तटबन्ध निर्माण रोक्न नेपालको आग्रह, भारतले भन्यो : नेपाललाई असर नपर्ने गरी निर्माण हुन्छ


काठमाडौं । नेपाल र भारतका सीमा अधिकारीहरुको बैठक शनिबार भर्चुअल माध्यमबाट सम्पन्न भएको छ । दार्चुला जिल्ला प्रशासन कार्यालयको आयोजनामा दार्चुला, बैतडी र भारतको पिथौरागढका अधिकारीहरुबीच बैठक बसेको हो ।
कोरोनाभाइरस महामारीको जोखिमको कारण भर्चुअल रुपबाट गरिएको उक्त बैठकमा नेपालले सीमा समस्यासहितका चारवटा एजेन्डा भारतसमक्ष प्रस्तुत गरेको थियो । दार्चुलाका सीडीओ दीर्घराज उपाध्यायका अनुसार बैठकमा दुई मुलुकको सहमति र अन्तर्राष्ट्रिय मान्यता विपरीत दार्चुला सदरमुकाम खलंगापारी धार्चुला क्षेत्रमा भारतले निर्माण गरिरहेको पक्की तटबन्ध, नेपाल-भारत जोड्ने मोटरेवल पुल, भारतीय बजारमा नेपाली मुद्राको अवमुल्यन र सीमा पुलहरु खोल्ने विषयमा नेपालको एजेन्डा राखिएको थियो ।
भारतीय पक्षले १४ फेब्रअरीमा हुने विधानसभा निर्वाचनको सीमा सुरक्षा व्यवस्थापन, सीमा समन्वयलगायत विषयमा मुद्दा प्रस्तुत गरेको थियो ।
दार्चुला सीडीओ उपाध्यायले खंलगा पारी महाकालीको वहाब परिवर्तन हुने गरेर भारतले निर्माण गरिरहेको तटबन्धबारे आफूहरुले कुरा राखेको उनले बताए । ‘हामीले भारतीय तटबन्धको विषयमा सीमा बैठकमा कुरा उठाएका छौँ”, प्रजिअ उपाध्यायले भने, ‘पिथौरागढ जिल्ला अधिकारीले नेपाललाई असर नपर्ने गरी तटबन्ध निर्माण गर्ने आश्वासन दिनुभयो ।’ साथै, महाकाली नदीमा बन्ने मोटरेबल पुलको बारेमा पनि दुई पक्षबीच छलफल भएको उनले बताए ।

नेपाल र भारतबीच यसैसाता महाकाली नगरपालिकाको सुरकाडा क्षेत्रमा दुई मुलुक जोड्ने पुल बनाउनेबारे सम्झौतामा हस्ताक्षर पनि भएको छ । भारतीय लगानीमा बन्ने भनिएको उक्त पुलको निर्माण १४ फेब्रअरीमा हुने भारतीय विधानसभाको चुनाबपछि अघि बढाइने जानकारी पिथौरागढ जिल्ला अधिकारीको भनाई उध्दृत गर्दै सीडीओ उपाध्यायले बताए ।
बैठकमा भारतीय बजारमा नेपाली मूल्यको अवमूल्यन हुने गरेको विषयमा समेत छलफल भएको जनाइएको छ । त्यहाँ एक हजार नेपाली रुपैयाँ बराबर ६ सय २५ रुपैयाँ भारुमा मूल्य हुने भएपनि ६ सय रुपैयाँमा कारोबार हुने गरेको पाइएको छ । जसले गर्दा दैनिक उपभोग्य वस्तु किनमेल गर्न सीमापारी पुग्ने नेपाली उपभोक्ताले घाटा व्योहोर्न बाध्य छन् ।
साथै बैठकमा नेपाल-भारत जोड्ने सीमा पुल खुल्ने समयबारेमा पनि छलफल भएको छ । सीमा पुल बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म दैनिक १२ घण्टा खुल्ने भएपनि कोरोना महामारीपछि अहिले बेलुका ५ बजे नै बन्द हुने गरेको छ ।भारतीय विधान सभाको निर्वाचनपछि पूर्वनिर्धारित समयमै पुल खोल्ने प्रतिबद्धता आफूहरुले पाएको सीडीओ उपाध्यायले जानकारी दिए ।