कसरी सुरु भए संसारका अभिवादन संस्कृति ? – Nepal Press
नेपाल चिन्तन

कसरी सुरु भए संसारका अभिवादन संस्कृति ?

ग्रीष्म ऋतुको एकाबिहानै मोबाइलमा प्रश्नसूचक चिह्नसहित ‘स्वस्नान्तिक’ भनेर सन्देश आयो । दक्षिण भारत पुग्नुभएका एकजना पुरुष साथीले त्यो सन्देश पठाउनुभएको थियो । संस्कृत भाषाको उक्त सन्देशको नेपाली भाष्यान्तर गर्दा ‘नुहाउनु भयो ?’ भन्ने अर्थ हुने रहेछ । सन्देश पढेर एकछिन त म अक्क न बक्क भएँ । पहिला त मेरो बुझाइ गलत भयो कि भनेर यसको अर्थ खोज्न संस्कृत शब्दकोष हेरेँ । यसको अर्थ ‘नुहाउनु भयो ?’ भन्ने रहेको पक्का गरेँ ।

मैले पनि ‘नुहाएर चिया पिउँदैछु’ भनेर जवाफ पठाएँ । जवाफ त पठाएँ, तर किन मलाई नुहाउने कुरा गर्नु भयो ? भनेर सोधौं सोधौं लाग्यो । अफ्ठेरो लागि लागि पनि सोधें । उहाँले भन्नुभयो– त्यस्तो केही होइन, यहाँ प्रभातकालमा भेटिएका मान्छेलाई अभिवादनको रुपमा नुहाउनुभयो भनेर संस्कृतमा सोध्ने चलन छ ।

उहाँले अझ जोड दिएर भन्नुभयो– तपाईंं त खोज गरिरहने मान्छे भएर जानकारी दिउँ भनेर त्यसो भनेको हुँ । अनि सम्झें यो कुरा त हामीलाई संस्कृत कक्षा पढ्दा गुरु महेशराज पन्तले दक्षिण भारतमा भएका संस्कृत बोल्ने गाउँ र त्यहाँको चलनबारे भन्नुभएको थियो । अनि मैले प्रभातकालीन अभिवादनको रुपमा विकास भएको यस संस्कृतिबारे उहाँसँग थप जानकारी लिएँ ।

भारतको दक्षिण भागमा वर्षैभरि गर्मी हुने ठाउँहरु छन् । त्यसैले यहाँ बिहानै उठेर सबैभन्दा पहिला नुहाउने चलन हुन्छ । आज यो चलन कम भए पनि दक्षिण भारतका हजारौं वर्ष अघिदेखि संस्कृत बोल्ने गाउँहरु रहेछन् । त्यसैले बिहान उठ्नेबित्तिकै ‘स्वस्नान्तिक’ अर्थात् ‘नुहाउनुभयो ?’ भनेर सोध्ने चलन रहेछ । र यसरी सोध्दासोध्दै सम्बोधनको रुपमा नै यसको विकास भएको रहेछ । हिजोजस्तै आज सबैले त संस्कृत बोल्दैनन्, तर एकअर्कालाई भेट्दा ‘स्वस्नान्तिक’ भनेर अभिवादन गर्ने चलन बाँकी छ ।

सधैं हिउँले ढाक्ने हुनाले समयको आधारमा बिहान भएको थाहा पाउनुपर्ने हुन्थ्यो । त्यसैले त्यो अन्धकारमय बिहान तिम्रो लागि शुभ होस् या ‘गुड मर्निङ’ भन्दाभन्दै यो संस्कृतिको रुपमा विकास भयो । त्यो अवस्थामा विकास भएको यो संस्कृति विस्तार विस्तार संसारभर फैलियो ।

भारतमा युनानी, मुसलमानपछि अंगे्रजको झण्डै तीनसय वर्ष लामो शासनमा संस्कृत भाषा त के, हिन्दी पनि हराएर अंग्रेजीको प्रभाव बढी भयो । त्यसपछि त्यहाँका मान्छे संस्कृतको ठाउँमा अंग्रेजी बोल्ने भए । त्यसले संस्कृत भाषामा गरिने सम्बोधन मात्र होइन, संस्कृत भाषा नै संकटमा पुग्यो । तथापि दक्षिण भारतका माथुर, मध्य प्रदेशको झिरी, बाघुवार जस्ता गाउँहरुमा आज पनि संस्कृत भाषा मात्र बोलिन्छ ।

स्वस्नातिक मात्र होइन, संसारभर एकअर्कालाई भेट्दा गरिने अभिवादन(सम्बोधन) संस्कृतिबारे खोज्दा ती वातावरण र मौसमजन्य अवस्थाबाट आएका भेटिन्छन् । जो दोहोरिंदा दोहोरिंदा कालान्तरमा संस्कृतिको रुपमा विकास भएका छन् । ती अहिले पढ्दा साँच्चै उदेकलाग्दा छन् । आउनुस् यस आलेखमा संसारभर एकले अर्कालाई भेट्दा गरिने सम्बोधन संस्कृतिको उत्पत्तिबारे चर्चा गरौं ।

‘गुड मर्निङ’ संस्कृति

गुड मर्निङ अंग्रेजी शब्द भएको हुनाले यो अंग्रेजी भाषा बोल्ने देशहरुबाट विकास भएको कुरा प्रष्ट नै छ । गुड मर्निङ सँगै ‘गुड आफ्टरनुन्’ र ‘गुड नाइट’ आज संसारका अधिकांश ठाउँमा प्रयोग गरिने भविभादन हो । संसारभर फैलिएको यस संस्कृति कसरी विकास भयो ? केही तथ्य हेरौं ।

पश्चिमा मुलुक– जहाँ नौ महिना हिउँले ढाक्छ, अनि वर्षमा केही दिन मात्र सूर्य उदाउँछ । अहिले त ती देश धेरै सुविधा सम्पन्न भए । तर सय वर्ष अघिसम्म त्यस्ता देशमा चिसोकै कारण मान्छे मर्ने सम्भावना अत्यधिक हुन्थ्यो । त्यसभन्दा अघि कस्तो थियो होला, हामी अनुमान लगाउन सक्छौं ।

यस्तो ठाउँमा बसोवास गर्नेहरु एकअर्कालाई हरसमय मौसमको प्रतिकुलताबाट शुभको कामना गर्ने गर्दथे । हर समय चिसोमा रहनुपर्ने हुनाले कुनै दिन घाम झुल्किए त त्यहाँ उत्सव नै मनाइन्थ्यो । आज पनि त्यस्तै हुन्छ त्यहाँ ।

सधैं हिउँले ढाक्ने हुनाले समयको आधारमा बिहान भएको थाहा पाउनुपर्ने हुन्थ्यो । त्यसैले त्यो अन्धकारमय बिहान तिम्रो लागि शुभ होस् या ‘गुड मर्निङ’ भन्दाभन्दै यो संस्कृतिको रुपमा विकास भयो । त्यो अवस्थामा विकास भएको यो संस्कृति विस्तार विस्तार संसारभर फैलियो ।

‘गुड मर्निङ’ कसरी सुरु भयो भन्ने विषयमा एउटा कथ्य पनि रहेछ । अमेरिकाको डेलावेयरमा एक दम्पतीले कुखुराको भाले पालेका थिए । त्यसबेला घडी बनिसकेको थिएन । त्यो कुखुराले बासेपछि उज्यालो भएको, रात परेको, अनि दिउँसो भएको भन्ने हुन्थ्यो । किनकि कुखुरा निश्चित समयमा बास्दथ्यो ।

यसरी कुखुरा बासेका आधारमा बिहान भएको, सुत्ने बेला भएको थाहा हुन्थ्यो । अनि कुखुरा बासेपछि ती दम्पती ‘गुड मर्निङ’ अर्थात् ‘तपाईको बिहान शुभ होस्’ भनेर निस्कन्थे । तर पछि समय बित्दैै गएपछि यहीं सम्मान सूचक सम्बोधनको रुपमा विकास भयो

हात मिलाउने

भेट्दा हात मिलाउने अर्को चलन छ । जुन पश्चिमा समाजबाट नै आएको हो । अहिले संसारभर फैलिएको हात मिलाउने चलन ग्रिसबाट सुरु भएको मानिए पनि कहिलेबाट सुरु भयो भन्नेबारे यकिन कतै पनि पाइँदैन । तर बर्लिनको पर्सामोन संग्राहलयमा भएको पुरानो ग्रन्थमा ईसापूर्व पाँचौं शताब्दीमा दुई सिपाहीले हात मिलाएको चित्र छ । जसले त्यसबेलादेखि हात मिलाउने चलन चलेको थियो भन्ने जानकारी दिन्छ भनेर विकिपिडियामा ह्यान्डसेक गरिएको चित्रसहित उल्लेख गरिएको छ । तर कति अनुसन्धानकर्ताहरुले हात मिलाउने चलन यमन देशबाट सुरु भएको उल्लेख गरेका छन् । हात मिलाउन पनि घटनाबाटै सुरु भएको छ ।

संसारभर देश एकीकरणको युग थियो । त्यसताका मानिसहरु जोगिन कतै न कतै हतियार बोकेर हिँड्ने गर्दर्थे । त्यसैले सशस्त्र को हो र निःशस्त्र को हो भनेर छुट्याउन मुस्किल हुन्थ्यो । भनौं, निशस्त्र मान्छे नै हुँदैनथ्यो । मान्छेले मान्छेलाई विश्वास गर्दैनथे, किनकि भेट्नासाथ गोली ठोक्ने या आफ्नो कब्जामा पार्ने गर्दथे ।

विस्तारै समाज परिर्वतन त भयो, तर यस्तो बेला आफू सशस्त्र नरहेको अर्काे पक्षलाई जानकारी दिन मानिसहरुलाई कठिन हुन्थ्यो । दुवैलाई देखेर दुवै डराउँथे । त्यसैले ‘म निशस्त्र छु, मैले हतियार बोकेको छैन, म तिम्रो साथी हुँ’ भन्ने जनाउन दुवै हात निकालेर एकअर्कासामु राख्दथे । र दुवैले हात निकालेर मिलाउँदा मिलाउँदै एकले अर्कालाई ‘म साथी हुँ, शत्रु होइन’ भनेर हात बढाएको सो कदम पछि गएर भेट गर्दा सम्मान गर्ने संस्कारको रुपमा विकास भयो । जसमा कुनै अध्यात्मिक कारण छैन । बस्, बाँच्ने सिलसिलामा बनेको यो संस्कार आज संसारभर फैलिएको छ । जसलाई handshake मा हेर्न सकिन्छ ।

संसारभर देश एकीकरणको युग थियो । त्यसताका मानिसहरु जोगिन कतै न कतै हतियार बोकेर हिँड्ने गर्दर्थे । त्यसैले सशस्त्र को हो र निःशस्त्र को हो भनेर छुट्याउन मुस्किल हुन्थ्यो । भनौं, निशस्त्र मान्छे नै हुँदैनथ्यो । मान्छेले मान्छेलाई विश्वास गर्दैनथे, किनकि भेट्नासाथ गोली ठोक्ने या आफ्नो कब्जामा पार्ने गर्दथे ।

हात मिलाउने चलन विश्वव्यापी भए पनि हाल इराक, इरान, साउदी अरब, पाकिस्तान जस्ता देशहरुमा महिलाको लागि हात मिलाउन अहिले पनि अनुमति छैन । लोग्ने मान्छेहरु अघि सरेर महिलाको हात समाउन निषेध छ । तर टर्की एउटा यस्तो मुस्लिम देश हो, जहाँ महिला पुरुषले हात मिलाउन पाउँछन् ।

जिब्रो देखाउने चलन

यस्तै परस्परमा सम्मान गर्न तिब्बतमा मान्छेलाई भेट्दा जिब्रो देखाउने चलन छ । त्यहाँ घरमा आएका पाहुना र कुनै कार्यक्रममा सहभागीहरुदेखि नयाँ साथी भेट हुँदा जिब्रो देखाउने चलन थियो । अहिले पनि यसैगरी जिब्रो देखाउने संस्कृति त छ, तर यो चलन सांस्कृतिक कार्यक्रममा सीमित भएको छ । आफूकहाँ आएका पाहुनाहरुलाई ज्रिब्रो देखाउने संस्कृति कायम रहेको देखाउन मात्र यसले निरन्तरता पाइरहेको छ ।

जिब्रो देखाएर स्वागत गर्ने चलन कसरी सुरु भएको थियो भन्ने ताजा इतिहास छ । तिब्बतमा नवौं शताब्दीमा लाङ्गदर्मा नामका राजा थिए । ‘तिब्बत मे बौद्ध धर्म’ भन्ने पुस्तकमा लेखिएको छ– उनी अत्यन्त अपराधी स्वाभावका थिए । उनी जति क्रुर थिए, उनको जीउडाल पनि त्यस्तै डरलाग्दो थियो । जिब्रो पनि लामो, कालो थियो ।

तिब्बतीहरु तिनलाई अहिलेसम्मकै क्रूर राजाको रुपमा चिन्छन् । भनिन्छ –उनले लडाइँमा पनि जिब्रो देखाएरै जित्दथे (राहुल सांकृत्यायन तिब्बत में बौद्ध धर्म, पृष्ठ २६, किताब महल इलाहवाद) । तिब्बती बौद्धमार्गीहरु अरुतिरका बौद्धमार्गीजस्ता होइनन् । यिनीहरु पुनर्जन्ममा विश्वास गर्छन् । राजा मरेपछि उनीहरुले ती राजाले फेरि नयाँ जन्म लिएर आउलान् भन्ने शंका गर्न थाले । अनि राजा मरेपछि जन्मिएका सबैको जिब्रो हेरिन थालियो ।

आफ्नै साथीदेखि घरमा आउने पाहुनाले पनि आफू त्यो राजाको पुनर्जन्म होइन भनेर पुष्टि गर्न ज्रिब्रो देखाउनु पदथ्र्यो या देखाउने गर्दथे । पछि यो प्रचलन आम बन्यो र सबैले पहिलो भेटमा जिब्रो देखाउन थाले ।

यतिसम्म कि लडाइँमा जानुअघि, खेल खेल्न जानुअघि, यात्रामा निस्कने बेलामा र केही कामको सुरु गर्नु परे पनि जिब्रो देखाएर, आशिष दिएर उसमा हिम्मत भरेर पठाइन्थ्यो । यो लामो समयसम्म (पचास वर्ष अघिसम्म) यसैगरी चल्यो । अहिले भने पुराना संस्कृति देखाउनका लागि मात्र सीमित छ । तर अहिले तिब्बतमा पनि हिमवत्खण्ड अन्तर्गतकै वैदिक सनातनीहरुको जस्तै नमस्कार संस्कृति प्रचलित छ । उनीहरु भन्न चाहिँ ‘तासिदेलेग्’ भन्छन् ।

नाक जोडेर गर्ने आदर

आफन्त, आगन्तुक या पहिलोपटक भेट्टाएको मान्छेसँग नाक जोडेर अभिवादन गर्ने अर्को संस्कृति छ । यो संस्कृति न्युजिल्याण्डका आदिवासीहरुमा छ । यो खासगरी त्यहाँका मउरी जातिमा प्रचलित छ । यसलाई उनीहरु ‘होङ्गी’ भन्दछन् । यो प्रचलनअनुसार दुईजना मानिस भेट भएर नाक, निधार जोड्ने र एकअर्काको श्वास महसुस गर्नेगरी विस्तारै नाकमा घर्षण गर्ने गरिन्छ ।

जिब्रो देखाएर स्वागत गर्ने चलन कसरी सुरु भएको थियो भन्ने ताजा इतिहास छ । तिब्बतमा नवौं शताब्दीमा लाङ्गदर्मा नामका राजा थिए । ‘तिब्बत मे बौद्ध धर्म’ भन्ने पुस्तकमा लेखिएको छ– उनी अत्यन्त अपराधी स्वाभावका थिए । उनी जति क्रुर थिए, उनको जीउडाल पनि त्यस्तै डरलाग्दो थियो । जिब्रो पनि लामो, कालो थियो ।

यसलाई एकअर्काको श्वास बाँड्ने र एकताको प्रतीकको प्रचलनका रुपमा लिने गरिन्छ । न्युजिल्याण्डका क्यान्टबरी युनिर्भर्सिटी कलेज अफ एजुकेसनका प्रोफेसर ते हुरनुई क्लार्कले यो केवल नाक जोड्ने काम मात्र नभएर एकले अर्काको अस्तित्व महसुस गर्ने अध्यात्मिक कार्य भएको बताएका छन् । उनले भनेका छन्– निधार र नाकको स्पर्श मात्र स्पर्श होइन, यो आफू हुनुको श्वासमा आभाष र ज्ञान साटासाट हो ।

अंगालो हाल्ने

एकअर्कालाई भेट्दा अंगालो हाल्ने परम्परा फ्रान्स, स्पेन र ल्याटिन अमेरिका जस्ता देशहरुमा देख्न सकिन्छ । आफन्त, साथी या कतैबाट आएका पाहुनालाई पहिलोपटक भेट्दा उनीहरु अंगालो हालेर स्वागत गर्ने गर्दछन् । कति देशहरुमा अंगालो हालेर एकले अर्कालाई ढाडमा थम्थमाउने, कतिले अंगालो हाल्ने र गालामा चुम्मा गर्ने हर्षमय अभिवादन गर्ने गर्दछन् । यो संस्कृति पनि संसारभर नै फैलिएको छ । अंगालो हाल्ने संस्कृति अन्य संस्कृतिहरुको तुलनामा निक्कै विवादित देखिन्छ ।

सन् २००० को मे मा न्युयोर्क टाइम्सले लेखेको छ– रोमन क्याथोलिकहरुमा अंगालो हालेर चुम्बन गर्ने प्रचलन बढेपछि संयुक्त राज्य अमेरिकाका धेरै स्कूलहरुमा आलिङ्गनमा प्रतिबन्ध लगाइएको छ । त्यही पत्रिकामा उल्लेख भएअनुसार अझ इस्लामहरुको रमजानको महिनामा उज्यालोमा महत्वपूर्ण व्यक्तिसँग अँगालोमा भेटिए पापीको रुपमा लिइन्छ र हलाल गरिन्छ भनिएको छ ।

अंगालोको कथा भारतसम्म पनि फैलिएको छ । दक्षिण भारतको केरल राज्यमा १६ वर्षको एक केटाले कलाको प्रतिस्पर्धामा पुरस्कार जितेर केटीलाई अंगालो हालेपछि स्कूलबाट निकालियो । यो मुद्दामा केरल राज्य संरक्षण बाल अधिकार आयोगले केटालाई पुनः स्कूलमा लिन आदेश दियो । तर त्यो मुद्दा उच्च अदालत पुग्यो । यता उच्च अदालतले आयोगको निर्णय खारेज गरेर स्कूलका प्रिन्सिपलले विद्यार्थी निकाल्न गरेको आदेशलाई समर्थन गर्दै भन्यो– स्कूलका प्रिन्सिपल संस्थाका अभिभावक हुन्, उनले विद्यालयको अनुशासन र नैतिकता कायम राख्न आवश्यक कारबाही गर्ने अधिकार प्राप्त गरेको छ ।

बाल अधिकार आयोगले हस्तक्षेप गर्न सक्दैन भनेपछि यो मुद्दा सकियो । खुशी साट्दा अप्रिय कुरा पनि हुने भएर मात्र हैन, अंगालो मार्दा अनेक रोग सर्ने कारणले पनि यसको स्वाथ्य क्षेत्रबाट विरोध भैइरहेको समाचार आइनै रहेका हुन्छन् ।

नमस्कार संस्कृति

नेपाल, भारत र थाइल्याण्डलगायतका वैदिक शास्त्रीय संस्कृति विकास भएका देशहरुमा भेट्दा नमस्कार गरेर अभिवादन गर्ने संस्कृति छ ।

नमस्कार मन, आवाज र मुद्राले गर्न सकिन्छ । आवाजमा निस्कने नमस्कार संस्कृत शब्द हो । नमस्–कृ–घञ भएर नमस्कार शब्द बन्छ । नमः को अर्थ ‘म नमन गर्छु’ या ‘म झुक्छु’ या ‘मेरो अहंकार झुक्यो’ भन्ने हुन्छ (बृहद् संस्कृत–नेपाली शब्दकोश, पं. फणीन्द्रप्रसाद पाण्डेय, पृ. ७१३) ।

देवता, गुरु, ब्राह्मण (थर होइन ज्ञानी मान्छे) साथी र मान्यजनलाई नमस्कार गरिन्छ । नमस्कार शरीर, मन र वचन तीन प्रकारले गरिन्छ (शब्दकल्पद्रुम, पृ. ८२७–२८) । धर्ममा मात्र होइन, योग विज्ञान तथा आयुर्वेदमा पनि हत्केलामा रहेका नसाहरू दिमागकेन्द्रित हुन्छन् भन्ने उल्लेख पाइन्छ ।

हाम्रा पाँच औंलालाई पञ्चतत्व पृथ्वी, जल, तेज, वायु र आकाशका रूपमा अथ्र्याइएको छ । दुवैको आभामण्डलमा व्याप्त भावनात्मक र अदृश्य तत्वलाई एकताबद्ध गराउने प्रक्रियाबाट अभिवादनको नमस्कार शैली विकास भएको देखिन्छ ।

नमस्कारको प्रयोगबारे वेदमा पनि उल्लेख छ । रुद्रीका मन्त्रहरूमा ‘नमः शङ्कराय,’ ‘नमः शम्भवाय’ भनिएको छ । देवताको पुकार गरिएका पुराना ग्रन्थहरूमा यसरी नमस्कारको प्रयोग गरिएको छ भने स्मृतिहरूमा अभिवादन गर्ने गरिएको बताइएको छ । शुक्लयजुर्वेद (१६÷१) मा भनिएको छ— ‘नमस्ते रुद्र मन्यव उतो त इषवे नमः । बाहुभ्यामुत तर नमः ।’ अर्थात्, हे रुद्र, तपाईंलाई, तपाईंका क्रोधलाई तपाईंका वाणलाई र तपाईंका बाहुलाई नमस्कार छ ।

हाम्रा पाँच औंलालाई पञ्चतत्व पृथ्वी, जल, तेज, वायु र आकाशका रूपमा अथ्र्याइएको छ । दुवैको आभामण्डलमा व्याप्त भावनात्मक र अदृश्य तत्वलाई एकताबद्ध गराउने प्रक्रियाबाट अभिवादनको नमस्कार शैली विकास भएको देखिन्छ ।

महाभारत र कालिका पुराणमा पनि सबैलाई नमस्कार गरेर मात्र या योगस्थ भएर मात्र किताब पढ भनिएको छ । यसमा मात्र नमस्कार नभएर पहिला सबैलाई आफू पृथ्वीमा आउनुमा कृतज्ञ भएर आफ्नो कार्यमा लाग भन्ने हो । यसरी नमस्कार मानव सभ्यता जत्तिकै पुरानो अभिवादन संस्कृतिको रुपमा विकास भएको देखिन्छ ।

कामना त जसरी पनि गरिन्छ । तर नमस्कार यस्तो नियन्त्रित कामना हो, जसले कर्तालाई पहिला विचारशून्य बनाउँछ र क्षणभर आँखा चिम्म हुँदा उत्पन्न सकरात्मक ऊर्जा सामुन्नेको मान्छेमा पठाइन्छ र आफू आनन्दित महसुस गर्छ । त्यसैले यो कुनै तान्त्रिक अभ्यासका लागि विकास गरिएको देखिन्छ ।

त्यसो त नमस्कारकै अनेक आसन र प्रकार हुन्छन् । अष्टाङ्ग योग विधिअनुसार हत्केला र औंला एकठाउँ जोडेर, कुम र शीरलाई त्रिकोण अवस्थामा राख्दा अधिक शक्ति उत्पन्न हुन्छ भनिन्छ । त्यसैले त्यो बेलाको कामना असरदार हुन्छ । अर्थात् नमस्कार संस्कृति कुनै घटनाबाट सुरु गरिएको नभएर मनोविज्ञानलाई सकरात्मक राख्न खोजिएको विधि हो । मेडिकल विज्ञानले पनि भनेको छ– हाम्रा हातमा धेरैतिरका नसाहरू आएर अन्त्य हुन्छन्, जसले गर्दा हत्केलाका खासखास नसाहरूबाट शरीरको पूरै पद्धतिलाई नियन्त्रण गर्न सकिन्छ ।

गला मिलाउन चिनेको मान्छे हुनुपर्ला, हात मिलाउन पनि सफा मान्छे खोज्नुपर्ला अनि मृत्यु भइसकेकाहरूसँग हात मिलाउन वा गला मिलाउन सकिँदैन । तर, नमस्कार सबैलाई सबै अवस्थामा गर्न सकिन्छ । नमस्कार अभिवादन मात्र नभएर वसुधैव कुटुम्बकम्को परिपूरक रूप हो ।

जसले वसुधा (पृथ्वी) मा बसोबास गर्ने सबै मेरा मित्र हुन् भन्ने भाव जागृत गर्छ । एकचित्त भएर गरिएको नमस्कारले नदेखिने तर प्रत्यक्ष प्रभाव पर्ने दुई व्यक्तिबीच सूक्ष्म स्पन्दन प्रवाह गरेको हुन्छ । त्यसैले अहिले कोरोनाको महामारीको समयमा विश्वस्वास्थ्य संगठनले अंगालो त के हात मिलाउन पनि मनाही गरेको छ । तर नमस्कार गर्न भने सबैतिरबाट आह्वान गरिरहेको छ ।

यसरी संसारभरका मुख्य मुख्य अभिवादन संस्कृतिलाई हेर्दा जीवनयापनका क्रममा मौसमजन्य र वातावरणजन्य घटनालाई टिपेर सुरु भएका छन् । तर हिमवतखण्डबाट सुरु भएको नमस्कार संस्कृति कुनै घटनालाई लिएर नभइ ऋषिहरुले लामो अध्ययनपछि जीवन विज्ञानमा आधाररित रहेर यस्तो अभिवादन संस्कृतिको विकास गरेको देखिन्छ ।

सारमा भन्न सकिन्छ– नमस्कार एउटा पराभौतिक खोज हो । भौतिक कुरामा हामी जहाँ पुगे पनि न्यून मात्र भौतिक र अधिकांश पराभौतिक ऊर्जामा अडिएको मानव जीवनको अध्ययनमा पूर्वीय सभ्यता अगाडि छ र रहनेछ ।


प्रतिक्रिया

3 thoughts on “कसरी सुरु भए संसारका अभिवादन संस्कृति ?

  1. गला मिलाउन चिनेको मान्छे हुनुपर्ला, हात मिलाउन पनि सफा मान्छे खोज्नुपर्ला अनि मृत्यु भइसकेकाहरूसँग हात मिलाउन वा गला मिलाउन सकिँदैन । तर, नमस्कार सबैलाई सबै अवस्थामा गर्न सकिन्छ । नमस्कार अभिवादन मात्र नभएर वसुधैव कुटुम्बकम्को परिपूरक रूप हो ।

  2. अभिवादन थरि-थरिका । समय सुहाउँदो त नमस्कार / नमस्ते नै हो । देवतालाई पनि र मान्छेलाई पनि । झुकेर गरिने जापानी अभिवादन पनि मन छुने हुन्छ , नै ।

  3. मुरि मुरि धन्यवाद हजुरको लेखले सनातन धर्मको स्थान कती बैज्ञानिक छ भन्ने बुझाउछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *