राष्ट्रियसभा निर्वाचन : सातै प्रदेशमा मतदान जारी – Nepal Press

राष्ट्रियसभा निर्वाचन : सातै प्रदेशमा मतदान जारी

काठमाडाैं । राष्ट्रियसभा निर्वाचनमा देशभर मतदान सुरु भएको छ । प्रदेशगतरूपमा भइरहेको निर्वाचनमार्फत १९ जना निर्वाचित हुनेछन् । मधेस र वागमतीमा २/२, प्रदेश १, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमबाट ३/३ जना निर्वाचित हुँदैछन् ।

निर्वाचन आयोगले विहान ९ देखि ३ बजेसम्म मतदान समय निर्धारण गरेबमोजिम सबै प्रदेशमा समयमै मतदान सुरु भएको छ । राष्ट्रियसभा निर्वाचनमा प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्न पाउँछन् । मुलुकभरबाट ५३२ प्रदेशसभा सदस्य तथा स्थानीयत प्रमुख र उपप्रमुखहरुले मतदान गर्नेछन् ।

प्रदेश १ मा गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष एवम् नगरपालिका प्रमुख र उपप्रमुखको लागि प्रदेश निर्वाचन कार्यालय विराटनगर र प्रदेशसभा सदस्यको लागि वाली संरक्षण प्रयोगशाला विराटनगरमा मतदान सुरु भएको छ ।

राष्ट्रियसभा निर्वाचनमा मतदान गर्दै लुम्बिनीका मुख्यमन्त्री कुलप्रसाद केसी । तस्बिर: रामप्रसाद आचार्य/नेपाल प्रेस ।

प्रदेश २ को लागि महेन्द्र नारायण निधी भवन, बागमती प्रदेशको लागि औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको सभागृह, गण्डकी प्रदेशको लागि प्रदेश निर्वाचन कार्यालय पोखरामा मतदान सुरु भएको छ ।

यस्तै लुम्बिनी प्रदेशको लागि कर्मचारी मिलन केन्द्र दाङ, कर्णाली प्रदेशको लागि प्रदेश निर्वाचन कार्यालय सुर्खेत र सुदूरपश्चिम प्रदेशको लागि प्रदेशसभा भवन धनगढीमा मतदान सुरु भएको छ ।

राष्ट्रियसभा निर्वाचनमा मतदान गर्दै सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलाेचन भट्ट । तस्बिर: भानुभक्त आचार्य/नेपाल प्रेस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *