जनसंख्या वृद्धिदर घट्नु यसकारण स्वभाविक – Nepal Press

जनसंख्या वृद्धिदर घट्नु यसकारण स्वभाविक

काठमाडौं । देशको जनसंख्या वृद्धिदर यसपटक घटेको देखियो । नेपालको जनसंख्या सन् ७०/८० को दशकमा वृद्धि भएको थियो भन्ने थियो । तर, ०६८ मा वृद्धिदर एक दशमलव ३५ प्रतिशत रहेकोमा ०७८ मा आइपुग्दा शून्य दशमलव ९३ प्रतिशतमा झरेको छ ।

जनसंख्या वृद्धिददर घट्नु-बढ्नुमा भूगोल, स्रोत-साधनले पनि असर गर्छ । तर, यति वृद्धिदर नै आवश्यक वृद्धिदर हो भन्ने चाहिँ हुँदैन । यसपटक वृद्धिदर घट्नुमा प्रमुख कारण त बाहिर परिवार नै लिएर बसाइँ जाने, आयआर्जनका कारण परिवारका सदस्य भिन्नभिन्न ठाउँमा बस्ने, शिक्षा क्षेत्रमा लगानी, चासो बढ्नुले पनि हो । कुनै पनि मुलुक विकासको एक चरणमा लागेपछि जनसंख्या वृद्धिदर वा मृत्यदरको परिणाम यस्तो आउनु अपेक्षाकृत नै हो ।

नेपाल अहिले जुन खालको विकासको क्रममा छ, जुन खालको साक्षरताको स्थिति छ त्यसलाई हेर्दा स्वभाविक मान्न सकिन्छ । शिक्षा आर्जनमा नागरिकले जति ध्यान दिन्छ, करिअरप्रति जति चासो राख्छ, त्यति नै जनसंख्या वृद्धिदर घट्दै जाने कुरा हो ।

अर्को कुरा, जनसंख्या वृद्धिदर घट्नु भनेको सकारात्मक कुरा हो । सामान्य आयआर्जन भएको परिवारले दुईवटा मात्रै बच्चा जन्माउनुका फाइदा धेरै छन्, तर त्यसलाई शिक्षा, रोजगारी लगायतले पनि असर गर्छ । थोरै बच्चा हुँदा बच्चाले पनि राम्रो पालनपोषण र शिक्षा पाउने भयो, परिवारलाई पनि राहत हुने भयो । यसले सवल र सक्षम नागरिकको निर्माणमा पनि उत्तिकै टेवा दिन्छ ।

कतिपय विकसित मुलुकमा जनसंख्या वृद्धिदर कम हुँदै जाँदा अर्थतन्त्रमा त्यसको असर पनि देखिँदै गएको अवस्था छ । अथवा वृद्धिदर कम हुँदै गर्दा कालान्तरमा त्यसले निम्त्याउने क्षतिबारे पनि विश्लेषण भइरहेकै छन् । तर, हाम्रोजस्तो मुलुक वृद्धिदर कम हुँदा त्यस्ता समस्या झेल्नुपर्ने अवस्थामा पुगिसकेको छैन । शून्यदेखि १४ वर्ष उमेर समूहलाई हेर्दा पनि त्यसको साइज ठूलै छ । अबको १५ वर्षपछि त्यो मेनपावर बजारमा पुग्दा त्यसले फाइदै हुन्छ ।

तर, हाम्रो भूगोल, हामीसँग उपलब्ध स्रोतसाधन आँकलन गर्दा यति वृद्धिदर नै ठीक हो भनेर भन्न सकिँदैन । हामीसँग उपलब्ध स्रोतसाधनको सही तरीकाले उपयोग नै गर्न सकेका छैनौँ । हामीसँग भएका स्रोतहरुको उपयोग नहुनुमा जनसंख्या नभएर होइन, भएको जनसंख्याले नगरेर हो । जलस्रोतको धनी देश त हो, तर लेबर पावर होइन । अर्कै मुलुकबाट ल्याउनुपर्छ त्यस्ता मेनपावरलाई । जनसंख्या वृद्धिदर घट्नु उपयुक्त हो वा होइन भन्दा पनि हामीसँग भएको मेनपावर र स्रोतलाई उपयोग गर्न जान्यौँ वा जानेनौँ, प्रश्न यतातिर हो ।

अघिल्लो गणनाको तुलनामा यसपटक घट्नुमा चाहिँ लाखौँ मानिस परिवारसँग छुटिएर बसेका छन् । बच्चा पाउने योग्य युवाहरु सबै बाहिर छन् । त्यसले स्वभाविक असर गरिहाल्छ । तर, जुन तवरले वृद्धिदर घटेको छ, त्यसमा आश्चर्य मान्नुपर्ने अवस्था छैन । यो सामान्य नै हो । देशले अलिकति समृद्धितिर पाइला चाल्दै जाँदा, शिक्षाको महत्व अझैं विस्तारित हुँदै जाँदा स्पेसलाइजेसन बढ्दै जान्छ, त्यस्तो अवस्थामा वृद्धिदर घट्नु झनै स्वभाविक हुँदै जान्छ ।

(लुइँटेल समाजशास्त्री हुन्र । उनिसँगको कुराकानीमा आधारित)

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर