२०५९ साल स्मरण गर्दै विष्णु रिमालको आरोप: प्रचण्ड-माधवको वितण्डासामु देउवाले आत्मसमर्पण गर्दैछन् – Nepal Press

२०५९ साल स्मरण गर्दै विष्णु रिमालको आरोप: प्रचण्ड-माधवको वितण्डासामु देउवाले आत्मसमर्पण गर्दैछन्

काठमाडौं । नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले २० वर्षअघि स्थानीय निकाय रिक्त गराउन तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा, विपक्षी दलका नेता माधवकुमार नेपाल र विद्रोही माओवादीका अध्यक्ष प्रचण्डबीच अघोषित साँठगाँठ रहेको भन्दै अहिले पनि यी तीन नेता स्थानीय तह रिक्त गराउन एकजुट भएको आरोप लगाएका छन् ।

रिमालले २०५९ सालको घटनातर्फ लक्षित गर्दै तत्कालीन एमालेभित्र केपी ओली र वामदेव गौतमले माओवादीका कारण स्थानीय चुनाव हुन नसक्ने अवस्थामा निर्वाचित प्रतिनिधिको म्याद थप्ने प्रस्ताव राखेको स्मरण गरेका छन् ।

रिमालले त्यसबेलाको एमालेभित्रको बहस स्मरण गर्दै भनेका छन्, ‘माधव नेपाललाई यसमा रुचि थिएन, अझ यसो भनौं (उनमा तत्कालको लाभबाहेक अलिकति पर पनि देख्न सक्ने क्षमता नै थिएन र छैन । प्रम शेरबहादुरले माधव नेपालको उक्साहट र प्रचण्डको वितण्डाको सामु समर्पण गरे । म्याद थपिएन, २०७४ (१५ वर्ष) सम्म स्थानीय निकाय जनप्रतिनिधिविहीन भयो ।

तत्कालीन एमालेको केन्द्रीय सदस्य रहेका रिमालले २०५९ सालमा स्थानीय चुनाव हुन नदिएर प्रजातन्त्र दरबारमा पुर्‍याउने पात्रहरू नै अहिले स्थानीय तह राख्ने कि सक्ने भन्ने निर्णायक स्थानमा रहेको बताएका छन् ।

उनले सत्ता गठबन्धनका सञ्चालकहरू संविधान, कानून र लोकतन्त्र भन्दै संविधान च्यात्ने र लोकतन्त्र मास्ने दिशातर्फ उन्मुख देखिएको भन्दै सावधान हुन आह्वान गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *