इन्सपेक्टर हुने बेला अचानक राजीनामा दिएका थिए पूर्वकप्तान हरि खड्काले – Nepal Press
नक्कली प्रमाणपत्र प्रकरण

इन्सपेक्टर हुने बेला अचानक राजीनामा दिएका थिए पूर्वकप्तान हरि खड्काले

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी सहायक निरिक्षक(असई)को जागिर खाँदा नक्कली शैक्षिक प्रमाण पत्र पेश गरेको आरोपमा बुधबार राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तानसमेत रहेका हरि खड्काविरुद् मुद्धा दर्ता गरेको छ।

अख्तियारका अनुसार २०५५ सालमा खुला प्रतिस्पर्धाबाट असईमा छानिँदा खड्काले आईएको नक्कली प्रमाणपत्र पेश गरेको आरोप लगाएको छ। २०५३ सालमा जवानबाट नेपाल प्रहरीमा सेवा सुरु गरेका झापाका खड्काले त्यसको दुई वर्षपछि खुला प्रतिस्पर्धाबाट असईमा नाम निकालेका थिए। त्यसको चार वर्षपछि उनी नायब निरिक्षक(सईमा बढुवा भएका थिए।

तर, इन्सपेक्टरमा बढुवा हुने पूर्वसन्ध्यामा खड्काले २०७२ सालमा सेवाबाट राजीनामा दिएपछि धेरैलाई आश्चर्य बनाएको थियो। सईमा बढुवा भएको १३ वर्षपछि उनले प्रहरी सेवा छाडेका थिए।

प्रहरी सेवा प्रवेश गरेको १९ वर्षमा उनले सेवा छाडेका हुन्। सेवा निवृत्त भएको एक वर्षमा उनले सेवा छाडेका थिए जबकि उनले चाहेका थिए भने थप ११ वर्ष नेपाल प्रहरीमा सेवा गर्न सक्थे । र, सिनियर अधिकृत(कम्तिमा इन्सपेक्टर) बनेर अवकाश पाउने थिए।

तर, नक्कली प्रमाणपत्रका विषयमा गाईगुईं चलेपछि खड्काले एकाएक राजीनामा दिएको बताइन्छ। सेवा छाडेर नेकपा एमाले निकट देखिएका खड्का केपी शर्मा ओली पछिल्लोपटक प्रधानमन्त्री बनेका बेला राष्ट्रिय खेलकुद परिषद्(राखेप)को सदस्य नियुक्त भएका थिए।

झापामा हुँदै फुटबल खेल्न थालेका खड्काले २०५२ सालमा न्युरोड टिम(एनआरटी)बाट ए डिभिजन लिग खेलेका थिए। त्यसको एक वर्षपछि उनलाई नेपाल प्रहरीले अनुवन्ध गरेको थियो। बलियो खेल पृष्ठभूमि भएका खड्कालाई सेवामा राख्न प्रहरीले न्युनतम लचकता अपनाएको बताइन्छ।

खड्का नेपाली राष्ट्रिय फुटबल टोलीबाट सर्वाधिक गोल गर्ने खेलाडीसमेत हुन्। उनीसहित निराजन रायमाझीले नेपालका लागि सिनियर टोलीबाट अन्तर्राष्ट्रिय फुटबलमा समान १३ गोल गरेका छन्। पछिल्लो समय खड्काको चर्चित नाइट क्लब किङ्स लाउन्जमा समेत लगानी रहेको बताइन्छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर