राष्ट्रियसभा निर्वाचन: गठबन्धनको भोट पनि एमालेलाई, गण्डकीमा धेरै क्रस ! – Nepal Press

राष्ट्रियसभा निर्वाचन: गठबन्धनको भोट पनि एमालेलाई, गण्डकीमा धेरै क्रस !

प्रदेश १ मा दुवै पक्ष भित्र चर्काे अन्तर्घात, गुरु बराललाई एमालेले नै हराए

कैलाली । गण्डकी प्रदेशमा एमालेका २७ जना प्रदेशसभा सदस्य छन् । ५९ जना प्रदेशसभा सदस्यमध्ये एमाले बाहेकका कांग्रेसमा १५ जना,माओवादी केन्द्रमा १२ जना जनमोर्चा र जसपामा २/२ जना तथा स्वतन्त्र रूपमा एक जना छन् ।

बुधवार सम्पन्न राष्ट्रियसभा निर्वाचनमा प्रदेशसभातर्फ एमालेका उम्मेदवारलाई २७ जनाले मतदान गर्ने र गठबन्धनका उम्मेदवारलाई ३२ जनाले मतदान गर्ने आँकलन गरिएको थियो ।

तर, महिलातर्फ एमालेकी लीला पोखरेल थनेतले २९ जनाको मत पाइन् । उनलाई गठबन्धन भित्रैका अन्य दलका दुई जना प्रदेशसभा सदस्यले मत दिए ।

गठबन्धनमा कसिलो गरी मतदान गर्न निर्देशन दिएपछि पनि दुई जना प्रदेश सभा सदस्यहरूले फ्लोर क्रस गरे । प्रदेशसभा सदस्यले मात्रै होइन यहाँ स्थानीय तहका जनप्रतिनिधिहरुले पनि पार्टीको निर्देशन भन्दा बाहिर गएर मतदान गरेका छन् ।

स्थानीय तहका १७० मतदाताहरु मध्ये एमालेका ७१ मतदाता हुन् । तर महिला तर्फकी उम्मेदवारले स्थानीय तहमा पनि तीन जनप्रतिनिधिको मत बढी पाइन् । यहाँ उनलाई गठबन्धनका उम्मेदवारहरूले मत दिएका हुन् ।

महिला तर्फ मात्रै होइन एमालेबाट उम्मेदवार बनेका पुण्यप्रसाद पौडेललाई पनि गठबन्धनको तर्फबाट थप एक मत आएको छ । उनले प्रदेशसभाका २८ जनाको मत पाए । स्थानीय तहमा भने उनलाई गठबन्धनको थप ४ जनाले मतदान गरे ।

गण्डकीमा एमालेको जम्मा मतभार २५५६ थियो । तर लिला पोखरेल थनैतले २७२४ मत पाइन् भने पुन्य पौडेलले २६९० र अर्जुन कुमार सुनामले २७२४ मत पाए । यहाँ एमालेले उल्लेख्य मत बृद्धि गरेको देखिन्छ ।

गठबन्धनमै रहेर पनि एमालेका उम्मेदवारहरूलाई दिएको मतले एमाले नेताहरू हौसिएका छन् । यसले गठबन्धन भित्रैका दलहरू गठबन्धन प्रति सन्तुष्ट नरहेको बुझाइ स्पष्ट भएको एमाले केन्द्रीय सचिव तथा गण्डकी प्रदेश इन्चार्ज पद्मा अर्यालको बुझाइ छ ।

‘गठबन्धन प्रति जनप्रतिनिधिहरुको पनि चित्त नबुझेको प्रमाण हो यो’ उनले भनिन् ‘यो कुराले एमाले प्रति जनप्रतिनिधिको विश्वास पनि बढेको देखिएको छ ।’

गण्डकीमा मात्रै होइन अन्य प्रदेशमा पनि गठबन्धनमा रहेको दलका प्रदेश सभा सदस्यहरूले एमालेलाई मत दिएको पाइएको छ ।

बागमती प्रदेशमा प्रदेश सभा तर्फ गठबन्धनका उम्मेदवारले ५९ मत पाउनुपर्ने हो । तर, गठबन्धनका दुवै उम्मेदवारले ५६ मत मात्रै ल्याए । गठबन्धनकै ३ जनाले एमालेलाई भोट दिएको पुष्टी भएको छ ।

यहाँ एमालेका ४३ जना, माओवादीका २३ जना, कांग्रेसका २२ जना, एकीकृत समाजवादीका १३, विवेकशील साझा पार्टीका ३ जना, नेमकिपाका २ राप्रपा २ जनता समाजवादी १ जना सांसद छन् ।

नेमकिपाले आफ्नै उम्मेदवारलाई मत दिएका थिए भने विवेकशील साझा पार्टी मतदानमा सहभागी भएन ।

एमालेका तर्फबाट उम्मेदवार बनेका अन्यतर्फ गोपाल शाक्य र महिलातर्फ निरकुमारी दर्लामी कुँवरले एमालेको ४३ र राप्रपाका २ गरी ४५ मतको अपेक्षा गरिएको थियो । तर, दुवै उम्मेदवारले त्यो भन्दा तीन मत बढी पाए तर एक मत भने बदर भयो ।

गठबन्धनकै तीन जना प्रदेश सभा सदस्यले एमालेलाई मत दिएको एमाले प्रमुख सचेतक तथा काठमाडौँ जिल्ला अध्यक्ष दीपक निरौलाले बताए ।

‘गठबन्धनकै दल भित्रबाट हामीलाई मत आएको छ । यसले पनि एमाले प्रति प्रतिनिधि कति विश्वस्त छन् भन्ने पुष्टि गर्छ’ उनी भन्छन्, ‘गठबन्धन प्रति गठबन्धनमै रहेको नेताहरूलाई विश्वास छैन । ’

यता सुदूरपश्चिम प्रदेशमा पनि गठबन्धनको एक मत एमालेका उम्मेदवारले पाएका छन् ।

५२ जना प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा एकीकृत समाजवादी पार्टीका १४ जना, माओवादी केन्द्रका १३ जना नेपाली कांग्रेसका १२ जना एमालेका सभामुख सहित ११ जना जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका एक एक जना सांसद छन् ।

गठबन्धनमा नेकपा एस, माओवादी कांग्रेस र जसपा मिल्दा ४० जना हुन आउँछ । तर गठबन्धनका कुनै पनि उम्मेदवारलाई ४० जनाले मत दिएको देखिएन । यता एमाले तर्फ दुई जनालाई १२ जना र एक जनालाई १३ जनाले मतदान गरेका छन् ।

११ जना आफ्नै एमालेका सांसद र अर्काे मत मधेस प्रदेशमा भएको गठबन्धन आधारमा लोसपाले दिएको अनुमान गरिएको छ ।

तर, ‘अन्य’ तर्फ डिल्लीराज भट्टले पाएको अर्काे मत कसको हो भन्नेबारे गठबन्धनमा कौतूहल सृजना भएको छ ।

गठबन्धनमा रहेका दलहरूबाट एमालेमा मत गएपछि अहिले गठनवन्धनभित्र यस विषयमा छानबिन हुनु पर्ने आवाज उठिरहेको छ । नेपाली काँग्रेसले यस विषयमा छानबिन हुने समेत जनाएको छ ।

प्रदेश १- दुवै पक्षमा अन्तर्घात

एमाले सांसद गुलेफुन खातुनलाई अदालतले कैद सजाय सुनाएपछि उनी फरार छिन्। खातुन नआएकाले एमालेको प्रदेशसभाका ४० सांसदले मात्रै राष्ट्रियसभा निर्वाचनमा मत हाले।

५० सांसदसहितको सत्ता गठबन्धनमा र दुवै पक्षमा नरहेको राप्रपाबाट प्रदेश १ मा एक जना सांसद छन्। गुरु बराललाई एमालेभित्रबाट अन्तर्घात भएको छ।

बरालको परिणाम हेर्दा ३८ जनाले मात्रै मत दिए। दुई सांसदले अन्तर्घात गर्दा बराल गोला प्रथामा पुग्नु पर्‍याे। र पराजित हुनु पर्‍यो ।

एमाले नेता बरालले उम्मेदवारी दिएको पदमा राप्रपाका उम्मेदवार अमरबहादुर विष्टले पनि उम्मेदवारी दिएका थिए । प्रदेश १ मा राप्रपाका एक मात्रै सांसद छन्। तर थापालाई २ जना प्रदेश सांसदले मत दिए।

एमालेका उम्मेदवार बरालकहाँ ४० सांसद मध्ये ३८ सांसदको मात्रै मत आउनु र राप्रपाका उम्मेदवारको मत बढी देखिनुले बराललाई एमालेबाटै अन्तर्घात भएको चर्चा सुरु भएको छ ।

एमालेबाटै महिलातर्फ उम्मेदवार बनेकी सुमित्रा भण्डारीलाई पनि अन्तर्घात भएको छ । भण्डारीले पनि पार्टीका तर्फबाट ४० सांसदको मत पाउनुपर्नेमा ३८ को मात्रै मत पाइन्।

उता गठबन्धनमा पनि स्थानीय जनप्रतिनिधि र सांसदहरूबाट अन्तर्घात भएको छ। ।

अल्पसङ्ख्यक तथा अपांगता कोटामा गठबन्धनका हेमराज राईलाई ५० मध्ये ४९ मात्रै सांसदले मत दिए। अर्कातिर स्थानीय तहका १२ जनाले पनि उनलाई मत दिएनन् । उनले १२५ जनाको मत पाउनुपर्नेमा ११३ ले मात्रै मत हाले। र, यसकाे फाइदा एमालेका साेनाम ग्याल्जेन शेर्पालाई भयाे । साेनामकाे जितले राष्ट्रियसभामा एमाले पहिलाे दलकाे रुपमा कायमै रहन सक्याे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर