रुपन्देहीमा स्केटपार्क निर्माण हुँदै, स्केटबोर्डिङलाई व्यवसायिक बनाउने लक्ष्य – Nepal Press

रुपन्देहीमा स्केटपार्क निर्माण हुँदै, स्केटबोर्डिङलाई व्यवसायिक बनाउने लक्ष्य

रुपन्देही । स्केटबोर्डिङ खेल अमेरिकाबाट विकसित भएको हो । अघिल्लो वर्ष जापानमा सम्पन्न ग्रिष्मकालीन ओलम्पिकमा पहिलोपल्ट समावेश भएपछि यो खेलको दायरा अझै फराकिलो भएको छ ।

नेपालमा भने स्केटबोर्डिङ खेललाई मनोरन्जनको रुपमा मात्र खेलिँदै आएको छ । नेपालमा यो खेलका व्यवसासिक खेलाडीहरु पर्याप्त छैनन् भने अन्तर्राष्ट्रिय सहभागिता पनि कमै मात्रामा हुने गरेको छ । केवल सम्म सडकमा स्केटबोर्ड लिएर घुमिरहेका युवाहरु देखिन्छन् ।

बजारमा स्केटबोर्ड घुर्रघुर्र पार्दै सिकेका यस क्षेत्रका स्केट युवा पारखीलाई लक्षित गरी रुपन्देहीको तिलोत्तमामा सिकाई केन्द्रको सुरुवात गरिएको छ । स्केट एड नेपाल फाउण्डेसनले ८ कठ्ठा क्षेत्रफलमा तिलोत्तमा नगरपालिका ४ डिङ्गनगरमा दक्षिण एसियाकै नयाँ इनडोर स्केट पार्क एवम् रिसोेर्स सेन्टर निर्माणको काम सुरु गरेको हो ।

फ्रान्स, जर्मन, स्पेन र भारतका खेलाडी तथा संघसंस्थाहरुको सहयोगमा इन्डोर स्केट पार्क एण्ड रिसोर्स सेन्टर स्थापना गरिएको स्केट एड नेपाल फाउन्डेसनका अध्यक्ष जागृत पहाडीले बताए ।

स्केट खेलको माध्यमबाट शारीरिक र मानसिक रुपमा स्वास्थ्य हुने र खेल मनोरञ्जनको माध्यमबाट युवा वर्गलाई देश विकासमा क्रियाशील गराउने उद्देश्यले डिङगनरमा इनडोर स्केट पार्क एवं रिसोर्स सेन्टर निर्माणको सुरु भएको छ ।

सेन्टरलाई सन २०२३ सम्म सम्पन्न गर्ने लक्ष्य लिइएको छ । पहिलो, दोस्रो र तेस्रो चरणमा गरी सुरु गरिएको सेन्टर निर्माणको अहिले पहिलो चरणको काम ८० प्रतिशत सकिएको छ । त्यसका लागि ४० लाख रुपैयाँ खर्च भएको अध्यक्ष पहाडीले बताए । कुल साढे दुई करोडको लगानी रहने सेन्टरमा प्रशिक्षण केन्द्रका साथै पुस्तकालय, होस्टेल, कार्यक्रम हल, आवाससमेत बनाइने उनले बताए ।

त्यस्तै स्केट खेलमा नेपालले एशियन गेममा प्रतिनिधित्व हुँदै आएको छ । विगनर सिक्नेका लागि स्केट बोर्ड न्युनतम ४ हजार रुपैयाँमा पर्छ । यो खेलमा काठमाडौं, धरान, पोखरा, बुटवलमा गरी २ सयभन्दा बढी खेलाडीहरु आवद्ध रहेका छन् ।

अहिले सेन्टरमा स्पेनका खेलाडी तथा प्राविधिक इन्जिनियर ग्याबरियल सोमासन्तोषले यसका लागि सहयोग गरिरहेका छन् । स्केट एडले विश्वभर नै फण्डिङको काम गरिरहेको उनले जानकारी गराए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर