मोरिससविरुद्ध नेपालको दोस्रो जित, तनावपूर्ण खेलमा सुजलको गोल निर्णायक


काठमाडौं । मोरिससविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल विजयी भएको छ ।
दशरथ रंगशालामा मंगलबार भएको खेलमा नेपालले मोरिससलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
नेपालका लागि सुजल श्रेष्ठ १० औं मिनेटमा गोल गरेका थिए । ६ वर्षपछि सुजलको पहिलो अन्तर्राष्ट्रिय गोल हो ।
यसअघि सन् २०१६ मा आयोजित सोलिडारिटी कपमा उनले मकाउविरुद्ध अन्तर्राष्ट्रिय गोल गरेका थिए ।
फाइनलमा सुजलले मकाउविरुद्ध गरेको एकमात्र गोलमा नेपालले एएफसी सोलिडारिटी कपको उपाधि जितेको थियो ।
त्यस लगत्तै मोरिससले बराबरी गोल गर्ने सुन्दर मौका खेर फालेको थियो । दिनेश राजवंशीले मोरिससका मिडफिल्डर लिन्स्ली ब्रसीलाई पेनाल्टी एरियामा फाउल गरेपछि मोरिससले पेनाल्टी पाएको थियो ।
खेलको १३औं मिनेटमा मोरिससका कप्तान एन्डी बोटलारले हानेको पेनाल्टी नेपालका कप्तान तथा गोलकिपर किरण कुमार लिम्बुले उत्कृष्ट बचाउ गरेका थिए ।
नेपालले खेलको ३६औं मिनेटमा अग्रता दोब्बर पार्ने अवसर खेर फालेको थियो । तेज तामाङले करिव २५ यार्डबाट हानेको प्रहार फ्रेममा परेन ।
पहिलो हाफ १–० को नतिजामा टुङ्गिएको खेलको दोस्रो हाफ निकै तनावपूर्ण भएको थियो ।
खेलको ७१ औं मिनेटमा दुवै टोलीका खेलाडी हात हालाहालको स्थितीमा पुगेपछि रेफ्री नविन्द्र महर्जनले दुबै टोलीका खेलाडीलाई रातो कार्ड देखाएका थिए ।
नेपालका पुजन उपरकोटी मोरिससका एन्ड्रिएन बोट्लरले रातो बेहोरेपछि दुवै टोली १० खेलाडीमा सिमित भएको थियो ।
त्यसपछि पुनः खेलको ७९ औं मिनेटमा मोरिससका डिफेन्डर इमानुयल फुनचुन्डले दोहोर पहेँलो कार्ड पाउँदै मैदान छोडेपछि मोरिसस ९ खेलाडीमा सिमित भएको थियो ।
निर्धारित समयको अन्त्यतिर मैदानमा फ्लडलाइट पूर्ण क्षमतामा नबलेपछि खेल १० मिनेट रोकिएको थियो ।
जितसँगै नेपालले घरेलु मैदानमा आयोजित दुई मैत्रिपूर्ण खेलमा सत प्रतिशत जित निकालेको छ । पहिलो खेलमा नेपालले १–० गोलको नतिजामा जित निकालेको थियो ।
आजको खेलमा न्युरोड टीम (एनआरटी) बाट ‘ए’ डिभिजन लिग खेलीरहेका नविन गुरुङले राष्ट्रय टालीमा डेव्यु गरेका छन् । यस्तै, एनआरटीकै मिडफिल्डर एरिक विष्टले टोलीमा पुनरागमन गरेका छन् ।
तस्बिरहरु : उमेश कार्की