‘प्रांक’ गर्नेलाइ गृहको चेतावनीपछि कलाकार खुशी, कसले के लेखे ? – Nepal Press

‘प्रांक’ गर्नेलाइ गृहको चेतावनीपछि कलाकार खुशी, कसले के लेखे ?

काठमाडौं । गृह मन्त्रालयले बिहीबार बेलुका विज्ञप्ति जारी गर्दै ‘व्यक्तिको अनुमतिबिना कुनै पनि प्रकारको तस्बिर र भिडिओ लिन र सामाजिक संजालमा प्रकाशन प्रसारण गर्न नपाइने’ निर्णय सुनायो ।

सार्वजनिक स्थानमा मजाक, ख्यालठट्टा वा मस्करीको नाममा सर्वसाधारण व्यक्तिलाई शारीरिक र मानसिकरुपमा सास्ती दिने, हैरानी पार्ने र दिक्दार लगाउनेजस्ता क्रियाकलापबारे गुनासो आएको सरकारको भनाई थियो ।

सरकारको यो निर्णय आएलगत्तै सामाजिक संजालमा मिश्रित प्रतिक्रिया प्राप्त भएको छ । कतिपयले अभिव्यक्ति स्वतन्त्रतामा बन्देज लगाएको गुनासो गरेका छन् भने कतिपयले स्वागतयोग्य भनेका छन् ।

नेपाली कलाकार र सेलेव्रिटीले भने सरकारको निर्णयलाई स्वागतयोग्य भनेका छन् । गृह मन्त्रालयको विज्ञप्तिलाई सामाजिक संजालमार्फत सेयर गर्दै उनीहरुले स्वागतयोग्य र जनहितमा जारी भनेका छन् ।

अभिनेत्री रेखा थापाले विज्ञप्ति जारी गर्दै स्वागतयोग्य भनेकी छिन् । वर्षा शिवाकोटी, केकी अधिकारी, मनोज गजुरेल, राज कट्वाल, निर्देशक शोभित बस्नेत लगायतले जनहितमा जारी भन्दै सेयर गरेका छन् । गजुरेलले ब्लग लेख्दै स्थानीय चुनाव र निर्वाचन आयोगलाई व्यंग्य समेत गरेका छन् ।

निर्देशक बस्नेतले प्रकाश सुवेदीले संचालन गर्ने टेलिभिजन कार्यक्रम रजतपटलाई लक्षित गर्दै गृह मन्त्रालयको विज्ञप्ति सेयर गर्दै ‘अब अंकललाई गाह्रो पर्ने भयो’ भनेर टिप्पणी गरेका छन् ।

आखिर कलाकारले गृह मन्त्रालयको निर्णयलाई स्वागतयोग्य भन्नुपर्ने अवस्था किन आयो ? कलाकारले गृहको विज्ञप्तिलाई स्वागतयोग्य भन्नुको पछाडि युट्युवरप्रति उनीहरुको असन्तुष्टिको रुपमा बुझ्न सकिन्छ ।

युट्युवरप्रति कलाकारको वितृष्णा र उनीहरुले खेपेको हैरानी नयाँ कुरा हैन । जुन जुन कलाकारले जनहितमा जारी भन्दै गृहको विज्ञप्ति सेयर गरेका छन् धेरैपटक युट्युवरसँग उनीहरुको लफडा देखिनेगरि भएको छ ।

हालैमात्र, प्रकाश सुवेदीको टिभी कार्यक्रमप्रति असन्तुष्टि जनाउँदै शोभित बस्नेत र उनका भाई पर्ने अभिनेता जयकिसनले आक्रोश जनाएका थिए । अभिनेत्री वर्षा शिवाकोटीले त पे्रस काउन्सिलमै ध्यानाकर्षण पत्र बुझाएकी थिइन् ।

वैवाहिक सम्बन्ध र निजी जीवनलाई लिएर युट्युवर आफूविरुद्ध खनिएपनि अभिनेता गजुरेल पहिल्यैदेखि क्रुद्ध थिए । यतिसम्मकी दोस्रो बिहे गरेको घोषणा गर्दा पनि गजुरेलले आफ्नो निजी जीवनलाई सम्मान गर्न आग्रह गरेका थिए ।

यी त भए सेलेव्रिटीका असन्तुष्टिको कुरा । युट्युवमा खुलेका प्रशस्तै प्रयांक च्यानलमा पनि बेला बखतमा यस्ता समस्या पनि आइरहेका थिए जसलाई लिएर प्रहरीकहाँ उजुरी पनि पर्ने गथ्र्यो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *