स्थानीय चुनावको तयारीमा जुटे लुम्बिनीमा राजनीतिक दल – Nepal Press

स्थानीय चुनावको तयारीमा जुटे लुम्बिनीमा राजनीतिक दल

रुपन्देही । वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने निर्णय सरकारको निर्णयपछि लुम्बिनीमा क्रियाशील राजनीतिक दलले निर्वाचन केन्द्रित कार्यक्रम सुरु गरेका छन् । यहाँ एमाले, कांग्रेस एकल रुपमा निर्वाचनमा जान चाहेका छन् भने अन्य दलहरु गठबन्धनबाट जान पाए आफ्नो केही सिट सुरक्षित गर्न सकिनेगरी योजना बनाइरहेका छन् ।

कांग्रेसको अहिलेको प्रदेश कमिटी गठबन्धनको विपक्षमा छ । स्थानीय तहमा आफ्नो बर्चश्व जमाएका नेकपा एमाले, नेपाली कांग्रेस केन्द्रले आफ्नो विरासतलाई कसरी जोगाउने योजनामा छन् । तराईका जिल्लामा जित हासिल गरेको जसपा, अघिल्लो निर्वाचनमा कांग्रेससँग गठबन्धन गरेर धेरै ठाउँमा जित निकालेको माओवादी केन्द्र, एमालेबाट छुटिएर सत्ता साझेदार रहेको नेकपा एकीकृत, सत्ता गठबन्धनमा साझेदार रहेको राष्ट्रिय जनमोर्चालगायतका दलहरु पनि आ–आफ्नो जोडघटाउमा लागेका छन् ।

योबीचमा विभिन्न दलमा आगामी निर्वाचनमा उम्मेदारको बार्गेनिङ गरेका जनप्रतिनिधि तथा अन्य नेता कार्यकर्ताहरु दल अदलबदलमा लागिरहेका छन् । सबै पार्टीले विभिन्न कार्यक्रम गर्दै प्रवेश गराउनेको लहर लुम्बिनीका विभिन्न जिल्लामा चलिरहेको छ ।

केन्द्रदेखि तल्लो तहसम्म दलका नेता–कार्यकर्ताले चुनावी रणनीति र हिसाबकिताब गर्न थालेका छन । लुम्बिनी प्रदेशमा पनि प्रमुख राजनीतिक दलका प्रदेश समितिले निर्वाचनको तयारी थालिएको बताएका छन ।

नेपाली कांग्रेस लुम्बिनी प्रदेश समितिले फागुनको पहिलो हप्ता कार्यसमितिको बैठक बसेर चुनावी तयारी अघि बढाउने बताएको छ । नेकपा एमालेको लुम्बिनी प्रदेश समितिले चुनावी रणनीति बनाउन सुरु गरिसकेको जनाएको छ ।

केन्द्रको निर्णयानुसार फागुन ११ र १२ गते अभिमुखीकरण, प्रशिक्षण र गोष्ठी हुन लागेको एमाले प्रदेश उपाध्यक्ष भोजप्रसाद श्रेष्ठले बताए । गोष्ठीमा निर्वाचित जनप्रतिनिधि र जिम्मेवार कार्यकर्ता सहभागी हुने र एमालेले चुनावी अभियान सुरु गर्ने उनले बताए ।

एमालेको निर्वाचित प्रदेश कमिटी भने बनिसकेको छैन । माघ ८ गते प्रदेश अधिवेशन गर्ने भनिए पनि कोरोनाका कारण स्थगन गरिएको थियो । अहिले निर्वाचित नभइ केन्द्रले तोकेका पदाधिकारी मात्र छन् ।

एमाले लुम्बिनीका उपाध्यक्ष भोजप्रसाद श्रेष्ठले चुनावअघि प्रदेश अधिवेशन हुने सम्भावना नरहेको बताए । कांग्रेस लुम्बिनीका महामन्त्री सुरेन्द्रराज आचार्यले चुनावको तयारीमा लाग्न र जित्ने सम्भावित उम्मेदवारको सूची बनाउन तल्लो तहसम्म सर्कुलर गरिने बताए ।

कांग्रेस लुम्बिनी प्रदेश समितिले बुटवलको तामनगरमा कार्यालय स्थापना गरेको छ । कार्यालय मर्मतका कारण बैठक बस्न केही ढिलाइ भएको महामन्त्री आचार्यले बताए । नेकपा माओवादी केन्द्रले मंसिर अन्तिम साता प्रदेश सम्मेलन गरेको थियो । प्रदेश सम्मेलनबाट २ सय १७ सदस्यीय प्रदेश कमिटी त गठन भयो तर अहिलेसम्म पदाधिकारी चयन हुन सकेका छैनन् । जसका कारण चुनावको तयारीमा माओवादी केन्द्रको प्रदेश कमिटी लाग्नसकेको छैन ।

माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकपछि प्रदेशका पदाधिकारी चयन हुने र विधिवत रूपमा चुनावको तयारीमा लागिने माओवादी केन्द्र लुम्बिनी प्रदेश सदस्य सुदर्शन बरालले बताए ।

निर्वाचनको तयारीस्वरूप नै वडा तहबाटै सम्मेलन गरेको भन्दै फागुनको पहिलो हप्ता पदाधिकारी चयन टुंगिएपछि चुनावमा होमिने उनको भनाइ छ । त्यसैगरी एमालेबाट फुटेर बनेको नेकपा एकीकृत समाजवादी तथा जनता समाजवादी पार्र्टी, राष्ट्रिय जनमोर्चालगायत दलले पनि चुनावका लागि आआफ्ना तयारी थालेका छन् ।

गत निर्वाचनमा प्रदेशका १ सय ९ स्थानीय तहमध्ये धेरैमा एमालेले जितेको थियो । उसले यो प्रभाव कायमै राख्न चाहेको छ । कांग्रेसले प्रदेशका ठूला सहरसहित एमालेले जितेका पालिका खोस्ने रणनीति बनाएको छ । माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा, राप्रपालगायत दलले पनि स्थानीय सरकार हात पार्न रणनीति बनाउन थालेका छन ।

लुम्बिनीका ४ उपमहानगरमध्ये ३ उपमहानगरमा गत चुनावमा एमालेले प्रमुख र उपप्रमुख पदमा विजयी प्राप्त गरेको थियो । नेपालगन्ज उपमहानगरपालकामा राप्रपाले प्रमुख र कांग्रेसले उपप्रमुख पद हात पारेका थिए ।

लुम्बिनीमा कति छन् मतदाता

निर्वाचन आयोगको पछिल्लो तथ्यांकअनुसार लुम्बिनी प्रदेशमा २८ लाख ८३ हजार ९ सय ५८ जना मतदाता रहेका छन् । जसमा महिलाको संख्या १४ लाख ३१ हजार ४ सय ९५ र पुरुष मतदाताको संख्या १४ लाख ५२ हजार ४ सय ३६ जना रहेका छन् । अन्य मतदाताको संख्या २७ जना रहेका छन् । २०७७ पुससम्म मतदाताको अद्यावधिक विवरण अनुसार देशभर १ करोड ६२ लाख ४३ हजार १ सय १० जना रहेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर