अब विदेशस्थित नियोगबाटै नेपाली ई-पासपोर्ट : कतारमा उत्पादनको परीक्षण सफल


काठमाडौं । अबदेखि विदेशस्थित नेपाली नियोगबाटै विद्युतीय पासपोर्ट उपलब्ध हुने भएको छ । राहदानी विभागले कतारस्थित नेपाली दूतावासबाट पहिलो ई-पासपोर्ट उत्पादनको सफल परीक्षण गरेको छ । परीक्षण सफल भएसँगै कतारस्थित दूतावासले पासपोर्टका लागि अइतबारदेखि नै बुकिङ खुला गरेको छ ।
विदेशस्थित नियोगबाट लाइभ इनरोलमेन्ट गरी ई-पासपोर्ट सफलतापूर्वक उत्पादन भएसँगै अब विदेशस्थित सबै नियोगबाट नेपालीले राहदानी पाउने विभागले जनाएको छ । कतारमा सुरुको एक साताको लागि सीमित मात्रामा बुकिङ खोलिएको र विस्तारै अन्य खाडी मुलुक र मलेसियामा समेत सेवा विस्तार गर्ने तयारी छ ।
खाडी र मलेसियामा पठाइएका सामान जडान हुनासाथ केही दिनभित्रै ई-पासपोर्टको सेवा सुरुआत हुने दाबी विभागले गरेको छ । अन्य मुलुकमा रहेका सबै नेपाली नियोगमा समेत उपकरण पठाउने कार्य भइरहेको र केही हप्ता भित्र सेवा सञ्चालनमा आउने विभागले जानकारी दिएको छ ।
नेपालको हकमा ३६ वटा जिल्ला प्रशासन कार्यालय र ५ वटा इलाका प्रशासन कार्यालय गरी जम्मा ४१ स्थानबाट विद्युतीय राहदानीको लागि लाइभ इनरोलमेन्ट शुरु भइ सकेको जनाइएको छ ।