आठ सचिवको गुपचुप सरुवा, को कहाँ पुगे ? – Nepal Press

आठ सचिवको गुपचुप सरुवा, को कहाँ पुगे ?

सरुवा भएको तीन महिना नपुग्दै थपलियाको पुन सरुवा

काठमाडौं । सरकारले गुपचुपरुपमा आठजना सचिवको सरुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनीहरूको सरुवा गरे पनि उक्त निर्णय सार्वजनिक गरिएको छैन ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गणेश पाण्डेलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको वाणिज्य सचिवमा सरुवा गरिएको छ । वाणिज्यका सचिव दिनेश भट्टराई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा भएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रहेका सचिव रामप्रसाद थपलियाको भूमि, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरुवा गरिएको छ भने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय (प्रविधि) सचिव सुरेश आचार्यको खानेपानी मन्त्रालयमा सरुवा गरेको छ । खानेपानी मन्त्रालयकी सचिव प्रमिलादेवी बज्राचार्यको भने शिक्षा, विज्ञान-प्रविधि मन्त्रालयमा सरुवा भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको अतिरिक्तमा रहेका मधुसूदन बुर्लाकोटीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयमा सरुवा गरिएको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयकी देवकुमारी गुरागाईंको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सरुवा भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालय हेर्दै आएकी यामकुमारी खतिवडालाई कार्यालयमा तत्कालीन सचिव शिशिरकुमार ढुंगानाले हेर्दै आएको आर्थिक तथा पूर्वाधार विकासको जिम्मेवारी दिइएको छ ।

सरुवा भएको तीन महिना नपुग्दै थपलियाको पुन सरुवा
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रादेशिक समन्वय र सामाजिक विकास हेर्दै आएका सचिव रामप्रसाद थपलियाको उक्त कार्यालयमा सरुवा भएको तीन महिना नपुग्दै पुन सरुवा भएको छ । गत मंसिर १३ गते बसेको मन्त्रिपरिषद् बैठकले थपलियाको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिष्दको कार्यालयमा सरुवा गरेको थियो ।

जिम्मेवारी खुम्च्याईएका र अतिरिक्तमा थन्काइएका दुइ सचिवले पनि पाए जिम्मेवारी
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी सम्हालिरहेकी सचिव यामकुमारी खतिवडालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जिम्मेवारी दिइएको छ । खतिवडालाई पुष १४ गते बसेको मन्त्रिपरिषद् बैठकले महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा रहने गरि स्वास्थ्य मन्त्रालयको प्रशासनतर्फको जिम्मेवारी दिइएको थियो । सेवा अवधिका कारण अनिवार्य अवकाशमा जान लागेकी सचिव खतिवडालाई यसरी जिम्मेवारी खुम्च्याइएकोमा कर्मचारी प्रशासनका उच्च अधिकारी असन्तुष्ट थिए । स्वमय खतिवडा पनि सरकारले आफ्नो जिम्मेवारी खुम्च्याएकोमा असन्तुष्ट बन्दै आएकी थिइन ।

यस्तै प्रधानमन्त्री तथा मन्त्रिपरिष्दको कार्यालयमा अतिरिक्त समूहमा थन्क्याईएका सचिव मधुसुधन बुर्लाकोटीले पनि जिम्मेवारी पाएका छन् । गत पुष १४ गते बसेको मन्त्रिपरिषद् बैठकले बुर्लाकोटीलाई सुदूरपश्चिम प्रदेशको प्रमुख सचिवबाट सरुवा गरेर प्रधानमन्त्री कार्यालयको अतिरिक्त समूहमा तानिएको थियो ।


प्रतिक्रिया

One thought on “आठ सचिवको गुपचुप सरुवा, को कहाँ पुगे ?

  1. अब बाकी के छ र सचिव सहसचिव र कर्मचारीलाई यताउता गर उठाउ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर