ग्रीनलाइनबाट मन्त्री नै ठगिए, पैसा नपाएपछि रक्सीबाट असुलउपर गर्न प्रहरीमा निवेदन


काठमाडौं । बैंकको ऋण तिर्न नसकेर ग्रीन लाइनका सञ्चालकहरु भागेपछि एक जना प्रदेश मन्त्रीको कम्पनी ठगिएको भन्दै प्रहरीमा पुगेको छ ।
गण्डकी प्रदेशका मन्त्री मेखलाल श्रेष्ठ आवद्ध रहेको गणेश इन्टरप्राइजेजले महानगरीय प्रहरी वृत्त दरबारमार्गमा शनिबार उजुरी दिएको हो । कम्पनीका तर्फबाट गोविन्द्रप्रसाद श्रेष्ठले उजुरी दिएका छन् ।
गणेश इन्टरप्राइजेजको कार्यालय सानो भर्याङमा रहेको छ । वृत्त प्रमुख विश्वराज खड्काले जावलाखेल डिस्ट्रिलरीको आधिकारिक विक्रेता रहेको गणेश इन्टर प्राइजेजले ग्रीन लाइनलाई दिएको रक्सीको भुक्तान दिन बाँकी रहेकाले रकम पाउँ भन्दै उजुरी गरेको बताए ।
‘८ लाख रुपैयाँको रक्सी दिएपनि ग्रीन लाइनले भुक्तान दिएको रहेनछ । सोहि रकम पाउँ भन्दै उहाँहरुले उजुरी गर्नु भएको छ,’ डीएसपी खड्काले भने । सञ्चालकहरु फरार भएपछि ग्रिन लाइन ‘सिल’ गरिएको छ ।
निवेदकले ग्रीनलाइनभित्र रहेको रक्सी निकालेर भए पनि असूल उपर गर्न माग गरेका छन् । तर ग्रीनलाइनमा भने बैंकहरुले सिल गरेका छन् ।
विभिन्न वैंकको ८० करोड भन्दा बढी रकम ऋण लगानी भएको छ । पैसा नतिरी सञ्चालक फरार भएका छन् ।