वैदेशिक रोजगार विभागका तत्कालिन महानिर्देशक काफ्लेद्वारा पाँच महिने कार्यप्रगति सार्वजनिक


काठमाडौं । वैदेशिक रोजगार विभागबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा काज सरुवा भएर गएका विभागका तत्कालिन महानिर्देशक दिपक काफ्लेले विभागमा रहेर गरेको पाँच महिने कार्यप्रगति सार्वजनिक गरेका छन् ।
तत्कालिन महानिर्देशक काफ्लेले गत भदौ १० गतेदेखि माघ मसान्तसम्म वैदेशिक रोजगार विभागमा रहेर सम्पादन गरेका मुख्य–मुख्य कार्य तथा प्रक्रियामा रहेका १५ बुँदे कार्यप्रगति विवरण सार्वजनिक गरेका हुन् ।
यस्तो छ उनको कार्यप्रगति विवरण
सार्वजिनक भएको कार्यप्रगति विवरण अनुसार नेपाल र इजरायल सरकारबीच भएको श्रम सम्झौता अनुसार इजरायलका दीर्घकालिन स्याहार केन्द्रमा काम गर्न पठाउने नेपाली सहायक कामदार छनौट प्रक्रिया सम्पन्न गरिएको छ ।
माघ मसान्तसम्ममा दुई सय ९७ जना नेपाली कामदार इजरायल प्रस्थान गरिसकेका र नौ सय ९९ जनासँग सम्झौता सम्पन्न भइसकेको कार्यप्रगति विवरणमा उल्लेख गरिएको छ ।
करिब २ वर्षदेखि रोजगार अनुमति प्रणाली ईपीएसमार्फत गणतन्त्र कोरियामा नेपाली कामदार जाने कार्य रोकिएको अवस्थामा आपसी सहमति तथा नीतिगत र कार्यगत व्यवस्था मिलाइएको उनको दाबी छ । जसमा कात्तिक ९ गतेदेखि गणतन्त्र कोरिया कामदार पठाउने कार्य पुनः सुरुवात गरि माघ मसान्तसम्म आठ सय ९९ कामदार कोरिया प्रस्थान गरेका छन भने परीक्षा संचालन गरि नयाँ जनशक्ति समेत उत्पादन गरिएको उल्लेख छ ।
कोभिड–१९ महामारीका कारण समयमा विदेशमा कामदार पठाउन नसकी समयावधि सकिन लागेका मागपत्रको २०७६ असोज १० गतेदखि आगामी २०७९ जेठ २१ गते सम्मको क्रियाशीलता कायम गरि दुइ वर्ष कटेका मागपत्रको पाँच महिना म्याद थप गरि कामदार पठाउने कार्यको निरन्तरता दिइएको छ ।
स्वीकृतिको निर्णय तह घटाई सहायक स्तरबाट कागजात परिक्षण गर्ने तथा अधिकृत स्तरबाट श्रम स्वीकृति प्रदान गरि छिटो तथा सरल रुपमा सेवा प्रवाह गर्न प्रशासनिक र प्रविधिगत सुधार गरिएको परिणामस्वरुप सेवाग्राहीको भिड कम हुनुका साथै सेवा प्रवाह प्रभावकारी भएको उल्लेख छ ।
वैदेशिक रोजगार व्यवस्थापन सेवा प्रवाह कार्यबिधि, २०७८ तथा सिघ्र प्रत्युत्तर टोली आरआरटी परिचालन कार्यविधि, २०७८ को मस्यौदा तयार गरि स्वीकृतिका लागि मन्त्रालय समक्ष पेश गरिएको एवं वैदेशिक रोजगार व्यवसाय कोष संचालन सम्बन्धी मापदण्ड मस्यौदा पनि यसै अवधिमा भएको छ ।
राष्ट्रिय र अन्तराष्ट्रिय संघ संस्थासँग समन्वय गरि वैदेशिक रोजगार व्यवस्थापन सम्बन्धी कार्यमा सहकार्य गरि राहत तथा उद्दार सम्बन्धी कार्य गरिएको छ ।
वैदेशिक रोजगार व्यवसायी संस्थालाई अदालतको फैसला तथा प्रचलित कानून अनुसार इजाजत पत्र प्रदान गर्ने, शाखा कार्यालय अनलाइन गर्ने, संस्था नवीकरण गर्ने, जिट्को सूचीकरण गर्ने लगायत संघ संस्था सम्बन्धी व्यवस्थापकीय कार्य सातौ बुदाँमा गरिएको जनाइएको छ ।
कर्मचारी व्यवस्थापन, योजना कार्यान्वयन, बेरुजु फछ्यौट तथा आर्थिक व्यवस्थापन सम्बन्धी कार्यलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने व्यवस्था मिलाईएको छ ।
इजाजतप्राप्त संस्थासँग सम्बन्धित वैदेशिक रोजगार व्यवस्थापन सम्बन्धमा आएका उजुरी, गुनासो समयमै फछ्यौट गरि पिडितलाई राहत तथा क्षतीपुर्ति दिलाउने संस्थालाई जरिवाना गर्ने तथा अन्य र दोषी देखिएका संघ संस्था एवं सम्वद्व व्यक्तिलाई तत्काल कारवाही गर्नेगरी अर्धन्यायिक कार्य सम्पादन गरिएको कार्यप्रगतिमा उल्लेख छ ।
यस्तै वैदेशिक रोजगार सँग सम्बन्धित व्यक्तिगत ठगी सम्बन्धी उजुरी, गुनासोको तिव्रगतिमा अनुसन्धान तथा अभियोजन गरिएको जनाएको छ । वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली एफईआईएमएसको स्थापना, निरन्तरता, विस्तार, परिक्षण, सुधार तथा स्तरोन्नती गरि वैदेशिक रोजगार व्यवस्थापन सम्बन्धी सेवालाई पूर्ण रुपमा सूचना प्रविधिमा आधारित बनाउने गरि पूर्वाधार र प्रणाली सुधार सम्बन्धी कार्य गरिएको र यसलाई निरन्तरता दिएको छ ।
रोजगार अनुमति प्रणाली ईपीएसका परीक्षा संचालन गर्न निर्माण भएको भवनको फाइलिङ्ग सम्बन्धी कार्य भइरहेको छ भने ईपीएस शाखा भैसेपाटीमा सार्न कार्यालय शिलान्यास सम्बन्धी कार्य भइरहेको जनाइएको छ ।
सिघ्र प्रत्युत्तर टोली आरआरटी गठन गरि वैदेशिक रोजगार सम्बन्धी उजुरी गुनासोको तत्काल सम्बोधन गर्ने तथा पिडितलाई तत्काल उद्दार गर्ने, राहत दिने एवं क्षतीपूर्ति उपलब्ध गराउने र संस्थाको अनुगमन गर्ने कार्य निरन्तरता रहेको जनाइएको छ ।
संवैधानिक निकाय, निगरानी निकाय तथा मन्त्रालयबाट प्रत्यायोजन तथा निर्देशन भएका विभाग र अन्तर्गतका कार्यालयसँग सम्बन्धित कार्य तिव्रगतिमा सम्पादन गरि समग्र कार्य सम्पादनमा सुशासन कायम गर्ने प्रयास गरिएको छ ।
प्रचलित कानून अनुसार विभागबाट सम्पादन गर्नुपर्ने कार्य एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिवसँग भएको कार्यसम्पादन करार अनुसारका कार्य समयमै सम्पादन गर्ने गरि आवश्यक कार्य भई रहेको पनि जनाइएको छ ।
वैदेशिक रोजगार सम्बन्धी सेवा प्रवाह गर्ने निकायको सेवा प्रवाहलाई जनमुखी, जवाफदेहि, पारदर्शी तथा सेवाग्राहीमैत्री एवं आधनिक सूचना प्रविधिमा आधारित बनाउदै सेवा प्रवाहमा सुशासन कायम गर्न सम्पन्न गरिएका तथा प्रक्रियामा रहेका १३ बुदेँ नीतिगत, नियमनकारी, अर्धन्यायिक, प्रर्वद्धनात्मक एवं अनुसन्धानात्मक कार्य गरेको उल्लेख गरेका छन् ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले मन्त्रीस्तरीण निर्णय गर्दै विभागको महानिर्देशकमा मन्त्रालयका सहसचिव शेषनाारायण पौडेललाई जिम्मेवारी दिएपछि काफ्ले मन्त्रालय तानिएका थिए ।