पोखरीमाथि वडा कार्यालय सञ्चालन


रुपन्देही । भौतिक निर्माणले सुबिधा सम्पन्न बन्दै गएको रुपन्देहीको तिलोत्तमा नगरपालिकाको वडा नम्बर ११ ले पनि आफ्नै भवनबाट सेवा सुरु गरेको छ ।
तिलोत्तमा नगरपालिका वडा नम्बर ११ स्थित मद्रहानीमा रहेको ऐतिहासिक पोखरीमाथि नवनिर्मित भवनबाट वडा कार्यालयले सेवा सुरु गरेको हो ।
बुद्धकालीन मानिएको उक्त पोखरी अतिक्रमणका कारण मासिँदै जान थालेपछि नगरपालिकाले पोखरीको संरक्षण तथा पर्यटकीय वडा कार्यालय बनाउने उद्देश्यले पोखरीमाथि भवन निर्माण गरेको हो ।
उक्त भवनको नगरपालिकाका प्रमुख बासुदेव घिमिरे र उपप्रमुख जगेश्वरदेवी चौधरीले हालै उद्घाटन गरेका थिए । चारैतिर व्यबस्थित पोखरी, पोखरीमा खेलिरहेका माछा र बोटिङकोसमेत रमणीय दृश्य अवलोकन गर्दै वडा कार्यालयबाट सेवा लिन सकिने गरी भवन निर्माण गरिएको हो ।
वडावासीको सहजताका लागि सेवा प्रवाहलाई छिटो छरितो गराउन आफ्नै भवनमा सेवा सुचारु भइरहेको वडाअध्यक्ष मुक्तिनारायण चौधरीले बताए ।
घुमाउरो शैलीमा निर्माण गरिएको यो भवन तिलोत्तमाको नै पहिलो वडा भवन हो । चारैतिर पोखरीलाई पर्खाल लगाई सुब्यवस्थित पर्यटकीय हिसाबले पनि रमणीय बनाइएको वडाअध्यक्ष चौधरीले बताए ।
चौधरीले आफु वडाअध्यक्ष भएर वडाको नेतृत्व गरिरहँदा निर्वाचनमा गरिएका प्रतिवद्धता र वाचा अनुरुप अधिकांश कामहरु पुरा गरेको दावी गरेका छन् । तर केही वातावरणका क्षेत्रमा काम गर्नेहरुले भने प्राचीन बुद्धकालीन सम्पदाको संरक्षण नगरी भौतिक बिस्तार गरेको आरोप लगाएका छन् ।
वातावरण पत्रकार समाजका पत्रकार माधव नेपालले नगरपालिकाले प्राचीन सम्पदा मासेर गलत काम गरेको आरोप लगाएका छन् । उनले भनेका छन्, ‘सम्पदा मासेर विकास हुन्छ भन्ने सोंच हो भने भन्नु केही छैन । परापूर्वकालमा यो ठाउँमा कसले र के प्रयोजनका लागि अनि कसरी पोखरी बनायो होला भनेर एकपटक सोच्ने प्रयास गर्नुपथ्र्यो । पुरातत्व विभागले पोखरीमा कुनै संरचना नबनाउनु भनेर निर्देश गर्दा पनि काम रोकिएन ।’
नगर प्रमुख बासुदेव घिमिरेले अनियन्त्रित पोखरी, अव्यवस्थित पोखरीलाई व्यवस्थित बनाएर पर्यटकलाई समेत आकर्षण गर्नेगरी नयाँ योजनाका साथ सबैको सल्लाहमा काम अगाडि बढाएको बताए ।
‘राम्रो कामलाई विरोध गर्ने केही मान्छेहरु छन्, यसलाई मिडियाबाजी गरियो मुद्दामामिला पनि भयो पुरातत्व विभागले आएर हेरेको छ, पोखरी नियन्त्रण गरेर वडाकार्यालय बनाएका हौं यो यहाँको लागि नै हो’, उनले भने ।
उनले पोखरीमाथि निर्माण भएको नेपालको एकमात्रै सरकारी कार्यालय आफ्नो वडा कार्यालय भएको बताए । पोखरी व्यवस्थित गरि बनाइएको भन्दै उनले भने, ‘त्यहाँ माछा छोडिएको, बोटिङ्ग सेवा संचालन गर्नुका साथै रात्रीकालीन समयमा समेत आकर्षक बत्ती हरुले मनमोहक बनाएको छ । यो नमुना योजना हो ।’