एमसीसीका कारण सत्तारुढ गठबन्धन अहिले कि भरे टुट्ने अवस्थामा छ : सिपी गजुरेल (भिडिओ)


काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) नेता सिपी गजुरेलले एमसीसीका कारण सत्तारुढ गठबन्धन टुट्ने अवस्थामा पुगेको दाबी गरेका छन् ।
पार्टीनिकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी) ले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका राज्यका मुख्य तीन अंग असफल भइसकेको जिकिर गरे ।
नेता गजुरेलले मुलुकको अर्थतन्त्रसमेत ‘कोल्याप्स’ हुने अवस्था पुगेको भन्दै यसलाई निकास दिन कम्युनिष्ट क्रान्तिकारीहरूको सहकार्यमा जोड दिए ।
उनले भने, ‘अहिले एमसीसीको सकंट हेर्नुस् त । गठबन्धन अहिले टुट्ने हो कि भरे टुट्ने जस्तो भइराको छ । कार्यपालिकामा संकट छ । व्यवस्थापिकाका संकट छ । उनीहरू नै भन्छन् । न्यायपालिकाको हालत हेर्नुस् त । सर्वोच्च अदालतको प्रधानन्यायाधीशको हालत कस्तो छ ? आर्थिक सूचकांक सबै नकारात्मक छन् ।’
नेता गजुरेलले दक्षिणपन्थी अवसरवादमा पतन भएकाले प्रचण्ड र विप्लवहरूसँग आफ्नो पार्टीले एकता गर्ने कुनै सम्भावना नरहेको दोहोर्याए ।