अलपत्र परेका नेपालीको व्यवस्थापनका लागि श्रममन्त्री श्रेष्ठ युएई जाँदै – Nepal Press

अलपत्र परेका नेपालीको व्यवस्थापनका लागि श्रममन्त्री श्रेष्ठ युएई जाँदै

काठमाडौं । अलपत्र नेपालीको व्यवस्थापनका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ आगामी साता युनाईटेड अरब इमिरेट्स (युएई) जाने भएका छन् ।

वैदेशिक रोजगारीको प्रलोभनमा परी पर्यटक तथा अन्य भिसामा युएई गएर अलपत्र परेका नेपालीको व्यवस्थापनका विषयमा युएई सरकारसँग छलफल गर्न मन्त्री श्रेष्ठ त्यहाँ जान लागेका हुन् ।

उनले त्यहाँ जानुअघि प्रलोभनमा पारेर पठाउने व्यक्ति तथा संस्थाहरुलाई कारवाहीको दायरमा कसरी ल्याउन सकिन्छ भन्ने बारे युएईका राजदूत साइद हमदान अल नाकीसँग आइतत्रबार मन्त्रालयमा छलफल गरेका छन् ।

पीडित नागरिकलाई कसरी न्याय दिलाउन सकिन्छ भन्ने बारेमा पनि उनले कुराकानी गरेको बताइएको छ । मन्त्री श्रेष्ठले रोजगारीको प्रलोभनमा युएई गएर अलपत्र परेका नेपालीको समस्या समाधानमा सहयोग गर्न राजदूत साइदसँग आग्रह पनि गरे ।

मन्त्री श्रेष्ठले अलपत्र परेका नेपालीलाई युएईमै रोजगारीको अवसर प्रदान गर्ने, भिसा अवधि सकिएर बढी शुल्क बुझाउनुपर्ने वा गैरकानुनी रुपमा बस्नुपर्ने बाध्यता भएकालाई आममाफी दिनुपर्ने तथा उद्धार गर्नुपर्नेलाई नेपाल फिर्ता गर्ने क्रममा युएई सरकारबाट सहयोगको अपेक्षा गरिएको बताए ।

नक्कली मागपत्र बनाउने, झुटो आश्वासन र रोजगारीको प्रलोभन देखाएर प्रचलित कानुनले तोकेको प्रकृयाभन्दा बाहिरबाट नेपालीलाई युएई पुर्याउने कार्यमा संलग्न व्यक्तिलाई कारवाहीको दायरामा ल्याउन पनि युएई सरकारबाट सहयोगको अपेक्षा गरिएको मन्त्री श्रेष्ठको भनाइ छ ।

राजदूत साइदले अलपत्र परेका नेपालीलाई युएईमा नै रोजगारी दिलाउन तथा उद्धार गर्नुपर्नेलाई पनि आवश्यक सहयोग गर्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर