‘सिण्डिकेट कायम गरिदैछ’ भन्ने हल्लाप्रति श्रम मन्त्रालयको आपत्ति – Nepal Press

‘सिण्डिकेट कायम गरिदैछ’ भन्ने हल्लाप्रति श्रम मन्त्रालयको आपत्ति

काठमाडौं । वैदेशिक रोजगारमा संलग्न केही व्यवसायीलाई हवाला दिदै ‘सिण्डिकेट कायम गरिदैछ’ भन्ने समाचारहरुप्रति श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आपत्ति जनाएको छ ।

मन्त्रालयले आइतबार एक विज्ञप्ती जारी गर्दै मन्त्रालयमा कृष्णकुमार श्रेष्ठ तथा सचिवमा एकनारायण अर्याल आइसकेपछि स्वदेशी तथा वैदेशिक रोजगारीको क्षेत्रमा सुधार गरी सुरक्षित, भरपर्दो, निष्पक्ष, पारदर्शी, मर्यादित र न्यायिक व्यवसायको रुपमा विकास गर्ने काम भइरहेको भइरहेको जनाएको छ ।

विज्ञप्तीमा भनिएको छ, ‘कोही पनि निर्धन र निमुखा सर्वसाधारण कसैबाट ठगिनु नपरोस भन्ने उद्देश्यबाट प्रेरित भै काम भैरहेको विषय सबैमा जानकारी नै छ ।’

मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले मर्यादित, इमान्दारी, अनुशासित र पारदर्शी रुपमा काम गर्ने वैदेशिक रोजगार व्यवसाय र गैरकानूनी रुपमा ढाँट, छलबाट आफ्नो व्यवसाय गर्ने व्यवसायीबीचमा फरक हुनु स्वभावक नै हुने विज्ञप्तीमार्फत भनेका छन् ।

‘वैदेशिक रोजगार ऐन, २०६४ को दफा ५ एवं वैदेशिक रोजगार नियमावली, २०६४ को नियम ३ तथा सो अनुसारको अनुसूची–१ मा व्यवस्था भए बमोजिम व्यवसाय गर्न स्वीकृत प्राप्त संस्थामध्ये कुन व्यवसायले कसरी काम गरेको छ भनी आधार खोजी गर्नु कुनै अनौठो कुरा नभई प्रचलित कानून बमोजिम वैदेशिक रोजगारसँग सम्बन्धित संस्था, कम्पनीसँग सल्लाह र छलफल गरी मूल्याङ्कन प्रक्रिया अगाडि बढाउन खोजिएको व्यहोरा जानकारी गराउन चाहन्छौ ।’ मन्त्रालयद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *