फ्ल्यासब्याकमा स्थानीय चुनाव- माओवादीलाई ‘कम्फरटेबल’ नभएको कांग्रेससँगको त्यो गठबन्धन – Nepal Press

फ्ल्यासब्याकमा स्थानीय चुनाव- माओवादीलाई ‘कम्फरटेबल’ नभएको कांग्रेससँगको त्यो गठबन्धन

काठमाडौं । पाँच वर्षअघि स्थानीय चुनाव हुँदा नेपाली कांग्रेस र माओवादी केन्द्र सँगै सरकारमा थिए । स्थानीय निर्वाचनमा उनीहरुले तालमेल गरेका थिए ।

संयोग कस्तो भने दोस्रोपटकको स्थानीय तहको चुनाव घोषणा हुँदा पनि दुवै दल एउटै सरकारमा छन् । गठबन्धनमा सरकार चलाइरहेका कांग्रेस र माओवादी यसपालिको चुनावमा गठबन्धन गरेरै जान्छन् या एक्लाएक्लै लड्छन् भन्ने चाहिँ अझै प्रष्ट भएको छैन ।

हुन त प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तह चुनावको मिति घोषणाका लागि गठबन्धनका साझेदारहरुलाई मनाउन गठबन्धन नै गर्ने भनेका थिए । तर, कांग्रेसकै केही नेताहरु गठबन्धन गर्न नहुने पक्षमा रहेकाले यो विषय अझै स्पष्ट हुन सकेको छैन् ।

यद्यपी माओवादी केन्द्र र नेकपा एसले तालमेलमा जोड दिएका छन् ।

२०७४ को स्थानीय तहको कांग्रेससँगको तालमेल भने माओवादीलाई त्यति लाभदायक थिएन । कांग्रेस र माओवादीले एक सय सात स्थानीय तहमा तालमेल गरेका थिए । तालमेल गरेका अधिकांश स्थानमा कांग्रेस उम्मेदवारले जित्दा माओवादी उम्मेदवार पराजित भएका थिए भने हारेकै ठाउँमा पनि माओवादीले पाएको मत निकै कम थियो । अर्थात् कांग्रेसबाट सबै मत माओवादीले पाउन सकेको थिएन ।

चितवनको भरतपुर महानगरमा कांग्रेसबाट उपप्रमुखकी उम्मेदवार पार्वती शाह ठकुरीले सहजै जित्दा माओवादीकी रेणु दाहललाई भने मुस्किल परेको थियो । हारिने आशंकाले माओवादीका कार्यकर्ताले मतपत्र नै च्यातिदिएपछि मतपत्र च्यातिएको वडाको पुनः निर्वाचन गराइएको थियो ।

दोस्रोपटक चुनाव गराउँदा पनि दाहालले एमालेका मेयरका उम्मेदवार देवी ज्ञवालीलाई थोरै मतान्तरले मात्रै पराजित गरेकी थिइन् । त्यहाँको कार्यपालिकाको चुनावमा पनि कांग्रेसले खुलेर मत नदिँदा दाहालले अल्पमतको स्थानीय सरकार चलाउनुपरेको थियो ।

मननीय कुरा के छ भने दाहालभन्दा कांग्रेसबाट उपप्रमुखमा निर्वाचित भएकी ठकुरीले धेरै मत ल्याएकी थिइन् । दाहालले ४३ हजार १ सय २७ मत ल्याउँदा ठकुरीले ४७ हजार १ सय ९७ मत पाएकी थिइन् । गठबन्धन गर्दा पनि दाहालले चार हजारभन्दा कम मत पाएकी थिइन् । यसको अर्थ कांग्रेसका सबै मतदाताले माओवादीलाई मत नदिएको हो ।

त्यस्तै अर्को महानगर पोखरा लेखनाथमा पनि कांग्रेस–माओवादी तालमेल हार्दिक रहेन । माओवादीले कांग्रेसलाई मेयरमा सर्मथन गर्दा पनि कांग्रेसले उपमेयर छाडिदिएन ।

यी घटनाहरुलाई विश्लेषण गर्दै माओवादी केन्द्रका अध्यक्षले सार्वजनिकरुपमै कांग्रेस कार्यकर्ताले इमान्दारितापूर्व माओवादीलाई मत नदिएको गुनासो गरेका थिए । तालमेल गर्दा पनि कांग्रेसले वाम दललाई मन खोलेर मत नदिने विश्लेषणसहित माओवादीले २०७४ सालकै प्रदेश र संघीय चुनावमा भने एमालेसँग गठबन्धन गरेको थियो ।

कांग्रेसले जित्दा माओवादी उम्मेवार पराजित

तालमेल गर्दा पाएको मत दुई चार सय तलमाथि हुनु सामान्य हो । स्थानीय चुनावमा पार्टीभन्दा पनि व्यक्ति वढी रोजिने भएकाले पनि केही मत तलमाथि हुनुुलाई सामान्य मानिएला तर दुई चार हजारकै अन्तर हुनु भनेको तालमेलप्रति इमान्दारिता नभएको हो ।

तालमेल गरिएका धेरै स्थानमा कांग्रेसभन्दा माओवादीका उम्मेदवारले कम मत पाएका थिए । भरतपुरमा माओवादीले कांग्रेसले भन्दा चार हजार कम मत भएको थियो ।

बुटवल उपमहानगरमा तालमेल गरेका कांग्रेस र माओवादी दुवैका उम्मेदवार पराजित भए पनि कांग्रेसमा उम्मेवारले धेरै मत ल्याए । कांग्रेसका खेलराज पाण्डेयले माओवादीका जगतबहादुर पोखरेलले ६ हजारभन्दा कम मत प्राप्त गरेका थिए ।

हेटौंडा महानगरमा पनि त्यस्तै रह्यो । प्रमुखमा कांग्रेसमा आनान्दराम पराजुलीले २२ हजार ५ सय ९ मत प्राप्त गर्दा उपप्रमुखमा माओवादीका बलराम लामाले १७ हजार ११ मत पाएका थिए । यो कांग्रेस उम्मेदवारले पाएको मतभन्दा ५ हजार बढी कम हो ।

बाराको निजगढ नगरपालिकामा पनि कांग्रेस र माओवादीले तालमेल गरेका थिए । त्यहाँ प्रमुखमा कांग्रेसमा सुरेश कुमार खनाल ७ हजार ६ सय ४८ मत ल्याएर निर्वाचित हुँदा उप्रमुखमा माओवादीका बेनीबहादुर मुक्तान पराजित भएका थिए र एमालेले उपमेयर जितेको थियो ।

अझ रोचक परिणाम त म्याग्दीको बेनी नगरपालिकामा देखिएको थियो । बेनीको चुनावमा कांग्रेस र माओवादीको गठबन्धन एकातिर थियो भने अर्कोतिर एमाले र राप्रपाको गठबन्धन थियो ।

गठबन्धनबाट कांगे्रेसका मेयर हरिकुमार श्रेष्ठ ५६७९ मत प्राप्त गरेर विजयी हुँदा एमालेका प्रमोद श्रेष्ठ ४५ मतले स्तब्ध भए । उपमेयरमा भने कांग्रेस समर्थित माओवादी उम्मेदवार ज्योति लामिछाने पौडेलले कांग्रेसका मेयरको भन्दा करिब १७ सय मत कम पाएर पराजित भइन् ।

बेनीको उपमेयरमा एमाले समर्थित राप्रपाका सन्जु बरुवाल ३९९५ मतका साथ विजयी भएका थिए ।

त्यस्तै कपिलवस्तुको वाणगंगा नगरपालिकाको प्रमुखमा पनि कांग्रेसका मंगलप्रसाद थारु १५ जार ७ सय ३८ मतले विजयी भएका थिए । यहाँ पनि उपप्रमुखमा माओवादीका टोपनारायण बेल्वासे पराजित भए । यहाँ कांग्रेसभन्दा तीन हजार भन्दा बढी मतान्तर भएपछि माओवादीका उम्मेदावार बेल्वासे एमालेसँग पराजित भएका थिए ।

यी केही उदाहरणमात्र हुन्, २०७४ को स्थानीय चुनावमा कांग्रेस र माओवादीले तालमेल गरेर लडेका निर्वाचनमा अधिकांश स्थानमा एमाले नै विजयी भएको थियो भने भने कतिपय ठाउँमा कांग्रेसका उम्मेदवार विजयी भए तर माओवादी उम्मेदवार भने पराजित भए ।

कांग्रेसका मेयर हारेर माओवादीका उपमेयरले जितेको एउटा नगरपालिका ताप्लेजुङको फुङलिङ हो । पाँच वर्षअघिको स्थानीय चुनावमा कांग्रेस र माओवादीबीच ताप्लेजुङ, तेह्रथुम, दोलखा, गुल्मी, पाल्पालगायतका जिल्लामा गठबन्धन भएको थियो ।

गुल्मी र पाल्पामा कांग्रेस उम्मेदवार जितेर माओवादी पराजित भएका थिए ।
काठमाडौं, भरतपुर र पोखरा महानगरपालिकाका साथै हेटौंडा र बुटवल उपमहानगरपालिकामा पनि गठबन्धन भएको थियो । तर गठबन्धनबाट माओवादीले फाइदा लिन सकेको थिएन । यसपटक नेकपा एसदेखि राष्ट्रिय जनमोर्चासम्मका वामपन्थी दलसँग कांग्रेसको गठबन्धन हुने भनिएको छ ।

यो पनि पढ्नुहोस्

राजधानीको विरासत जोगाउन एमालेलाई चुनौती, मेयरमा केशव स्थापित र विद्या सुन्दरको दाबेदारी

एमालेलाई पहिलो स्थान जोगाउने, कांग्रेसलाई दोस्रोबाट पहिलो बन्ने चुनौती

कार्यकाल सकिन लाग्दा चुनाव जित्ने लोभमा पार्टी फेर्दै स्थानीय तहका जनप्रतिनिधि

काठमाडौंका ५ उपमेयरले ताके मेयरको कुर्सी, को कति लोकप्रिय ?

रुपन्देहीका १६ स्थानीय तहमा बर्चश्व जोगाउन सबै दललाई सकस, यस्तो छ हिसाब


प्रतिक्रिया

One thought on “फ्ल्यासब्याकमा स्थानीय चुनाव- माओवादीलाई ‘कम्फरटेबल’ नभएको कांग्रेससँगको त्यो गठबन्धन

  1. धन्न समाचार लेख्ने साथीले तनहुँको शुक्लागण्डकी नगरपालिका थाहा पाएनछन् !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर