शिशुको हत्या गर्न दवाव दिने पुरुषलाई जिल्ला अदालतबाट सफाइ, उच्च अदालतबाट जन्मकैद – Nepal Press

शिशुको हत्या गर्न दवाव दिने पुरुषलाई जिल्ला अदालतबाट सफाइ, उच्च अदालतबाट जन्मकैद

कैलाली । उच्च अदालत दिपायलले हाडनाता करणीबाट जन्मिएको शिशुको हत्या गर्न दवाव दिने बाजुराका राजकुमार बडुवाललाई जन्मकैदको फैसला सुनाएको छ । स्मरणीय के छ भने बाजुरा जिल्ला अदालतले उनलाई निर्दोष ठहर गरी सफाइ दिएको थियो ।

उच्च अदालतले दिएको जानकारीअनुसार बडुवालले हाडनाता करणीबाट गर्भ रही जन्मेको शिशुलाई हत्या गर्न दवाव दिएको प्रमाणित भएको छ । बडुवालले भाउजु नाता पर्ने महिलालाई बलात्कार गरेको आरोप लागेको थियो ।

बलात्कारपछि गर्भवती भएकी महिलाले २०६९ जेठ २७ गते शिशु जन्माएकी थिइन् । पटक पटक राजकुमारले शिशुको हत्या गर्न दवाव दिएपछि महिलाले जन्मेको ३४ दिनमा बिषादी खुवाई आफ्नै सन्तानको हत्या गरेकी थिइन् ।

उक्त घटनामा मंगलबार उच्च अदालतका कामु मुख्यन्यायाधीश टेकनारायण कुँवर र जगतवहादुर थापाको संयुक्त इजलासले राजकुमारलाई मुख्य दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको हो ।

महिलालाई चार वर्ष कैद हुने गरी जिल्ला अदालत बाजुराले सुनाएको सजाय भने उच्च अदालतले सदर गरेको छ ।

मुद्दामा विषादी जडिबुटी ल्याई बालकलाई खुवाउन सहयोग गरेको आरोपमा एक महिलालाई पनि ६ महिना कैद सजाय सुनाएको छ । शिशुको हत्या गर्न दबाव दिने पुरुषलाई हदैसम्मको सजाय भएको यो सम्भवतः पहिलोपल्ट हो ।


प्रतिक्रिया

One thought on “शिशुको हत्या गर्न दवाव दिने पुरुषलाई जिल्ला अदालतबाट सफाइ, उच्च अदालतबाट जन्मकैद

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर