अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्र निर्माणको ढिलाईप्रति उद्योगीको चासो


रुपन्देही । बुटवलमा निर्माण भैरहेको अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्र निर्माणको काममा भएको ढिलाईप्रति उद्योगी व्ययवसायीहरुले चासो व्यक्त गरेका छन् ।
बुटवल उपमहानगरपालिका १० मा निर्माण भइरहेको अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्र निर्माणको कामलाई तीव्रता दिन पनि व्ययवसायीहरुले आग्रह गरेका छन् ।
बुटवल उपमहानगरपालिका–१०, रामनगरस्थित बुटवल मण्डपमा अन्तर्राष्ट्रिय स्तरको उच्च प्रविधियुक्त प्रदर्शनी केन्द्र निर्माणमा ढिलाई भइरहेको भन्दै रुपन्देही उद्योग संघको टोलीले अवलोकन गर्दै तत्काल तीव्र गतिमा काम अगाडि बढाउन आग्रह गरेको हो ।
संघका अध्यक्ष माधवप्रसाद पौडेलले प्रदर्शनी केन्द्रमा उद्योगीहरुले आशा गरेजस्तो काम नभएको र अहिलेकै गतिमा अगाडि बढे समयमा नसकिने बताए ।
प्रदर्शनी केन्द बनेपछि यस क्षेत्रको आर्थिक तथा औद्योगिक विकासमा निकै ठूलो परिर्वतन आउने आशा गरिएको उनले बताए । उनले निर्माणकार्य चाँडो सक्न पनि आग्रह गरेका छन् ।
उद्योगी दिनेशराज रेग्मीले प्रदर्शनीस्थलको अवलोकन गर्दा निराश बनाएको उल्लेख गर्दै तोकिएको समयमा काम सक्ने गरी सम्बन्धित निकायले ध्यान दिनुपर्ने बताए ।
उद्योगी बाबुराम बोहोराले प्रदर्शनी केन्द्र यस क्षेत्रकै गहना भएकाले त्यसको रेखदेख र खबरदारी गर्ने जिम्मेवारी सबैको भएको हुदा कामको गति बढाउने गरि दवाव सिर्जना गर्नुपर्ने बताए ।
एक अर्ब दुई करोडको लागतमा निर्माण हुने बुटवल प्रदर्शनी केन्द्रको पूर्व अर्थमन्त्री तथा रुपन्देहीका सांसद विष्णु पौडेलले २०७६ जेठ २३ गते सोमबार शिलान्यास गरेका थिए ।
२७ महिनामा निर्माण सम्पन्न गर्ने गरी थालिएको केन्द्रको काम हाल ३७ प्रतिशत मात्र भएको जनाइएको छ ।
नेपाल सरकारको सहरी विकास मन्त्रालय, सहरी विकास र भवन निर्माण विभाग अन्तर्गत प्रदर्शनी केन्द्र निर्माण कार्यान्वयन इकाइले ग्लोबल टेन्डर आह्वान गरेर क्यापासिट इन्फ्रा प्रोजेक्ट्स–गौरी पार्वती जेभी कम्पनीले ठेक्का लिएको थियो ।
बुटवल मण्डपमा १० विघामा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र र ६ बिघा क्षेत्रमा व्यवस्थित प्रदर्शनी केन्द्र बनाउने योजना अनुसार काम भइरहेको छ ।
प्रदर्शनी केन्द्र मुलुककै ठूलो र आकर्षक हुने दाबी गरिएको छ । प्रदर्शनी केन्द्रमै हरियालीसहितका चिल्डेन पार्क, आधुनिक बैठक कक्ष, व्यवस्थित पार्किङ क्षेत्रसहित हरियालीयुक्त वातावरणका पभेलियनहरु तयार पारिने बताइएको छ ।
प्रदर्शनीका लागि ट्रस्ट सिस्टमको ठूलो हलमा १२ हजार स्क्वायर मिटरमा प्रदर्शनी गर्न मिल्ने गरी मूल स्थलको डिजाइन गरिएको छ । जसमा ८ सय वटासम्म स्टलहरु राख्न मिल्ने गरि ३ वटा ब्लकको काम भएको छ ।