अब कोरोना संक्रमणको जोखिम टरेकै हो ? – Nepal Press

अब कोरोना संक्रमणको जोखिम टरेकै हो ?

काठमाडौं । पुस १८ गतेदेखि सुरु भएको कोरोना भाइरसको तेस्रो लहर विस्तारै ओरालो लाग्दैछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले माघ महिनामा दैनिक संक्रमित हुनेको संख्या २५ हजारसम्म पुग्ने बताएको थियो । माघ २ गते १२ हजार ८ जना संक्रमित थपिएपछि दोस्रो लहरमा जस्तै ठूलो क्षति बेहोर्नुपर्ने हो कि भन्ने चिन्ता भएको थियो ।

तर संक्रमितहरुलाई दोस्रो लहरमा जस्तै कडा लक्षण देखिएको थिएन । ओमिक्रोन भेरियन्टको लक्षण भाइरल ज्वरो जस्तै थियो । जसकारण लक्षण देखिएकाहरु पनि सामान्य भाइरल ज्वरो सोचेर पीसीआर परीक्षण गर्न गएनन् । त्यसले संक्रममण फैलाउन मद्दत पुगेको थियो । यद्यपि, संक्रमित भइहाले पनि ५ देखि ७ दिनमा निको हुने थाल्यो ।

अहिले विस्तारै ओमिक्रोन संक्रमण पिक आवरबाट ओरालो लागेको छ । एक महिना अघि बन्द भएका विद्यालय विस्तारै खुल्न थालेका छन् । यातायातमा लगाएको जोर–बिजोर प्रणाली हटाइएको छ । मेला महोत्सवहरु हुन थालेका छन् । बन्द भएका मठमन्दिर खुल्न थालेका छन् । तर तुलनात्मकरुपमा दर घटे पनि अहिले दैनिक एक हजार हाराहारीमा संक्रमित थपिइरहेका छन् । अब सबै क्षेत्र खुलाउँदा फेरि संक्रमणको दर बढ्ने त होइन भन्ने चिन्ता पनि छ । र स्वास्थ मन्त्रालयले जोखिम अझै कायम रहेको बताइरहेको छ ।

अस्पतालमा बिरामीको चाप घट्दो

गत साता सशस्त्र प्रहरी बल अस्पताल बलम्बुमा भेन्टिलेटरमा १, आइसीयुमा ५ र एचीडीयुमा २० जना संक्रमित थिए । वीरेन्द्र अस्पतालको भेन्टिलेटरमा २, आइसीयसमा ११, इचडीयुमा ३९ र जेनेरलमा २ जना भर्ना भएका थिए ।

नेपाल प्रहरी अस्पतालको जेनेरेलमा २६, एचडीयुमा २९, आइसीयुमा ४ जना थिए । वीर अस्पतालको जेनेरलमा ६९, एचडीयुमा ७८, आइसीयुमा २४ र भेन्टिलेटरमा ५ जना कोभिडका बिरामी थिए । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको जेनेरलमा शून्य, एचडीयुमा १७, आइसीयूमा २ र भेन्टिलेटरमा २ जना बिरामी थिए ।

त्यस्तै त्रिवि शिक्षण अस्पतालको जेनेरलमा २, एचडीयुमा १०६, आइसीयुमा १७ र भेन्टिलेटरमा ६ जना कोरोनाका बिरामी थिए । पाटन अस्पतालको जेनेरलमा ४३ जना, एचडीयुमा ३४ आइसीयुुमा १२ र भेन्टिलेटरमा ७ जना थिए ।

त्यस्तै निजामती कर्मचारी अस्पतालको जेनेरलमा १, एचडीयुमा २३, आइसीयुमा १३ जना कोभिडका बिरामी थिए । भक्तपुर अस्पतालमा ९ जना एचडीयुमा, आइसीयु र भेन्टिलेटरमा ४–४ जना थिए ।

धुलिखेल अस्पतालमा एचडीयु र आइसीयुमा २०–२९ जना थिए भने भेन्टिलेटरमा ४ जना थिए । उपत्यकाका सबै कोभिड अस्पतालमा गरी उक्त दिन जेनेरलमा १८२, एचडीयुमा ३७५ आइसीयुमा ११२ र भेन्टिलेटरमा ३१ जना थिए ।

एक सातायता अस्पतालमा चाप कम छ । बिहीबार उपत्यकाको सशस्त्र प्रहरी बल अस्पतालको एचडीयु ८, आइसीयुमा ५ जना छन् । वीरेन्द्र अस्पतालको एचडीयुमा १५, आइसीयुमा १३ र भेन्टिलेटरमा १ जना छन् । वीर अस्पतालको जेनेरलमा ५८, एचडीयुमा ६०, आइसीयुमा २१ र भेटिन्टलेटरमा २ जना छन् । नेपाल प्रहरी अस्पतालको जेनेरलमा ६, एचडीयुमा १३, आइसीयुमा १ जना बिरामी छन् ।

शुक्रराज ट्रपिकल अस्पतालको एचडीयुमा १६, आइसीयुमा ४ र भेन्टिलेटरमा १ जना बिरामी छन् । टिचिङ अस्पतालको जेनेरलमा २, एचडीयुमा ७७, आइसीयुमा २० र ६ जना भेन्टिलेटरमा छन् भने पाटन अस्पतालको जेनेरलमा ४६, एचडीयुमा १८ आइसीयुमा ६ र भेन्टिलेटरमा ५ जना बिरामी छन् ।

त्यस्तै निजामती अस्पतालका ३ जना जेनेरलमा, एचडीयुमा २४, आइसीयुमा १० छन् । धुलिखेल अस्पतालको एचडीयुमा २७, आइसीयुमा १६ र भेन्टिलेटरमा २ जना छन् ।

दुई साताको तथ्यांक हेर्ने हो भने अस्पतालमा ओक्रिोन संक्रमित बिरामीको चाप घटेको देखिन्छ । टेकु अस्पतालका चिकित्सकहरुका अनुसार तेस्रो वेभमा अस्पतालमा कुनै पनि दिन बिरामीको चापाचाप भएन । दोस्रो वेभमा टेकु अस्पतालमा बेड पाउनै मुस्किल थियो ।

तेस्रो वेभमा सोचेजस्तो अवस्था गम्भीर नभएको टेकु अस्पतालका फोकल पर्सन डा. विमल शर्मा चालिसेले बताए । उनले भने, ‘अहिले हाम्रो अस्पतालमा आधा दर्जन मात्रै बिरामी छन् । दोस्रो लहरमा जस्तो बिरामी कहिल्यै पनि आएनन् । तेस्रो लहरमा कुनै पनि दिन अस्पतालको बेड भरिभराउ भएन । फाटफुट मात्रै बिरामी आए ।’

वीर अस्पतालका उपनिर्देशक डा प्रज्वल श्रेष्ठले अस्पतालमा कोभिडका बिरामीको चाप घटेको बताए । उनले भने, ‘अहिले विस्तारै घट्ने क्रममा छ । पहिला भर्ना हुनेको संख्या दिनमा नै १७० पुगेको थियो । पछिल्लो दुई–तीन दिनदेखि दिनमा ५ देखि ७ जनाको दरले घटिराखेको छ ।’

मृत्युदर चाहिँ बढेको हो ?

गत वैशाखको अन्तिमसाता कोरोना संक्रमणको दोस्रो लहर सुरु भएलगतै ज्यान गुमाउनेको संख्या ह्वातै बढ्यो । एकैदिन २८७ जनासम्मले ज्यान गुमाएका थिए । असोजको अन्तिमतिर जब दोस्रो वेभ ओरालो लाग्यो मृत्यु पनि घट्दै गयो । मंसिरको पहिलो सातातिर आइपुग्दा संक्रमणबाट मृत्यु हुनेको संख्या शून्यमा झरेको थियो ।

पुसको १७ गतेदेखि नेपालमा कोरोना संक्रमणको तेस्रो लहर सुरु भयो । तेस्रो लहर सुरु भएको केही दिनसम्म मृत्युदर दुई–तीनको हारहारीमा थियो । माघको २ गते नेपालमा कोरोना संक्रमित हुनेको संख्या हालसम्मकै उच्च हुँदा उक्त दिन मृत्यु हुनेको संख्या ३ जना थियो ।

माघको १ गते ४ जनाको संक्रमणबाट मृत्यु भएको थियो भने २ गते ३ जनाको मृत्यु भएको थियो । त्यसपछि ७ गते १७ जनाको मृत्यु भएको थियो । ८ गते मृत्युदर बढेर १६ जना पुगेको थियो । त्यसपछि क्रमशः मृत्युदर घट्यो । ९ र १० गते ४–४ संक्रमितको मृत्यु भयो भने ११ र १२ गते क्रमशः ८ र ९ जनाले ज्यान गुमाए ।

त्यसपछि फेरि मृत्युदर बढ्यो । १६ गते एकैदिन ३२ जनाको मृत्यु भयो भने बिहीबार १२ जना संक्रमितले ज्यान गुमाए ।

यससँगै अब क्रमशः मृत्युदर घटेको देखिएको छ । टेकु अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेर बहादुर पुनले कोरोना संक्रमितको मृत्युदर अहिले नबढेको बताए । जाडोयाममा दीर्घरोगी र वृद्धवृद्धाको मृत्युदर बर्सेनि बढेको भन्दै उनले अहिले कोरोना संक्रमितको मृत्युदर नबढेको बताएका हुन् ।

डिसेम्बर, जनवरी र फेब्रअरीमा कोरोनाबाहेकको कारण मृत्यु हुनेको संख्या बढेको भए पनि कोरोना संक्रमितको मृत्युदर नबढेको उनको भनाइ छ ।

‘ओमिक्रोन धेरै कडा हुँदो हो त अरु उमेर समूहको पनि मृत्युदर उस्तै हुन्थ्यो होला, अहिले मृत्यु हुनेमा वृद्धवृद्धा र दीर्घरोगी धेरै छन्’, पुनले भने, ‘त्यसैले अहिले कोरोनाका कारण मृत्यु हुनेको संख्या घटेकै छ ।’

विभिन्न कारणले मृत्यु भइरहेको तर परीक्षण गराउँदा पोजेटिभ रिपोर्ट देखिएकाले कारोनाबाट मर्नेहरु बढेको जस्तो देखिएको उनी बताउँछन् । ‘कोरोनाले त थप दबाब दिने भइहाल्यो । टेस्ट गरेपछि कोरोना देखिने भइहाल्यो । रिपोर्ट पोजेटिभ देखिएपछि हामीले कोरोनामा नै जोडिदिन्छौं’, डा पुनले भने ।

अब कोरोना संक्रमण साम्य हुन लागेकै हो त ?

डा. पुन अब क्रमशः ओमिक्रोन संक्रमण साम्य हुँदै गएको बताउँछन् । उनी भन्छन्,‘सम्भवतः कोरोनाको तेस्रो वेभ साम्य हुँदै गएको देखिन्छ । एकैदिन १२ हजारको हाराहारीमा संक्रमित भएको अवस्था थियो । अब क्रमशः कम नै हुने हो ।’

उनी अब फेरि ओमिक्रोन संक्रमण धेरै फैलने सम्भावना पनि नभएको बताउँछन् ।

वीर अस्पतालका उपनिर्देशक डा. प्रज्वल श्रेष्ठ पनि अस्पतालमा भर्ना हुन आउने संख्यासँगै संक्रमण दर घट्दै गएकाले अब यो अन्त्य हुने सम्भावना बढेको बताउँछन् ।

तर इपिडिमिओलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. कृष्णप्रसाद पौडेल भने अहिले नै कोरोना संक्रमण साम्य हुँदै गएको भन्न नमिल्ने बताउँछन् । ‘बालबालिकाहरु धेरैले खोप पाएका छैनन् । खोपले पनि ६ महिनापछि कति काम गर्छ थाहा छैन’, उनी भन्छन्, ‘खोप पाएका पनि संक्रमित भएकै छन् । नयाँ भेरियन्ट भन्ने छँदैछ, अर्को भेरियन्टको पनि खतरा छ, त्यसैले अहिले नै सबै साम्य भयो भन्न मिल्दैन ।’

संक्रमणदर घटे पनि सावधानी अपनाउनुपर्नेमा उनले जोड दिए । ‘अझै पनि खोप नलगाएको जनसंख्या ३० प्रतिशतभन्दा बढी छ’, उनी भन्छन्, ‘११ वर्षमुनिका बालबालिकाले खोपै पाएका छैनन् । त्यो हिसाबले जोखिम टरिसकेको छैन ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर