प्रभावकारी बन्दै स्थानीय तहको तालिम, आत्मनिर्भर बन्दै महिला – Nepal Press

प्रभावकारी बन्दै स्थानीय तहको तालिम, आत्मनिर्भर बन्दै महिला

रुपन्देही । विपन्न समुदायका नागरिकलाई स्थानीय सरकारले दिएको सानो व्यवसायिक तालिम तथा सहयोगले पनि उनीहरुलाई जीवन निर्वाहका लागि ठूलो सहयोग पुगेको छ । सीपमूलक तालिमले विपन्न समुदायका नागरिकलाई रोजगारीसँगै आत्मनिर्भर पनि बनाएको छ । रुपन्देहीको सियारी गाउँपालिकामा गरिब तथा विपन्न समुदायका मधेसी र थारु महिलाले स्थानीय तहबाट प्राप्त तालिम र सहयोगबाट अयआर्जन गरिरहेका छन् ।

खासगरी स्थानीय सरकारको पहलमा उनीहरुले हस्तकला तालिम लिएर गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमअन्तर्गत आयआर्जन गर्न थालेका हुन् । स्थानीय महिलालाई आत्मनिर्भर गराउने उद्देश्यले सियारी गाउँपालिका वडा नं २ र ३ का महिलाहरुले विभिन्न खोल्सामा पाइने झारपात र खरजस्ता प्रजातिका घासपातबाट बनेको ‘कटरा’को हस्तकला सामग्री निर्माण गरेका छन् । महिलाहरुले सो ‘कटरा’बाट बस्ने मुढा, म्याट, चकटी, गुन्द्री तथा सजावटका आर्कषक सामग्री बनाएका छन् ।

महिलाले स्थानीयस्तरमा विभिन्न समूह गठन गरी दर्ता गरेर काम गरेको सियारी गाउँपालिकाले जनाएको छ । सो हस्तकला सामग्री २५० देखि ५०० सम्ममा बिक्री हुने गरेको छ । पालिकाले उनीहरुले उत्पादन गरेका यस्ता सामग्रीहरुको बिक्री व्यवस्थापनका लागि समेत सहयोग गर्ने नीति बनाएको छ । स्थानीयले पनि यसरी तयार भएका वस्तु बजारीकरणमा समस्या नपर्नेगरी स्थानीय सरकारले व्यवस्थापन गरिदिए धेरै सहज हुने र आफ्नो ध्यान उत्पादनमा मात्रै केन्द्रीत बन्ने बताएका छन् ।

स्थानीय यमुना कुमालले भनिन् ‘हामीलाई यस्ता तालिमले आत्मनिर्भर मात्रै बनाएको छैन, आयआर्जनको दरिलो माध्यम बनेको छ ।’

उनले विपन्न समुदायका महिलाका लागि आयआर्जनको कार्यक्रमलाई अवसरको रुपमा रुपान्तरण गरेर लाभ लिन महिलाहरुलाई आग्रह गरिन् । हस्तकला सामग्रीहरुको ठूला होटेल र विदेशबाट आएका पर्यटकहरुका लागि आर्कषक वस्तु मानिन्छ । ‘महिलाहरुले सीपलाई व्यवहारमा उतारे भने राम्रो आम्दानी गर्न सक्छन् र आत्मनिर्भर हुन सक्छन्’,– तालिमकी प्रमुख प्रशिक्षक खेम कुमारी थारुले भनिन् ।

सियारी गाउँपालिका उपाध्यक्ष अमृता गुरुङले यस्ता कार्यक्रम महिला सशक्तीकरणका लागि नमूना काम भएको बताइन् ।

सियारी गाउँपालिकका अध्यक्ष अयोध्या थारुले गाउँपालिकामा विभिन्न किसिमका स्वारोजगारमूलक तालिम दिंदै आएको जानकारी दिँदै हस्तकला जस्ता कार्यक्रमले महिलाहरुले रोजगार पाउनुका साथै महिला सशक्तिकरणमा उल्लेख्य योगदान हुने बताए ।
कामका लागि महिलाहरुलाई व्यवसाय गर्न शून्य प्रतिशत ब्याजदरमा लगानी गर्न गाउँपालिकामा रहेका बैंकलाई आग्रह गर्नेसमेत गाउँपालिकाले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर