गठबन्धनका संयोजक भन्छन्- एमसीसी पारित गर्न सबै पोजेटिभ छौं – Nepal Press

गठबन्धनका संयोजक भन्छन्- एमसीसी पारित गर्न सबै पोजेटिभ छौं

काठमाडौं । सत्तारुढ ५ दलीय गठबन्धनका संयोजक एवं नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमसीसी पारित गर्ने विषयमा गठबन्धनका सबै दल ‘पोजेटिभ’ रहेको बताएका छन् ।

गठबन्धनका शीर्ष नेताबीच एमसीसी पारित गर्ने सहमति भएको सन्दर्भमा नेपाल प्रेससँग कुराकानी गर्दै नेता पौडेलले राष्ट्रिय महत्वका विषयमा गठबन्धनले साझा धारणा बनाउँदै जाने बताए । एमसीसीबारे सार्वजनिक भएका चासोहरुलाई सम्बोधन गर्नेगरी संसदबाट अनुमोदन गराइने पौडेलले बताए ।

गठबन्धनमा एमसीसीबारे कुनै विवाद नरहेको बताउँदै नेता पौडेलले बुझाइ फरक भए पनि विस्तारै ‘साझा धारणा’ बन्दै गएको बताए ।

‘गठबन्धन सरकारले राष्ट्रिय महत्वका धेरै विषयमा साझा धारणा बनाएको छ । त्यसमध्ये एमसीसी पनि एक हो’, पौडेलले भने । उनले एमसीसीबारे अलमलमा बस्नुभन्दा टुंगो लगाउनु उत्तम हुने कुरा आफूले गठबन्धनमा राखेको बताए । नेकपा माओवादी र नेकपा एकीकृत समाजवादीले एमसीसीबारे प्रष्ट कुरा गर्नुपर्ने भन्दै नेता पौडेलले अब संसदले निकास खोजनुपर्ने बताए ।

‘एमसीसी नचाहिने नै हो भने उहाँहरूले रिजेक्ट गर्छौं भन्नसक्नुपर्‍यो । होइन भने दोहोरो कुरा गरेर जनतालाई अलमलमा पार्नु हुँदैन । राष्ट्रघाती छ भने कहाँ छ देखाउनुपर्‍यो भनेर हामीले भनेका छौं । उहाँहरू पनि पोजेटिभ हुनुहुन्छ । केही दिन समय माग्नुभएको छ’, पौडेलले नेपाल प्रेससँग भने ।

पौडेलले एमसीसी अमेरिकी ईण्डोप्यासिफिक रणनीतिको अंग नभएको दाबी गर्दै वैदेशिक अनुदान लिने विषयमा विवाद गर्न नहुने बताए ।

‘निकास त देशलाई दिनुपर्‍यो । गठबन्धन अब निरीह बसिरहन सक्दैन । सबै विषयमा गठबन्धन क्लियर कट हुनुपर्छ’, पौडेलले भने । उनले मुलुक सधैँ ऋणमा नचल्ने भन्दै अनुदानमा प्राप्त सहयोग लिनु अन्यथा नहुने बताए ।

‘हामीले विकासका लागि अन्तर्राष्ट्रिय सहयोग त जुटाउनै पर्छ नि । अमेरिकामात्रै होइन भारत, चीन, जापान, बेलायत जसले दिए पनि विकासका लागि सहयोग त लिनुपर्‍यो नि’ पौडेलले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर