एमसीसीको नयाँ सीइओमा एलिस अल्ब्राइट नियुक्त


वासिङ्टन । अमेरिकी अनुदान सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को प्रमुख कार्यकारी अधिकृतमा एलिस अलब्राइट नियुक्त भएकी छिन् । फेव्रुअरी ७ मा अमेरिकी संसदले उनलाई निर्विरोध सीईओ पदमा नियुक्त गरेको हो ।
सीईओमा एलिसको नियुक्तिसँगै वर्तमान निमित्त सीइओ मुहम्मद बाहले उनलाई बधाई दिएका छन् । ‘एलिसलाई बधाई छ’ बाहले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हामी अमेरिका र समस्त विश्वभर छरिएको एमसीसी परिवारमा एलिसलाई स्वागत गर्न आतुर छौं ।’
सन् २०१७ को सेप्टेम्बरमा नेपालले एमसीसी अनुदान सम्झौतामा हस्ताक्षर गरेको थियो । नेपालको विद्युत प्रसारण लाइन र सडक पूर्वाधार सुधारका लागि अघि सारिएको उक्त परियोजनाको राशी ५०० मिलियन अमेरिकी डलर छ ।
तर, एमसीसीलाई लिएर नेपालमा तीव्ररुपमा विवाद चर्किएको छ भने राजनीति र जनमत समेत विभाजित बनेको छ । एमसीसीले नयाँ सीइओ पाउनुअघि नेपालमा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले लेखेको पत्र बाहिरिएको थियो ।
एमसीसीले सम्झौता पास गर्न नेपाललाई फेव्रुअरी २८ सम्मको समय दिएको छ । यो सम्झौता अन्तिम हुनसक्ने र आगामी मार्चमा बस्ने निर्देशक समितिको बैठकले नेपाल सम्झौताबारे निर्णय गर्न सक्ने एमसीसी अधिकारीहरुले जनाएका छन् ।