भारतले पुनः भन्यो- सार्क सम्मेलन आयोजनामा पाकिस्तान गम्भिर भएन


नयाँदिल्ली । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को आगामी शिखर सम्मेलन आयोजना गर्न पाकिस्तानले कुनैपनि तदारुकता नदेखाएको टिप्पणी भारतले पुनः गरेको छ ।
भारतीय विदेश मन्त्रालयद्वारा बिहीवार आयोजित नियमित प्रेस ब्रिफिङमा प्रवक्ता अरिन्दम बागचीले पाकिस्तानले सार्क सम्मेलन आयोजना गर्ने विषयमा ‘देखिने गरि कुनै विकास’ नभएको बताए । साथै, उनले पाकिस्तान गम्भीर नभएको समेत बताए
सार्कको आगामी शिखर सम्मेलनबारे सोधिएको प्रश्नमा प्रवक्ता बागचीले भारत आफ्नै अडानमा रहेकोतर्फ संकेत गरे । भारत-पाकिस्तान तनावको कारण अवरुद्ध सार्क सम्मेलन आयोजनाको प्रक्रिया अघि बढ्न सकेको छैन ।
केही महिनाअघि पाकिस्तानी विदेश मन्त्रालयले भारतले सार्क सम्मेलन आयोजना गर्ने काममा कृत्रिम अवरोध सिर्जना गरेको आरोप लगाएको थियो । भारतले भौतिकरुपमा नभए भर्चुअलरुपमा सहभागिता जनाउन सक्ने धारणा पाकिस्तानले राखेको थियो ।
तर, केही सातापछि भारतीय विदेश मन्त्रालयले पाकिस्तानले आतकंवादलाई सघाउने कार्य नरोके सम्मेलन आयोजना हुन नसक्नेतर्फ संकेत गरेको थियो ।