प्रहरी हिरासतमै काम्छिन् हत्याआरोपी माता ! बालिकाको पोस्टमार्टममा के देखियो ?


काठमाडौं । आफूलाई माता बताउने उमा शाही ठकुरी हत्या आरोपमा १७ दिनदेखि प्रहरी हिरासतमा छिन् । झारफुक गर्न उनको शिविरमा राखिएकी बालिकाको शंकास्पद मृत्युपछि महानगरीय प्रहरी वृत्त स्वयम्भुको टोलीले पक्राउ गरी अनुसन्धान सुरू गरेको थियो ।
वृत्त स्रोतका अनुसार महिला थुनुवा राखिने हिरासत कक्षमा एक्लै राखिएकी ४८ वर्षिया ठकुरीलाई दैनिकजसो ‘देउता’ चढिरहन्छ । उनी हिरासतभित्रै काम्न थालेपछि धुपबत्ती गर्नुपर्छ ।
‘कति बेला भन्ने नै हुँदैन । कहिले बिहानै, कहिले बेलुका, कहिले म्याद थपका लागि अदालत लैजाने क्रममा गाडीमै काम्छिन् । कहिले एकै दिनमा दुई-तीनपटक पनि यस्तो हुन्छ । धुपबत्ती गरेपछि केही बेरमा आफैं शान्त हुन्छिन्,’ वृत्तका डीएसपी मिलन केसीले भने ।
प्रहरीका अनुसार ठकुरीलाई भेट्न उनका शुभचिन्तक र अनुयायीहरु दैनिकजसो आइरहन्छन् । भेट्न आएकालाई झारफुक भने उनले गरेकी छैनन् ।
पोष्टमार्टम रिपोर्टले राहत
ठकुरीले नागार्जुन नगरपालिका-१ रानीबनस्थित आफ्नो शिविरमा उपचारका लागि राखेकी सिन्धुपाल्चोकको चौतारा साँगाचोक गढी स्थायी घर भइ भक्तपुरको थिमी-७ धुन्चेपाखा बस्ने १४ वर्षीय बालिकाको मृत्यु भएको थियो । गत पुस २५ गते उनको मृत्यु भएपछि आफन्तले ठकुरीमाथि आरोप लगाएका छन् । प्रहरीले पनि माताको कुटपिटबाट मृत्यु भएको अनुमान गरेको थियो ।
शरीरको तल्लो भागमा निलडाम र प्वालहरू देखिएपछि प्रहरीले कुटपिटबाट मृत्यु भएको आशंकामा ठकुरीलाई पक्राउ गरेको थियो । ठकुरीले भने शौचालयमा लडेपछि बालिकालाई उपचारका लागि अस्पताल पुर्याइएको बताएकी थिइन् ।
मृतक बालिकाको पोस्टमार्टम भइसके पनि त्यसको रिपोर्टमा के देखिएको छ भन्नेबारे डीएसपी केसीले केही बताउन चाहेनन् ।
तर, काठमाडौं प्रहरी परिसर स्रोतका अनुसार त्रिवि शिक्षण अस्पतालमा गरिएको पोस्टमार्टमको रिपोर्टमा मृत्युको कारण कुटपिट भनिएको छैन ।
‘दिमागमा रहेको कुनै समस्याका कारण उनको मृत्यु भएको भन्ने पोस्टमार्टम रिपोर्टमा उल्लेख छ, कुटपिटबाट भएको भनिएको छैन,’ काठमाडौँ प्रहरी परिसरका एक उच्च अधिकारीले भने ।
घटनाको अनुसन्धान सकेर प्रहरीले मंगलबार प्रतिवेदन सरकारी वकिल कार्यालयलाई बुझाएको छ । सरकारी वकिल कार्यालयले प्रतिवेदनको अध्ययनपश्चात एक-दुई दिनभित्रै प्रकृया अगाडि बढाउनेबारे निर्णय लिने बुझिएको छ ।