अर्थ मन्त्रालयका सहसचिव रामेश्वर दंगाल सचिवमा बढुवा


काठमाडौं । रिक्त रहेको राजपत्रांकित विशिष्ट श्रेणीको एक सचिवमा अर्थ मन्त्रालयका सहसचिव रामेश्वर दंगाल बढुवा भएका छन् । सोमबार बसेको नियमित मन्त्रीपरिषद् बैठकले बरिष्ठ सहसचिव दंगाललाई सचिवमा बढुवा गर्ने निर्णय गरेकाे शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले नेपाल प्रेसलाई जानकारी दिए ।
उनले नेपाल प्रेससँग भने, ‘कतिपय मन्त्रीले तेस्रो नम्बरका सहसचिवलाई नै सेवा अवधी कम छ भनेर बढुवा गरौ भनेर प्रस्ताव पनि गर्नुभएको थियो । तर, पछि दुई दिनले भए पनि जो सिनियर छ उसलाई नै गरौ भन्ने निर्णय भयो । एक नम्बरमा जो सहसचिव सिफारिस हुनुभएको थियो उहाँलाई गरियो ।’
लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा आइतबार बसेको सचिव बढुवा सिफारिस समितिको बैठकले एक सचिव बढुवाका लागि तीन सहसचिवको नाम सिफारिस गरेको थियो । जसमा पहिलो, दोस्रो र तेस्रो नम्बरमा क्रमश सहसचिव दंगाल, मुकुन्दप्रसाद निरौला र विनोदप्रकाश सिंहको नाम सिफारिस गरेको हो ।
दंगाल यस पटक गरेर चौथो पटक सचिवमा बढुवाका लागि सिफारिस भइसकेका छन् । दोस्रो नम्बरमा सिफारिस भएका निरौला तेस्रोपटक र सिंह भने पहिलोपटक सिफारिस भएका हुन् ।
सहसचिव दंगाल अर्थमन्त्रालयको राजश्व व्यवस्थापन महाशाखा प्रमुखको जिम्मेवारीमा छन् । निरौला गृह मन्त्रालयको सुरक्षा तथा समन्वय महाशाखा प्रमुख र सिंह सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सञ्चार महाशाखा प्रमुख छन् । सम्भवतस् सोमबारको मन्त्रिपरिषद्ले बढुवासम्बन्धी निर्णय गर्नेछ ।
अधिकांश सहसचिव तेस्रोपटक सचिवमा बढुवाका लागि सिफारिस भइसकेपछि सचिवमा बढुवा हुने गरेकोमा दंगाल भने भएनन् । यसअघि तेस्रो पटक पहिलो नम्बरमा दंगालको नाम सिफारिस भएको थियो । तत्कालीन सहसचिव शंकरप्रसाद खरेल सहसचिवबाटै अनिवार्य अवकाशमा जाने भएपछि उनलाई यसअघि सचिवमा बढुवा गरेपछि दंगाल रोकिएका थिए । यसको चौतर्फी बिरोध भएको थियो ।