तिलोत्तमामा साढे ७९ करोडको सडक बन्दै, ग्लोबल टेण्डर आव्हान


रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मंगलापुर-कान्छीबजार सडक निर्माणको लागि ग्लोबल टेण्डर आह्वान भएको छ । निकै लामो तयारीपछि विभिन्न प्रक्रिया पार गर्दै सडक निर्माणको लागि शुक्रबार टेण्डर निकालिएको हो ।
ग्लोबल टेण्डरबाट निर्माण हुन थालेको यो तिलोत्तमा नगरपालिकाको पहिलो विकास आयोजनामा अस्फाल्ट मेट्रियलको प्रयोग हुने र कुल लागत ७९ करोड ५५ लाख रहेको छ । यसबाट सडक निर्माणको लागि योग्यता पुगेका अन्तर्राष्ट्रिय निर्माण कम्पनीले पनि टेण्डरमा सहभागी हुन पाउनेछन् ।
मंगलापुर-कान्छीबजार सडक विश्व बैंकको सहयोगमा सहरी विकास मन्त्रालयको शहरी शासकीय तथा पूर्वाधार आयोजनामार्फत् निर्माण हुन थालेको हो ।
ग्लोबल टेण्डरमा निर्माण कम्पनीहरुले सूचना प्रकाशित भएको ४५ दिनभित्र आवेदन गर्न सक्नेछन् । कार्यसम्झौताको दुई वर्ष भित्र निर्माण सक्ने गरी तिलोत्तमा नगरपालिकाले टेण्डर आह्वान भएको हो ।
नगर प्रमुख वासुदेव घिमिरेले विभिन्न प्रक्रिया पार गर्दै सडक निर्माणको लागि टेण्डर आह्वान हुनु सबैको लागि खुशीको कुरा रहेको बताउँदै यो सडक यस क्षेत्रकै लागि नमूना हुने विश्वास व्यक्त गरे । सडक निर्माणको लागि स्थानीय स्तरमा छलफल, वातावरणीय प्रभाव मूल्यांकनलगायतका सम्पूर्ण प्रक्रिया पूरा भएको नगरपालिकाका योजना प्रमुख ई. प्रदीप वनले जानकारी दिए ।
सडक निर्माणको क्रममा खानेपानी, विद्युत्, टेलिफोनका पोल व्यवस्थापनका सबै काम हुनेछन् । फुटपाथ, नालीसहित ४३ फुट कायम गरिएको यो सडक पहिलो चरणमा ५ किलोमिटर निर्माणको लागि टेण्डर आह्वान भएको हो । बाँकी रोहिणी पुलसम्मको सडक निर्माणको काम क्रमशः अघि बढ्ने नगरपालिकाले जनाएको छ ।
सडक निर्माण गर्न टेण्डर आह्वान भएसँगै स्थानीय बासिन्दाले खुशी व्यक्त गरेका छन् । स्थानीय माधव पन्थीले ढिलै भए पनि यस क्षेत्रकैै नमूना र स्तरीय सडक निर्माण गर्नेगरी टेण्डर आह्वान भएको सूचनाले आफूहरु निकै उत्साहित भएको बताए । यो सडक निर्माणपछि परियोजना अन्तरगत नगरका अन्य प्रमुख सडक निर्माणको काम समेत अघि बढ्ने बताइएको छ ।
नगरपालिकाले नगरका अन्य प्रमुख सडकहरूलाई समेत कालोपत्रे गर्न परियोजनामार्फत् विश्व बैंकसँग प्रस्ताव गरेको छ ।
मंगलापुर-कान्छीबजार वडा नं. ७, वडा नं. ९ र वडा नं. १० मा पर्दछ ।