण्डकी प्रदेशका विभिन्न जिल्लाबाट रत्नेचौरमा तोरीबारीमा पुगेर तस्बीर खिचाउने र टिकटक बनाउनेको ताँती नै लाग्ने गरेको छ ।
उत्तरपट्टी चाँदी झै टल्केका धवलागिरि हिमशृङ्खला, पश्मिबाट पूर्वतर्फ लमतन्न फैलिएको समथर फाँट, फाँटैभरी गहुँको हरियाली र पहेँलो फुलेको तोरीको मिश्रणले अकर्षक लाग्ने दृश्यका कारण फाँटकोबीच भागमा पीच गरिएको पक्की सडकमा तस्बीर खिच्न र टिकटक बनाउन व्यस्त युवायुवती तथा वयस्कहरुको भीडले रत्नेचौरको रौनक बढाएको हो ।
रत्नेचौरको फाँटमा सयौं तन्नेरी पुगेर दैनिक तोरीबारीलाई फेसबुक, टिकटक, इन्स्टाग्राममा कैद गर्नाका लागि रत्नेचौर महिला बचत तथा ऋण सहकारीले जनजातिको पोशाक भाडामा दिएर एक महिनामै करिब रु ६० हजार आम्दानी गरेको छ ।
सहकारीले आफ्नो सहकारीको साधारणसभा तथा समुदायस्तरमा आयोजना हुने कार्यक्रमका लागि ३० हजार रुपैयाँमा १० सेट त्यस्ता गहना र पोशाक खरिद् गरेको सहकारीका सचिव सुलोचना केसीले बताए । “तोरीबारीले मगर समुदायको वेषभूषाको पनि प्रचारप्रसार भयो र सङ्कलित रकमलाई जातीय पोशाक प्रवद्र्धनमै खर्च गछौं” उनले भने ।
रत्नेचौरका महिलालाई आर्थिक, सामाजिक तथा आयर्आजनको क्षेत्रमा समेत सहयोग गर्ने गरेको सहकारीले तोरीबारीमा पोशाक प्रयोग गर्ने स्थानीयवासीलाई रु १०० र बाहिरबाट आउनेलाई रु २०० लिने गरेको छ । रत्नेचौरलाई कृषिको हब बनाउन स्थानीय युवा अग्रसर भएका छन् ।
कृषि पर्यटनको प्रचुर सम्भावना रहेको त्यस स्थानको विकासका लागि अग्रसर भएका स्थानीय युवा तथा भानु माध्यमिक विद्यालयका प्रधानाध्यापक भरत खत्रीका अनुसार जगतगुरु हिमालयन बाबाको योजना अनुसार रत्नेचौरमा निर्माण हुन लागेको पार्कलाई रत्नपार्क नामाकरण गरेर त्यहाँ पृथ्वी आकारको भ्यू टावरको काम अगाडि बढाउने योजना रहेको छ ।