रक्सी खाएर पुजारीले अपहरणमा परेको नाटक गरेपछि…


काठमाडौं । अपहरणमा परेको नाटक गरेको आरोपमा दाङ प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सल्यानको कालीमाटी गाउँपालिका-४ का ४० वर्षीय खिमबहादुर वली रहेका छन् ।
वलीले शनिबार राति १० बजे आफन्तसहित चिनेजानेकालाई लगातार फोन गर्दै आफूलाई चारजनाको समूहले अपहरण गरी जंगलतर्फ लगेको बताएपछि प्रहरी परिचालन भएको थियो ।
त्यसपछि वलीको खोजीमा लागेको प्रहरीले आइतबार बिहान ४ बजे उनलाई दाङको तुल्सीपुर-३ दमारगाउँबाट पक्राउ गरेको थियो।
प्रहरीका अनुसार वलीले तुलसीपुर-५ स्थित एक होटलमा खाना खाएर मापसे गरेपछि फोन गरेको पाइएको छ । प्रहरीका अनुसार सल्यानको कालिमाटीस्थित एक मन्दिरमा पुजारी रहेका वली मन्दिरकै प्रयोजनका लागि रसिद छाप्न दाङ आएका थिए ।
‘कालो सिसामा राखेर मास्क लगाएका चारजनाले मलाई जंगलतर्फ लगेका छन् भन्दै आफन्तलाई फोन गरेका रहेछन्’, दाङका प्रहरी प्रमुख सुरेश काफ्लेले भने, ‘ उनलाई खोज्नेक्रममा मोबाइलमा कुराकानी पनि भइरहेको थियो । उनले आफूलाई गाडिभित्र राखेर अपहरणकारी बाहिर छन् भनिरहेका थिए ।’
अपहरणकारीले ‘रातभरी कुराकानी गर्ने भए गर भोलि तलाई मार्दिन्छु भनेको’ भन्दै वलीले प्रहरीलाई अँत्याएका थिए। ‘अपहरणकारीसँग कुरा गराउनु लगाउनुस् भन्दा उनीहरू बाहिर छन् कुरा गर्न मान्दैनन् भनिरहेका थिए’, एसपी काफ्लेले भने ।
सीसीटीभी फुटेज हेर्दा उनी जाँड खाएर एक्लै सडकमा हिँडिरहेको देखिएको प्रहरीले जनाएको छ। ‘प्रहरी र आफन्तलाई दु:ख दिने उनको नियत देखिन्छ’, वलीलाई कानुनी कारबाही गरिने बताउँदै काफ्लेले भने,’प्रहरीको रातभर निद हराम गरे ।’