ट्रिपलस्टार म्यानपावर कम्पनीले युएईमा अलपत्र पारेका आठ नेपालीको श्रममन्त्री श्रेष्ठको पहलमा उद्वार


काठमाडौं । काठमाडौंको टोखास्थित ट्रिपलस्टार इम्प्लोइमेन्ट प्रालीबाट भिजिट भिसामा युएई पुगेर अलपत्र परेका आठ जना नेपालीको उद्धार भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले तत्काल उद्धार गर्न चेतावनी दिएपछि पठाउने म्यान पावर कम्पनीले नै सोमबार आठ जनालाई उद्धार गरेर नेपाल ल्याएको हो ।
यसरी नेपाल फर्कनेमा तनहुँका राजीव सुनुवार र ज्ञानेन्द्र रानाभाट, गोरखाका सुनिल पन्थ र रमेशजंग शाह, डडेल्धुराका शिवराज पन्त, मोरङका चिरायु सरदार, सुर्खेतका झकबहादुर थापा र संखुवासभाका सन्तोष चम्लागाई गरेका छन् । युएईको ग्लोवल सेक्युरिटी कम्पनीमा रोजगारी लगाइदिने भन्दै १२ जना नेपालीबाट ७ लाख ५० हजारका दरले रकम लिएर युएई पठाइ अलपत्र पारेको उजुरीका आधारमा म्यानपावरका संचालक भीम गुरुङलाई मन्त्रालयले गठन गरेको ‘मार्शल टोली’ले पक्राउ समेत गरेको थियो ।
यसैबीच, केही समयअघि साउदी अरेवियामा विरामी परी अलपत्र परेका जाजरकोटका आइस रानाको साउदी अरवको जेद्धामा स्वास्थ्य उपचार गरी सोमबार स्वदेश फर्काइएको छ । साउदी अरवस्थीत जेद्धामा कोठामा छटपटाइरहेका श्रमिकको सामाजिक सञ्जालमा भिडियो भाइरल भएपछि श्रममन्त्री श्रेष्ठले चासो राख्दै उपचार र उद्धारका लागि पहल गरेका थिए ।
नेपाली दुतावासका कर्मचारी र श्रम सहचारीको टोलीले उनको उद्धार गरी स्थानीय अस्पतालमा उपचार गरेको थियो । रानासहित साउदी अरवमा अलपत्र परेका चार नेपालीलाई सोमबार स्वदेश फिर्ता गरिएको नेपाली काउन्सिलर शत्रुधन पोखरेलले जानकारी दिए ।