गुलाबकाे व्यापार: प्रेमी-प्रेमिकाकाे घरमै डेलिभरी ! (भिडिओ) – Nepal Press

गुलाबकाे व्यापार: प्रेमी-प्रेमिकाकाे घरमै डेलिभरी ! (भिडिओ)

काठमाडौं । प्रेमलाई प्राेत्साहन गर्दा मृत्युदण्डको सजाय पाएका तत्कालीन रोमन साम्राज्यका सन्त भ्यालेन्टाइनको सम्झनामा प्रत्येक वर्ष फेब्रुअरी १४ मा संसारभर भ्यालेन्टाइन्स डे मनाइन्छ ।

२६९ एडीको उक्त घटनाको स्मरणमा नेपालसहित संसारका सबै मुलुकमा प्रेम दिवस मनाउने परम्परा झांगिएको छ । आपसमा माया साटेर प्रेम जोडीहरु उक्त दिनलाई उत्सवकै रुपमा मनाउँछन् । पछिल्ला केही वर्षमा नेपालमा समेत भ्यालेन्टाइन्सलाई सप्ताहकै रुपमा मनाउन थालिएको छ ।

फेब्रुअरी ७ मा रोज डे, त्यसपछि प्रपोज डे, चकलेट डे, टेडी डे, प्रमिस डे, हग डे, किस डे र फेव्रुअरी १४ मा भ्यालेन्टाइन्स डे मनाइन्छ । मायालुहरु फेव्रुअरीलाई प्रेम दर्शाउने महिनाको रुपमा पनि लिन्छन् । प्रेमको प्रतीक रातो गुलाब उपहार दिँदा माया अटूट हुने विश्वास प्रेमजोडीमा छ ।

प्रेम दिवसको सप्ताह सुरु भएको छ र अर्किज ग्यालरी, गिफ्ट पसल र सहरका व्यवसायिक मार्टमा तन्नेरीको चहलपहल पनि । प्रेमीहरुलाई आकर्षित गर्न इ–कमर्सदेखि ब्यवसायिक घरानाहरुले आफ्ना उत्पादन र सेवामा स्किमहरु पनि ल्याएका छन् ।

काठमाडौं र पोखराजस्ता ठूला सहरका फूल पसलमा सोमबार बिहानैदेखि उपहार र फूल किन्न जाने ग्राहकको घुइँचो छ । राजधानीको कमलादी र दरबारमार्गका अर्किज पसलले भ्यालेन्टाइन सजावटसहित गिफ्ट र फ्लावर किन्न जाने ग्राहकलाई आकर्षित गर्न थालेका छन् । कतिपय इ–कमर्स प्लेटफर्मले अर्डरअनुसार घरमै फूल र गिफ्ट डेलिभरी गर्न थालेका छन् ।

कोरोनाभाइरस महामारीले व्यवसायिक कारोबार डिजिटल प्लेटफर्ममा हुँदा मायाको आयाम भने झनै फैलने क्रममा छ । नेपालमा माया गर्ने जोडीहरुलाई अब फूल किन्न अर्किज सपमा जानुपर्ने बाध्यता रहेन । एक क्लिकमै मायालुलाई गिफ्ट होम डेलिभरी गर्न सकिने सुविधा छ । लङ–डिस्टेन्स रिलेसनसिपमा रहेका नेपाली तन्नेरीलाई समेत यी प्लेटफर्मले सुविधा दिएका छन् ।

यी त भए माया गर्न मिल्ने सुविधाका कुरा । तर, बजारको लागि प्रेम दिवस एउटा ठूलो व्यवसायिक अवसर समेत हो । भ्यालेन्टाइन्स छेको फूलको बढी खपत हुने र गिफ्टको कारोबार मौलाउने अवसर हो । भ्यालेन्टाइन्स सुरु भएसँगै अर्किज सपलार्ई फूल बेच्ने र ग्राहकलाई आकर्षित गर्ने चटारो सुरु हुन्छ । पछिल्ला दुईवर्ष कोरोनाले खुम्चिएको फूल ब्यापार ओमिक्रोन ओरालो लागेसँगै उक्सिने आशा व्यवसायीले लिएका छन् ।

२ लाख ३० हजार थुंगा गुलाब आयात

प्रेम दिवसलाई लक्षित गर्दै आगामी फेव्रअरी १४ सम्म नेपालमा १ करोड रुपैयाँ बराबरको २ लाख ३० हजार थुंगा गुलाबको फूल आयात हुने लक्ष्य राखिएको फ्लोरिकल्चर एसोसियसन नेपालले जनाएको छ । अध्यक्ष मीनबहादुर तामाङले कोरोना महामारी घट्ने क्रममा रहेकाले फूलको मागमा वृद्धि भएको नेपाल प्रेसलाई बताए ।

भ्यालेन्टाइन्समा नेपालमा खपत हुने ९० प्रतिशत गुलाब भारतबाट ल्याइने र १० प्रतिशत आन्तरिक उत्पादन रहेको अध्यक्ष तामाङले जनाए । नेपालमा यसपटक ११ रङका गुलाबका फूल ल्याइएको छ जसमा ८० प्रतिशत रातो रङकै थुंगा हुने गरेको छ । यसपटक चिसो याम लामो समय रहेकाले गुलाबको फूल उत्पादनमा कमी आएकाले भारतबाट हुने आयातमा वृद्धि भएको छ । तर, सामान्य अवस्थामा भने नेपालकै उत्पादनले घरेलु गुलाबको मागलाई धान्ने गरेको छ । अहिले नेपाली पसलमा एउटा गुलाबको थुंगालाई ७० देखि सय रुपैयाँ पर्छ ।

महामारीले फूल ब्यवसायमा परेको असरबारे अध्यक्ष तामाङले भने, ‘सरकारले समयमै हामीलाई सुविधा दिएन । सबै फूलको विरुवा नष्ट भयो । पानी र मलकै अभाव हुँदा ढुक्कले लगानी बढाउन पाएका छैनौं । कोरोनाको असर कहिलेसम्म रहने हो टुंगो छैन । फूल ब्यवसाय नराम्रोसँग प्रभावित भएको छ जसले गर्दा हामी भ्यालेन्टाइन्सको लागि विदेशबाट फूल आयात गर्न बाध्य छौं ।’

उनका अनुसार महामारीअघि फ्लोरिकल्चर व्यवसायमा साढे २ अर्बजति लगानी हुन्थ्यो तर पछिल्लो आर्थिक वर्षमा उक्त लगानी १ अर्ब ६० करोडमा झरेको छ । कुनैबेला १९ करोड मूल्य बराबरको फूल निर्यात भएको स्मरण अध्यक्ष तामाङले गरे । गुलाब फार्म (नर्सरी) बन्द भएपछि अहिले स्वदेशी उत्पादनमा गिरावट आएको छ ।

‘हामी करिब ९० प्रतिशत आत्मनिर्भर छौं । १० प्रतिशतमात्र आयात गरेका छौं । चाडपर्वमा मात्र बढी आयात हुन्छ । तिहारमा ३ दिन सयपत्री फूलको माग उच्च हुन्छ । सोही तीन दिनलाई लक्षित गरि फूल फुलायौं भने उत्पादन राम्रो हुन्छ ।’ नेपाली बजार ठूलो नभएकाले पनि फूल बढी आयात हुने उनको भनाइ छ । फूलको लागि चाहिने हाइब्रिड बीउ विश्वका धेरै मुलुकले आयात गर्ने अनुभव उनले सुनाए ।

हाइब्रिड बीउ नेपालमा बनाउन सक्ने अवस्था नभएकाले पनि नेपाल आत्मनिर्भर बन्न नसकेको उनले बताए ।

भ्यालेन्टाइनमा ब्यापार बढ्ने आशा

रीता बलामीले कमलादीमा फूल बेच्न लागेको १२ वर्ष भयो । तर, कोरोना महामारीले भ्यालेन्टाइन्सको व्यापार सुख्खा भएको उनको भाेगाइ छ । ‘कोरोना र लकडाउनले गर्दा व्यापार घटेको छ,’ नेपाल प्रेससँग रीताले भनिन्, ‘कोरोना घट्न थालेकाले ब्यापार बढ्छ भन्ने कि आशामा छौं । पोहोरको भन्दा केही बढ्ने अनुमान छ ।’

रीताको पसलअघि गुलाब रंगीविरंगी का फूलहरु सजाएर राखिएका छन् । चिरिच्याट्ट सजाएर राखिएका फूलतर्फ त्यस बाटाे भएर गुज्रिने सबैकाे नजर पुग्छ । कतिपयले फूलसँग सेल्फी लिइरहेको देख्न सकिन्छ । बिहेको सिजन नभएकाले पनि फूलको मूल्य पनि महंगो नभएको रीता बताउँछिन् ।

उनको पसलमा अधिकांश ग्राहक किशोरकिशोरी हुन् । बिहेको सिजनमा मालाहरुको खपत बढी हुने र भ्यालेन्टाइन्स डे मा गुलाबसहितका फूलहरु बढी बिक्ने उनी बताउँछिन् । उनको पसलमा गुलाब किन्न आउनको राेजाइ रेड रोज हुने गर्छ । किशाेरकिशाेरीले जोडी आकारको ‘स्ट्याचू’हरु पनि रुचाउने गरेका छन् ।

मीना तामाङ श्रेष्ठले पनि कमलादीमा २५ वर्षदेखि फूल व्यापार गर्दै आएकी छिन् । फूललाई मान्छेले हेर्ने दृष्टिकोणमा पहिलेभन्दा अहिले भिन्नता आएको मीनाको अनुभव  छ । ‘मैले पसल सुरु गर्दा फूल पसल नै थिएनन् । यो फूलको यो नाम हो भनेर मानिसलाई थाहा थिएन । मान्छेलाई फूल कस्तो हुन्छ भनेर चिनाउन धेरै गाह्रो भयो’ उनले सुनाइन्।

मीनाकाे पसलमा घर र अफिस सजावट, माला बनाउन, विहेका गाडी सजाउन, बेड, स्टेज, मण्डप सजाउनेजस्ता काममा बढी फूल खपत हुने गरेको छ । ‘अरु दिनमा भन्दा भ्यालेन्टाइन्स डेमा फूलको माग धेरै हुन्छ । मान्छेहरु बाहिर निस्किन पनि डराइरहेका छन्, त्यो कारणले पनि व्यापार आधा कम भएको छ’ उनले भनिन् ।

डिजिटल प्रेम दिवस

कोरोना महामारीले ल्याएको सबैभन्दा ठूलो परिवर्तन भनेको हाम्रो दैनिकी डिजिटलतर्फ आकर्षित हुनु पनि हो । मान्छेले संवेदना पनि ‘इमोजी’मार्फत व्यक्त गर्न थालेका छन् । न्यूयोर्क टाइम्सका अनुसार सन् २०२१ मा संसारमा सर्वाधिक प्रयोग गरिएका दस इमोजीमध्ये पहिलो स्थानमा लभ रियाक्ट थियो । यसको अर्थ, संवेदना अब भौतिकभन्दा डिजिटल बन्न थालेको छ ।

हुनसक्छ, यही कारण नेपालका चर्चित इ–कमर्स प्लेटफर्मले भ्यालेन्टाइन्स डेलाई लक्षित गर्दै आकर्षक प्याकेज ल्याएका छन् । मायालु जोडीहरुलाई लक्षित गर्दै उनीहरुले गुलाब र गिफ्टको होम डेलिभरी गर्न थालेका छन् । नेपालका विभिन्न सहरमा मात्र नभएर विदेशमा रहेका मायालुलाई गिफ्ट पुर्‍याइदिने सेवा पनि यस्ता सेवा प्रदायक इ–कमर्स प्लेटफर्मले गरिरहेका छन् ।

नेपालमा रहेको दराज, भाटभटेनी, गिफ्टमान्डुसहितका ई-कमर्स प्लेटफर्म केही यस्ता माध्यम हुन् जसले भ्यालेन्टाइन्स स्किम नै लन्च गरेका छन् । त्यसमध्येको गिफ्टमान्डुले लङ-डिस्टेन्स सम्बन्धमा रहेका मायालुलाई जोड्ने काम गरिरहेको दावी गरेकाे छ । ग्राहकको रोजाइमा यी प्लेटफर्मले उपभोक्तालाई फूल, चकलेट र अन्य गिफ्टको होम डेलिभरीसमेत गरिरहेका छन् । अहिले ती कम्पनीको पोर्टलमा भ्यालेन्टाइन्स विक अफर देख्न सकिन्छ ।

‘पछिल्लो साता अर्डर निकै आइरहेको छ । नेपालमात्र नभएर विदेशबाट समेत अर्डर छ । कम स्टाफले बढी समय काम गरेरै भए पनि अर्डरलाई व्यवस्थापन गरिरहेका छौं’ गिफ्टमान्डुकाे व्यवस्थापक सोनु गुरुङ भन्छिन्, ‘कतिपय अर्डरलाई होल्डमै राख्नुपर्ने अवस्था समेत छ ।’

महामारीको समयमा पनि आफ्नो प्लेटफर्मले डिजिटल डेलिभरीमा काम गरेको अनुभव उनले सुनाइन् । ‘मान्छेलाई अहिले फूल पसलमा जानुभन्दा अनलाइनबाटै सामान अर्डर गर्न सजिलो भएको छ । यही कारण ब्यापार पनि राम्रो छ,’  गुरुङले बताइन् । काठमाडौंबाहेकका ठूला शहरमा समेत ब्रान्च विस्तार गरेको गिफ्टमान्डुले अन्तर्राष्ट्रिय डेलिभरीमा पनि काम गर्न थालेको छ ।

यसरी सुरु भयो भ्यालेन्टाइन्स डे

रोमन सम्राट क्लाउडियस द्वितीयले आफ्ना सैनिकलाई प्रेम विवाह गर्न रोक लगाएका थिए । तर, सम्राटको नियमप्रति सन्त भ्यालेन्टाइनले आलोचना गरे । उनले प्रेम विवाहको अनुमति दिनुपर्ने पक्षमा अभियान चलाए ।

सम्राटको आदेशविपरीत उनले धेरै सैनिकको प्रेम बिहे गराएको किम्वदन्ती छ । आदेश उल्लंघन गरेको भन्दै सम्राट क्लाउडियसले भ्यालेन्टाइनलाई पक्राउ गरी मृत्युदण्डको सजाय दिए । कतिपयले सिपाही भ्यालेन्टाइनलाई प्रेमका पहिलो सहिद पनि भनेका छन् ।

जेलमा रहँदा जेलरकी दृष्टिबिहीन छोरीसँग सन्त भ्यालेन्टाइनको माया बस्यो । उनले आफ्ना दुबै आँखा प्रेमिकालाई दिएर मृत्युदण्ड स्वीकारे । सन्त भ्यालेन्टाइनले ‘लभ फ्रम योर भ्यालेन्टाइन’ लेखिएको हस्ताक्षरसहितको प्रेमपत्र प्रेमिका अर्थात जेलरकी छोरीलाई दिएको बताइन्छ । जेलमै रहेका भ्यालेन्टाइनलाई उनलाई इशापूर्व २६९, फेब्रअरी १४ मा मृत्युदण्ड दिइएको थियो ।

यसै दिनको सम्झनामा सन्त भ्यालेन्टाइनले प्रेमका लागि गरेको त्यागको सम्झना गर्दै विश्वभर १४ फेब्रअरीमा प्रेम दिवसको रुपमा भ्यालेन्टाइन्स डे मनाउने चलन छ । यसबाहेक विश्वमा भ्यालेन्टाइन्स डेलाई लिएर अन्य किम्वदन्ती पनि प्रचलित छन् । पछिल्ला केहीवर्षदेखि नेपालमा पनि प्रेम दिवस मनाउने ट्रेन्ड झांगिएको छ । फेब्रुअरी ७ देखि प्रेम दिवसको सप्ताह सुरु हुन्छ र जुन १४ सम्म मनाइन्छ ।

तस्बिरहरु : उमेश कार्की र सरोज बैजु/नेपाल प्रेस


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *