गरिमाको संयोग : गठबन्धनबाटै हारिन्, गठबन्धनबाटै जितिन् – Nepal Press

गरिमाको संयोग : गठबन्धनबाटै हारिन्, गठबन्धनबाटै जितिन्

प्रतिनिधिसभा सदस्य हारेको ४ वर्षपछि राष्ट्रियसभामा ईन्ट्री

कैलाली । ‘एउटा ढोका बन्द हुँदा अर्काे ढोका खुल्छ’ भनेझैँ भएको छ कैलालीकी मदनकुमारी शाह (गरिमा) लाई ।

चार वर्षअघि प्रतिनिधिसभाको निर्वाचनमा कैलाली क्षेत्र नम्बर १ मा वामगठबन्धनको उम्मेदवार बने पनि उनी पराजित भइन् । तत्कालीन राष्ट्रिय जनता पार्टीका उम्मेदवार रेशम चौधरीसँग उनी पराजित भएकी थिइन् । गठबन्धनको उम्मेदवार भएपनि गरिमा २० हजार बढी मतान्तरले पराजित भएकी थिइन् ।

गरिमाले १३ हजार ४ सय ६ मत ल्याउँदा चौधरीले ३४ हजार ३ सय ४१ मत ल्याएका थिए । डडेलधुरामा कांग्रेस सभापति शेरबहादुर देउवाले जितबाहेक सुदुरपश्चिममा वामगठबन्धनले गुमाएको गरिमाको क्षेत्र मात्रै थियो ।

निर्वाचन हारेको प्रतिनिधिसभाको कार्यकाल नसकिदै गरिमा राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका छन् । वामगठबन्धनको उम्मेदवार बन्दा पराजित भएकी गरिमा ५ दलीय गठबन्धनको उम्मेदवारका रूपमा भने विजयी भएकी छिन् ।

‘प्रतिनिधिसभाको निर्वाचनमा कैलाली १ मा म सफल हुन सकिन । अहिले जनप्रतिनिधिहरुले नै विश्वास गरेर मलाई राष्ट्रियसभामा विजयी गराउनुभएको छ’, गरिमाले नेपाल प्रेससँग भनिन् । लामो समय नेकपा एमालेको राजनीतिमा रहेकी उनी विभाजनपछि नेकपा एकीकृत समाजवादीमा क्रियाशील छिन् ।

नेकपा एससहित नेपाली कांग्रेस, नेकपा माओवादी, राष्ट्रिय जनमोर्चा र जसपाको साझा उम्मेदवारका रुपमा पूर्वपार्टी एमालेका उम्मेदवार सन्तोष थापालाई हराउँदै गरिमा विजयी भएकी हुन् । ‘मेरो पार्टीको मात्रै मतभारले जित्ने अवस्था थिएन । पार्टी र गठबन्धनको विश्वासले गर्दा सफल भएँ’, उनले भनिन् ।

सुदूरपश्चिममा नेकपा एस सबैभन्दा ठूलो दलका रुपमा रहेको छ । स्थानीय तहमा भने नेकपा एस कमजोर रहेको थियो । प्रतिनिधिसभाको निर्वाचनमा व्यहोरेको असफलता गरिमाका लागि अहिले सफलतामा परिणत भएको छ । ‘राजनीतिमा हार जित सामान्य विषय हो । हिजो हार्दा पनि निराश थिइन्, आज जित्दापनि हौसिएको छैन’, उनी भन्छिन् ।

संसदको उपल्लो सदनको सदस्यको जिम्मेवारीले आफूलाई अझ जिम्मेवार बनाएको छ । कैलाली १ का निर्वाचित प्रतिनिधिसभा सदस्य रेशम चौधरी हाल निलम्बनमा रहेकोले राष्ट्रियसभामै भएपनि गरिमामार्फत कैलाली १ ले प्रतिनिधित्व पाएको छ ।

अघिल्लो प्रतिनिधिसभामा राजपासँग हारेकी गरिमा २०६४ सालको संविधानसभा निर्वाचनमा माओवादी उम्मेदवार रुपा चौधरीसँग पराजित भएकी थिइन् । अहिले गठबन्धनको उम्मेदवारका रूपमा उभिएपछि गरिमालाई माओवादी नेतृ रुपा चौधरीले पनि पर्याप्त सहयोग गरिन् ।

विगतमा पराजित भएकै पार्टीे र व्यक्तिको सहयोगमा गरिमाको जित सम्भव भएको छ । गरिमा दोस्रो संविधानसभामा समानुपातिक तर्फबाट सांसद रहेकी थिइन् ।

गरिमाको राजनीतिक यात्रा विद्यार्थी जीवनदेखि नै सुरू भएको हो । अध्ययनका लागि भारतमा रहँदा उनी प्रगतिशील विद्यार्थी युनियमा सक्रिय रहेकी थिइन् । सो युनियनको महासचिव हुँदै अखिल भारत नेपाली स्ववियुको केन्द्रीय सदस्य, महासचिव र सल्लाहकारसम्म बनिन् ।

पार्टीको प्रवास कमिटीमा सक्रिय उनी २०५७ सालमा प्ररायु संघको केन्द्रीय सदस्य बनिन् । प्ररायु संघको उपाध्यक्षसम्म बनेकी उनी २०६५ सालमा एमालेको केन्द्रीय सदस्य र कैलाली जिल्ला इञ्चार्ज बनिन् ।

उनी सेती अञ्चलको सह- ईन्चार्जसमेत थिइन् । हाल उनी नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिव र सुदुरपश्चिम ईन्चार्जको जिम्मेवारीमा रहेकी छिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर