तयार भयो भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल, परीक्षण उडानको तयारी – Nepal Press

तयार भयो भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल, परीक्षण उडानको तयारी

बुद्धजयन्तीदेखि अन्तर्राष्ट्रिय उडान भर्ने

रुपन्देही । भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम पूरा भएको छ । अब यहाँ छिट्टै परीक्षण उडानको समेत तयारी भइरहेको छ । विमानस्थलमा परीक्षण उडान पूर्वतयारीका लागि थाइल्यान्डको प्राविधिक टोली आएको छ ।

निर्माणको अधिकांश काम सकिए पनि परीक्षण उडानका लागि प्राविधिक टोली नआउँदा ढिलाइ भएको थियो । आयोजनाको मौसम, सञ्चार र विमानको दिशा पत्ता लगाउने संयन्त्र निर्माण कार्य ‘आईसीबी टू’ को ठेक्का लिएको थाइल्यान्डको एरो थाई कम्पनीका चारजनाको प्राविधिक टोलीले विमानस्थलमा जडित विभिन्न उपकरणको जाँच गरी परीक्षण गरेपछि उडान सुनिश्चित हुने अपेक्षा गरिएको छ ।

आयोजनाको आईसीबी टूका व्यवस्थापक तथा राष्ट्रिय गौरव आयोजनाका उपनिर्देशक प्रविन न्यौपानेले यो टोलीले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको परीक्षण उडान सम्पन्न गरेर फर्किने जानकारी दिएका छन् । उनका अनुसार यो टोलीले काम थालेको केही दिनपछि अमेरिकी प्राविधिक टोली र परीक्षण उडानका लागि अन्तिममा अस्ट्रियन टोली आउनेछ ।

यहाँ आएको थाई प्राविधिक टोलीसँग मंगलबार नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक लगायतको टोलीले काठमाडौंमा छलफल गरेको थियो । टोलीले बिहीबारदेखि नै काम थालेको हो । परीक्षण उडानका लागि धावनमार्ग जाँच र विमानस्थल सञ्चालन गर्न नेपाली टोलीलाई तालिम पनि यही टोलीले दिनेछ ।

विमानस्थललाई स्थायी रूपमा सञ्चालन गर्न नेपाली इन्जिनियरसहितको प्राविधिक टोलीलाई गत माघ २ गतेदेखि भैरहवामा दुईमहिने तालिम दिन सुरु भइसकेको छ । विमानस्थलमा प्राधिकरणबाट ३४ कर्मचारी परिचालन भएका छन् । अब थप १ सय ५१ जनाको दरबन्दी पूर्ति गर्नुपर्ने अवस्था छ ।

विमानस्थल आयोजना प्रमुख प्रवेश अधिकारीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उडानका लागि तयार भएको बताए । फिनिसिङका छिटफुट काम भइरहेको र केही समयमै उडान सुचारु हुने अपेक्षा राखिएको अधिकारीको भनाइ छ । २०७९ जेठ २ गते बुद्ध जयन्तीका दिन अन्तर्राष्ट्रिय उडान गर्ने तयारीका साथ काम भइरहेको छ । क्यालिब्रेसन उडानको अन्तिम तयारी भइरहेको अधिकारीले बताए ।

माघ १२ देखि सुरु अभियानअन्तर्गत फागुन १० मा क्यालिब्रेसन उडान गर्ने गृहकार्य भइरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका निमित्त डीजी प्रेमनाथ ठाकुरले जानकारी दिएका छन् ।

क्यालिब्रेसन उडान योजनाअन्तर्गत विमानस्थलमा जडान गरिएका सञ्चार उपकरणको जाँच, क्यालिब्रेसन उडान सुरु गर्ने, उडान भरेको विमानको दूरी जाँच, उडान भरेको विमानले प्रयोग गर्ने रुटको जाँच, उडान भर्दा र अवतरण गर्दा धावनमार्गमा जडान गरिएको लाइटिङलगायत परीक्षण हुनेछ ।

यसैगरी विमान कम्पनी, भन्सार, प्रहरी, अध्यागमनलगायतलाई विमानस्थलमा अपरेसनको टार्गेट मितिबारे जानकारी गराउने, ग्राउन्ड ह्यान्डेलिङ, फुड क्याटिरिङ, कार्गो एजेन्सीलगायतलाई आवश्यक तयारीका लागि निर्देशन दिने, क्यानलगायतबाट मानव संंशाधनको परिचालन गर्ने बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *