विधान निलम्बन गरेर भ्रातृ संस्थाका पदाधिकारीहरू थमौती गर्ने देउवाको प्रस्ताव – Nepal Press

विधान निलम्बन गरेर भ्रातृ संस्थाका पदाधिकारीहरू थमौती गर्ने देउवाको प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षले म्याद सकिएका र स्वतः पदमुक्त भएका भ्रातृ एवं शुभेच्छुक संस्थाका पदाधिकारीहरूको थमौतीका लागि विधानको दफा नै निलम्बन गर्न प्रस्ताव गरेको छ ।

सभापति शेरबहादुर देउवालाई संस्थापन पक्षका अधिकांश नेताले भ्रातृ एवं शुभेच्छुक संस्थाको पदाधिकारी पार्टीको तहमा निर्वाचित भए भ्रातृ एवं शुभेच्छुक संस्थाको पद स्वतः रिक्त हुने दफा नै बहुमतले निलम्बित गर्नुपर्ने सुझाएका हुन् ।

कांग्रेस विधानको दफा ४२ को उपदफा १ को ङ र दफा ४२ को उपदफा २ को ग मा पार्टीको कुनैपनि तहको कार्यसमितिमा निर्वाचित वा मनोनित हुने भ्रातृ र शुभेच्छुक संस्थाको पदाधिकारी वा सदस्यको पद स्वतः रिक्त हुने उल्लेख छ ।

बुधबार बालुवाटारमा बसेको कांग्रेस पदाधिकारी बैठकमा सभापति देउवाले नै निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा नयाँ समिति बनाउनुभन्दा विधानको दफा निलम्बन गरेर अहिलेकै नेतृत्वलाई महाधिवेशन गर्न दिनुपर्ने प्रस्ताव गरेका थिए ।

नेविसंघ अध्यक्ष राजीव ढुंगाना, तरुण दल अध्यक्ष जितजंग बस्नेत, महिला संघकी अध्यक्ष उमा रेग्मी, दलित संघका अध्यक्ष मीन विश्वकर्मा र मुस्लिम संघका अध्यक्ष अब्दुल सतार कांग्रेस केन्द्रीय सदस्य बनेपछि उनीहरूको भ्रातृ संस्थाको पद विधानतः स्वतः रिक्त रहेको छ ।

महिला संघकी उपाध्यक्ष सरस्वती अर्याल, महासचिव मञ्जु खाण र कोषाध्यक्ष जानकी सिंह पनि कांग्रेस केन्द्रीय सदस्य बनेका छन् । सभापति देउवाले विधान निलम्बन गरेर उनीहरूलाई नै निरन्तरता दिन प्रस्ताव गरेपछि पदाधिकारी बैठकमा संस्थापन पक्षका नेताहरू कुनै प्रतिक्रिया दिएनन् । नेता कृष्णप्रसाद सिटौलानिकट सहमहामन्त्री उमाकान्त चौधरीले सभापति देउवाको प्रस्तावमा समर्थन जनाएका थिए ।

‘विधानको दफा नै कार्यसम्पादन समितिबाट निलम्बन गरेर विधानतः पदमुक्त भएकाहरूलाई निरन्तरता दिन सकिने प्रस्ताव सभापतिले सुनाउनुभयो’, बैठकमा सहभागी एक पदाधिकारीले नेपाल प्रेससँग भने । ती पदाधिकारीका अनुसार अधिवेशन हुन बाँकी १६ जिल्लाको अधिवेशन पनि स्थानीय चुनावसम्म स्थगित गर्न देउवाको प्रस्ताव छ ।

‘स्थानीय चुनावको घोषणा भइसकेकोले बाँकी जिल्ला अधिवेशन वैशाखपछि गर्ने कि भन्ने पनि सुझाव आएको छ’, देउवाले बैठकमा भनेका थिए ।

कांग्रेसमा नेता डा. शेखर कोइराला नेतृत्वको समूह भने म्याद सकिएका भ्रातृ संस्थाहरूमा तदर्थ समिति बनाएर महाधिवेशनको म्यान्डेट दिनुपर्ने पक्षमा रहेको छ । कोइराला पक्षका पदाधिकारीहरूले विधानमा उल्लेख भएअनुसार पदमुक्त भएकाहरूलाई निरन्तरता दिन नहुने अडान राखेका छन् ।

बैठकमा प्रवक्ता डा. प्रकाशशरण महतले विधानतः रिक्त भएका पदाधिकारीको स्थानमा मात्रै मनोनयन गर्नेगरी भ्रातृ संस्थाको म्याद थप्न सकिने प्रस्ताव पनि सुनाएका थिए ।

कांग्रेसको कार्यसम्पादन समिति बैठक आज बस्दैछ । बैठकमा भ्रातृ एवं शुभेच्छुक संस्था, अधिवेशन हुन बाँकी जिल्ला र स्थानीय निर्वाचनको तयारीबारे छलफल हुनेछ ।

यस्तो छ कांग्रेस विधानको व्यवस्था:


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर