युक्रेनलाई नेटो सदस्य बन्नबाट रोक्नुपर्ने रुसी मागलाई अमेरिकाद्वारा अस्वीकार – Nepal Press

युक्रेनलाई नेटो सदस्य बन्नबाट रोक्नुपर्ने रुसी मागलाई अमेरिकाद्वारा अस्वीकार

काठमाडौं । अमेरिकाले युक्रेनलाई नेटो सदस्य बन्न रोक लगाउनुपर्ने रुसी मागलाई अस्वीकार गरेको छ । रूसले युक्रेनमाथि हमला गर्नसक्ने चिन्ताबीच अमेरिकाको यस्तो भनाइ आएको हो ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले युक्रेन सङ्कट समाधानका लागि रूसले अघि सारेका मागको औपचारिक रूपमा जवाफ दिँदै अमेरिकी अडान प्रस्तुत गरेका हुन् । वाशिङ्टनले आफ्नो मूलभूत सिद्धान्तमा कुनै छुट नदिने उनले बताए ।

ब्लिङ्कनले सङ्कट समाधानका लागि ‘गम्भीर कूटनीतिक बाटो अगाडि बढाउने’ प्रस्ताव राख्दै रूसले त्यसैलाई रोज्नुपर्नेमा जोड दिएका छन् । यसैबीच रूसी एक मन्त्रीले नेटोसँगको समन्वयमा आएको ब्लिङ्कनको प्रतिक्रियाको आफ्नो देशले अध्ययन गर्ने बताएका छन् ।

यसअघि रुसले पनि नेटो सैन्य गठबन्धनको बिस्तार र सम्बन्धित सुरक्षा मामिलाबारे आफ्ना चिन्ताका विषयमा लिखित सूची जारी गरेको थियो । त्यसमध्ये युक्रेन र अरूलाई गठबन्धनमा सामेल हुने सम्भावनालाई अस्वीकार गर्न रूसले नेटोसँग माग गरेको थियो ।

ब्लिङ्कनले भने, “कूटनीतिको कुरा गर्दा हाम्रो उद्देश्यको गम्भीरतामा कुनै शङ्का हुनु हुँदैन र हामी युक्रेनको प्रतिरक्षालाई बलियो बनाउन तथा थप रुसी आक्रामकताका लागि संयुक्त प्रतिउत्तर तयार गर्न समान ध्यान र बलका साथ काम गरिरहेका छौँ ।”

उनले युक्रेन मामिलालाई लिएर अमेरिका र उसका साझेदारबीच कुनै मत भिन्नता नभएको पनि बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर