प्रचण्डको प्रष्टोक्ति: मैले संसद बैठक सार्न आदेश दिएको होइन, एमसीसी र गठबन्धनको सम्बन्ध छैन (भिडिओ) – Nepal Press

प्रचण्डको प्रष्टोक्ति: मैले संसद बैठक सार्न आदेश दिएको होइन, एमसीसी र गठबन्धनको सम्बन्ध छैन (भिडिओ)

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद बैठक सार्न आफूले निर्देशन दिएको भनेर गलत प्रचार गरिएको बताएका छन्। आइतबार पेरिसडाँडामा आयोजित माओवादी जनयुद्ध दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले आफ्नो कारण नभइ प्रधानमन्त्रीको आग्रहमा बैठक सारिएको बताए।

‘अग्नि सापकोटा सभामुख होइन, प्रचण्डको आदेशमा संसद बैठक सारियो भन्ने कुप्रचार के गरियो,’ उनले भने, ‘यो के विचित्र हो ? प्रधानमन्त्री आफैंले आग्रह गरेर संसद १० दिन सारेको हो । तर, मिडियामा प्रचण्डलाई के गरी बदनाम गर्न सकिन्छ भनेर प्रचार गरियो ।’

प्रधानमन्त्री शेरबहादुर देउवाले नै गलत प्रचार भयो, बाहिर भनिदिनुहोस् भनेकाले पनि आफूले यो कुरा प्रष्ट्याएको उनले बताए। ‘हिजो प्रधानमन्त्रीले नै भन्नुभयो यो कुरा साँचो होइन, जनतालाई भनिदिनुहोस्,’ उनले भने।

प्रचण्डले केन्द्र र सबै प्रदेश सरकारलाई ‘जनयुद्ध दिवस’ मनाउन पनि आग्रह गरेका छन् । मधेस प्रदेश सरकारले जनयुद्ध दिवस मनाउन लागेको र आफू प्रमुख अतिथि भएर जान लागेको बताउँदै प्रचण्डले अन्य सरकारले पनि मनाउनुपर्ने बताए।

‘अब सबै केन्द्र सरकार र प्रदेश सरकारले पनि जनयुद्ध दिवस मनाउन म अपिल गर्न चाहान्छु,’ उनले भने, ‘म हाम्रा मुख्यमन्त्री भएका सरकार र अरु कोही मुख्यमन्त्रीलाई पनि मनाउन आग्रह गर्छु । छिट्टै केन्द्रबाट पनि त्यो होस् र हुने छ भन्ने पनि म विश्वास गर्न चाहन्छु ।’

मधेस सरकारले जनयुद्ध दिवस मनाउने निर्णय गरेर साहासिक निर्णय लिएको पनि प्रचण्डको भनाइ छ। ‘म मधेस सरकारलाई विशेष धन्यावाद भन्न चाहान्छु,’ उनको भनाइ छ, ‘यो साहासिक निर्णय उहाँहरुले गर्नु भएको छ। पछि सबैले यसलाई पच्छ्याउने छन् भनेर म विश्वास गर्न पनि चाहान्छु ।’

उनले अर्को एक प्रसङ्मा एमसीसी र सत्तागठबन्धनबीच सम्बन्ध नभएको पनि बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर