मधेस प्रदेशको जनसंख्या उच्च, वृद्धिदर लुम्बिनीमा धेरै – Nepal Press
राष्ट्रिय जनगणना-२०७८

मधेस प्रदेशको जनसंख्या उच्च, वृद्धिदर लुम्बिनीमा धेरै

रुपन्देही । २०७८ को जनगणनाको प्रारम्भिक नतिजाअनुसार नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ९२ हजार पुगेको तथ्यांक विभागले जनाएको छ । २०६८ को तुलनामा २७ लाख ९७ हजार ९७६ जनसंख्या वृद्धि भएको हो ।

केन्द्रीय तथ्यांक विभागले बुधबार सार्वजनिक गरेको जनसंख्याको प्रारम्भिक विवरणमा जनसंख्याको वृद्धिदर १० वर्षमा सबैभन्दा बढी लुम्बिनीमा १४ प्रतिशतले बढेको पाइएको छ ।

मधेस प्रदेशमा १३ प्रतिशतले बढेको छ भने सबैभन्दा कम वृद्धिदर गण्डकीमा छ ।

प्रदेशगतरूपमा मधेस प्रदेश सबैभन्दा बढी ६१ लाख २६ हजार २८८ र सबैभन्दा कम कर्णाली प्रदेशमा १६ लाख ९४ हजार ८८९ जनसंख्या छ । जुन समग्रको क्रमशः २०.९९ र ५.८१ प्रतिशत हो ।

विभागका अनुसार प्रदेश १ मा ४९ लाख ७२ हजार २१, वागमतीमा ६० लाख ८४ हजार ४२, गण्डकीमा २४ लाख ७९ हजार ७४५ र सुदूरपश्चिम प्रदेशमा २७ लाख ११ हजार २७० जनसंख्या छ ।

यस जनगणनामा पनि पुरुषको संख्या महिलाको तुलनामा कम छ । तथ्यांकका अनुसार महिलाको संख्या १ करोड ४९ लाख १ हजार १६९ र पुरुष १ करोड ४२ लाख ९१ हजार ३११ रहेको छ । जनसंख्याको वार्षिक वृद्धिदर ०.९३ रहेको विभागले जनाएको छ । अघिल्लोपटक यो एक प्रतिशतभन्दा बढी थियो ।

अघिल्लो जनगणनाको तुलनामा भक्तपुरको जनसंख्या वृद्धिदर सबैभन्दा बढी र रामेछापको जनसंख्या सबैभन्दा घट्दो दरमा रहेको पाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर