राजधानीको विरासत जोगाउन एमालेलाई चुनौती, मेयरमा केशव स्थापित र विद्या सुन्दरको दाबेदारी – Nepal Press

राजधानीको विरासत जोगाउन एमालेलाई चुनौती, मेयरमा केशव स्थापित र विद्या सुन्दरको दाबेदारी

काठमाडौं । सरकारले स्थानीय तह निर्वाचनको मिति तोकेसँगै प्रमुख दलमा मुख्य पदका लागि उम्मेदवारका आकांक्षीहरूले आन्तरिक रूपमा लबिङ सुरू गरेका छन् । बजेटको हिसाबले देशकै ठूलो र संघीय राजधानी रहेको काठमाडौं महानगरपालिकामा सत्ता चलाइरहेको नेकपा एमालेमा अबको मेयर को भन्ने बहस सुरू भएको छ ।

चुनाव घोषणा हुनुअघि नै उम्मेदवारका आकांक्षीको बारेमा जिल्ला अधिवेशनकै बेला सामान्य छलफल भएको नेताहरूले बताएका छन् । एमालेले जितेको काठमाडौं महानगरको मेयरमा अहिलेका विद्यासुन्दर शाक्य नै निरन्तर हुन चाहिरहेका छन् । १०औं महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएका शाक्यले मेयर पद दोहोर्‍याउने चाहना पार्टीभित्र राखेका छन् ।

२०७४ को निर्वाचनमा नेपाली कांग्रेसका राजुराज जोशीलाई करिब २० हजार मतान्तरले पराजित गरेका शाक्यले ६४ हजार ९१३ मत ल्याउँदा जोशीले ४५ हजार २५९ मत प्राप्त गरेका थिए ।

तेस्रो स्थानमा विवेकशील नेपाली दलकी रन्जु दर्शनाले २३ हजार ४६९ मत प्राप्त गरेकी थिइन् भने १८ हजार ४९६ मतका साथ साझा पार्टीका किशोर थापा चौथो स्थानमा थिए ।

महानगरका ३२ मध्ये १८ वडा जितेको एमालेले यसपटक पनि महानगरमा आफ्नो पकड कायमै राख्न चाहेको छ । उपमेयरसहित १४ वडा जितेको नेपाली कांग्रेस पनि २०४९ को इतिहास दोहोर्‍याउन चाहन्छ ।

बहुदलीय व्यवस्था स्थापनापछि भएका तीनवटा स्थानीय निर्वाचनमध्ये २०५४ र २०७४ मा एमालेले काठमाडौं महानगरको नेतृत्व गर्दा कांग्रेसले २०४९ मा गरेको थियो । काठमाडौं महानगरका पहिलो मेयर कांग्रेसका पिएल सिंह थिए ।

२०५४ मा मेयर निर्वाचित भएका केशव स्थापित २५ वर्षपछि पुनः सोही पदको दाबेदार बनेका छन् । हाल प्रदेशसभा सदस्य रहेका स्थापित अघिल्लो निर्वाचनमा पनि मेयरका आकांक्षी थिए । तर, उनलाई पछि पार्दै विद्यासुन्दरले टिकट पाएका थिए ।

विद्यासुन्दर दुईपटक वडाध्यक्ष हुँदै मेयर बनेका हुन् । यसपटक केशव स्थापित र विद्यासुन्दरमध्ये कसलाई अघि बढाउने भन्ने बहस एमालेमा पेचिलो बनेको छ । काठमाडौं एमालेका अध्यक्ष दीपक निरौलाले अहिले पार्टीभित्र उम्मेदवारको विषयमा कुनै छलफल नभएको र कसैलाई पनि आफूखुसी उम्मेदवारी घोषणा नगर्न पार्टीले निर्देशन दिएको बताए ।

एमालेबाट काठमाडौंको मेयरमा स्थापित र शाक्यमध्ये एकजना हुने एमाले नेताहरू बताउँछन् । उपमेयरमा भने आकांक्षीहरू खुलिसकेका छैनन् । इन्दिरा पन्तले उपमेयरका लागि नेताहरूसँग छलफल गरेकी छन् । उनका पति नेकपा एसका नेता तथा वसन्त मानन्धर वागमती प्रदेशको मन्त्री छन् । उपमेयरमा विद्या न्यौपानेको पनि सम्भावना छ ।

राजधानीको सत्ता जोगाउन यसपटक एमालेलाई चुनौती अवश्य छ । सत्ता गठबन्धन चुनावसम्म सबैतिर सम्भव नभए पनि काठमाडौंमा लगभग निश्चित देखिन्छ । काठमाडौंमा माओवादी, नेकपा एस र जसपाले मेयर दाबी गर्ने जनमत छैन तर एमाले हराउन उनीहरूको मत कांग्रेसलाई एकमुष्ट जाँदा गठबन्धन बलियो हुनसक्छ ।

एमाले विभाजनको ठूलो असर काठमाडौं महानगरमा नपरे पनि विगतमा प्राप्त मतलाई क्षति भने पुर्‍याउने सामर्थ्य नेकपा एसको छ । महानगरका दुईजना वडाध्यक्ष नेकपा एसमा लागेका छन् ।

महानगरपालिकामा माओवादीको जति जनमत नेकपा एसको पनि रहने अनुमान गरिएको छ । गठबन्धन बन्दा एमालेलाई चुनौती थपिनेछ । विगतमा विवेकशील र साझाका उम्मेदवारले पाएको मत जोड्दा नेपाली कांग्रेसका उम्मेदवारको भन्दा बढी थियो ।

त्यो मत संगठित नभएर वैकल्पिक शक्ति खोज्ने स्वतन्त्र मत थियो । यसपटक विवेकशील साझाले त्यो मत कायम राख्ने सम्भावना नरहेकोले त्यस्तै मत नै निर्णायक हुनसक्छ । सत्तामा रहेका कारण एमालेले प्रतिपक्षी चेतनाको मत सबै नपाउन पनि सक्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर