एक फुलटाइमर लेखकको ‘वासलात’ – Nepal Press

एक फुलटाइमर लेखकको ‘वासलात’

८० वर्षीया आमा छिन्, ट्रमा सेन्टरको बेड नम्बर ४४३ मा । गफ गरिरहन्छिन् । आफ्नो खबर बुझ्न आएकाहरुको खबर सोधिरहन्छिन् ।

आमासँग वात गर्न अल्लि ठूलो आवाजमा बोल्नुपर्छ । कान अलि सुन्दिनन् । नयाँ-नयाँ मान्छेहरुसँग उनले सोध्ने नियमित प्रश्न हो, ‘घर कहाँ हो ? के थरी हो ? पहाड घर कहाँ हो ?’

दुई महिना मात्रै भयो, आमा काठमाडौं आएकी । पोहोर साल तिलगंगा अस्पतालमा दुवै आँखाको उपचार गरेर भोजपुर फिरेकी थिइन् । एक वर्षअघि आउँदा जेठो छोरो श्रवण मुकारुङसँग बसेकी उनी एक वर्षपछि आँखामा जालो परेर फेरि काठमाडौं आउँदा भने कान्छो छोरो राजन मुकारुङसँग बसिन् । खै कसो परेर हो, बेडबाट झर्दा चिप्लिएकी थिइन् । उनको कम्मरमा र खुट्टाको गेडीमा समस्या भयो । र, आधा महिनादेखि ट्रमा सेन्टरमा उपचाररत छिन् ।

आमा अस्पताल भर्ना हुँदै गर्दा श्रवण मुकारुङ साहित्य महोत्सवमा वक्ता बनेर रोल्पा पुगेका थिए । महोत्सवमै हुँदा खबर आयो, ‘आमालाई ट्रमा सेन्टरमा राखिएको छ ।’ चलिरहेको महोत्सव छोडेर मुकारुङ भने काठमाडौं चले । गाडीको जाम, मनभित्रको उकुसमुकुस, नेटवर्क समस्या, खबरको अपडेट सँगसँगै मुकारुङ काठमाडौं आइपुगे ।

वार्डको बेडमा विरामी खुट्टोलाई बेडमै बाँधेर सुत्न सहज बनाइएकी आमालाई हेरेर केहीबेर भावुक बनेका थिए श्रवण । खोटाङ-उदयपुर-भोजपुरका पहाडको शीर-फेद टेकेका खुट्टा र धमिलो हुँदै गएको आमासँगको बाल्यकालीन स्मृति आलो भएर मुकारुङको आँखाअघि सोहोरिएर आए ।

उनको स्मृतिमा आमाको पहिलो चित्र छ- श्रीमानको दौरासुरुवाल लगाएर उदयपुरको सिरवानीमा झोडा फाँडिरहेकी पुरुषजस्तो देखिने एक महिला ! झोडा फाँड्ने अन्य मानिसले हेपेर आफूले फाँडेको जमिन नखोसुन् भनेर टोपी पनि श्रीमान्कै लगाएर हलो जोतिरहेकी हुन्थिन् उनी !

रत्नपार्कभित्र हरियो चौरमा खुट्टो तन्काउँदै मुकारुङ सुनाउँछन्, ‘मेरी आमासँगको स्मृति त्यहीँबाट सुरु हुन्छ ।’

‘बुवा गीत गाउने, डुलिहिँड्ने यायावरी भएकाले आमाले लडाकु जसरी लड्नुपर्‍यो,’ मुकारुङ थप्छन् ।

मुकारुङकी आमाको माइती खोटाङ थियो । बिहे हुँदा आमा १९ वर्षकी थिइन् भने बुवा १४ वर्षका थिए । अलि खरो स्वभावकी आमा र खरै स्वभावकी सासुबीच खटपट भएपछि उदयपुरतिर झाडी फाँड्न गएका थिए । पछि सरकारले हात्ती लगाएर झाडी फाँड्नेहरुलाई लखेटेपछि मुकारुङका बुवाआमा फेरि गाउँ फिरे ।

गाउँ फिर्दाताका सुनकोसी नदी तरेको सम्झना अझैं ताजा छ मुकारुङलाई ।

‘गाउँ फिरेपछि बुवाले कान्छी आमा ल्याउनुभयो, आमा मुद्दा मामिलामा लाग्नुभयो,’ मुकारुङ स्मृतिको पर्दा उघार्छन्, ‘त्यसले हामी बालबच्चालाई दुःख त हुने नै भयो । पछि म चाहिँ बोजुसँग हुर्किएँ ।’

अलि पछि मुकारुङकी आमा माइती फिरिन्, खोटाङको लामाखु ।

पात्रोहरु बदलिँदै गए, वर्षहरु फेरिँदै गए । बुहारीसँग खटपट भइरहने बोजुले नै मुकारुङलाई भने, ‘जा, गएर आमालाई लिएर आइजा ।’

अनि मावलीबाट आमालाई लिएर आफू भोजपुर घर आए मुकारुङ ।

मुकारुङ हुर्किए, भाइहरु हुर्किए । काठमाडौं आए ।

‘म काठमाडौं आएपछि आमासँग एउटा ग्यापजस्तो रह्यो । पोहोर आउनुभएको थियो, दश महिना बसेर जानुभएथ्यो,’ उनले भने ।

०००

काठमाडौं आएपछि मुकारुङले पहिलो जागिर ललितपुरको सीडीओ कार्यालयमा गरेका थिए, ०४५ सालमा । कारारको खरदारमा नियुक्त भएका उनले नागरिकता बाँड्ने काम गरे, फिल्डमा गए ।

उनले जागिर पाउनुको कारण थियो, सीडिीओ उनकै बडा प्रेमकुमार वान्तवा थिए ।

मुकारुङले एक वर्ष त्यहाँ काम गरे । लगत्तै ०४६ सालको परिवर्तन भयो । ०४७ सालमा ‘नयाँ चुल्हो’ नामक जापानी प्रोजेक्टमा काम गरे । प्राविधिक भएर गाउँतिर गएर सात, आठ महिना चुल्हो बनाउन सिकाए ।

पछि एकेडेमीमा मोहन कोइरालाको सहयोगी भएर काम गरे एक वर्ष । मुकारुङ सुनाउँछन्, ‘प्राज्ञले एकजना सहयोगी राख्न पाउने रहेछ, त्यो अवसर पाएँ । उहाँ काव्य विभाग प्रमुख हुनुहुन्थ्यो । मैले कविताहरु मागिदिनुपर्ने, उहाँले लेखेका निवेदनहरु टाइप गरिदिनुपर्ने । मेरो खासै काम थिएन, कविहरु आएको वेला स्वागत गर्थें । तलब पनि खासै धेरै थिएन ।’

मोहन कोइराला गएपछि वैरागी काइँला आए । त्यसवेला पनि एक वर्ष काम गरे उनले एकेडेमीमा ।

मुकारुङले जीवनमा अहिलेसम्म गरेको जागिर यत्ति हुन् । ०७१ सालमा प्राज्ञ भएका उनी एकेडेमीबाट निस्किएको पनि तीन वर्ष भइसक्यो । श्रीमती, दुई छोरी छन् घरमा । जेठी छोरी १२ कक्षामा पढिरहेकी छिन् भने कान्छी ६ कक्षामा ।

घर चाहिँ कसरी चलिरहेछ मुकारुङको ?

०४९/५० सालतिर किताब निकाले । आफैंले ‘पुस–सेल’ गर्दै बेचे । विदेशतिर पनि पठाए । मुकारुङका अनुसार किताब विक्री भएर आएको पैसाले टालटुल हुँदै गयो त्यसबेला ।

एनजीओहरुका सानातिना प्रोजेक्टहरु लिएर काम पनि गर्दै गए ।

०६२/०६३ मा ‘बीसे नगर्चीको बयान’ कविता हिट भएपछि कन्सर्टहरु गरे । कतार, हङकङ लगायत मुलुक गए । नेपालकै विभिन्न जिल्लाहरुमा पुगे ।

‘कन्सर्टहरुबाट पैसा आउँथ्यो । कहिले पुरस्कार आउँथ्यो । त्यो वेला सजिलो थियो, अहिले पो महँगी बढ्यो र,’ मुकारुङ सुनाउँछन् ।

अढाए वर्ष ‘मितीनी’ नाटक लेखे मुकारुङले । त्यहाँबाट उनलाई महिनाको ४० हजार आउथ्यो, त्यसले पनि धेरै सहज बनाएको बताउँछन् । अहिले पनि जेनतेन सबै राम्रैसँग चलिरहेको बताउँछन् ।

भन्छन्, ‘म त्यति खर्चालु स्वभावको छैन । वाहियात खर्च गर्दिनँ । नुनतेल त खात्राकखुत्रुक गरेर चलिरहेकै छ ।’

तर, कहिलेसम्म चल्ला ?

‘म जुन ठाउँबाट आएँ, जुन सडक संघर्ष छ, त्यसले गर्दा मलाई सानातिना दुःख, अप्ठ्याराले छुँदैन,’ मुकारुङ भन्छन्, ‘मानिसले सर्भाइभ गर्न सिक्नुपर्छ । मेरो साधारण जीवनशैली छ । एकेडेमीमा हुँदासम्म पनि हामी चारजनाको परिवार कोठामै बस्यौं । प्राज्ञ भएकैले फ्ल्याट खोजेर बसिनँ ।’

घर, परिवारको व्यवस्थापन भनेको मानिसको ‘सिम्प्लीसिटी’ मा भर पर्ने बताउँछन् मुकारुङ । उनी सार्वजनिक सवारी चढ्छन्, ट्रमा सेन्टरबाट २० मिनेटमा कोठा सामाखुसी पुग्छन् ।

भन्छन्, ‘गीता (श्रीमती) मा पनि म्यानेजरियल क्वालिटी एकदमै धेरै छ । मेकअप, गरगहना लगायतका खर्चहरुमा उसको पनि कुनै रुचि छैन । यसले पनि धेरै सहयोग गर्छ ।’

पुस्तक सम्पादन गर्दा थोरै आउँछ, गीत लेखिदिँदा थोरै आउँछ ! यस्तैगरी जीवन चलिरहेको बताउँछन् मुकारुङ । यस्तो अवस्थामा सृजनाको यात्रा भने निकै जटिल हुने अनुभव छ उनको ।

‘लामो संरचनामा हुने उपन्यास लेख्न नसक्ने होइन नि ! त्यसका लागि एक वर्ष लाग्छ । तर, सर्भाइभलको यात्रामा हामीलाई तत्काल पैसा चाहिएको छ । मेरो जिन्दगी त आम मानिसको जिन्दगी हो नि त, त्यसैगरी बाँच्न सिक्नु पनि पर्छ,’ मुकारुङ हाँस्दै सुनाउँछन्, ‘आठ लाइनको गीत लेख्यो, थोरै आउँछ । बीस लाइनको कविता लेख्यो थोरै आउँछ । कसैले ‘यो हेरिदिनू’ भनेर पाण्डुलिपि दिन्छन्, त्यहाँबाट थोरबहुत आउँछ । अब यो टाइपको हो नि हामी त ! यही होइन र फुलटाइमर लेखक भनेको ?’

०००

व्यहारिक र परिवारिक आयामहरुमा अल्झँदा अल्झँदै मुकारुङले ५३ हिउँद खेपिसके । जीवनको वासलात मिलाउँदा मिलाउँदै उनका कपाल फुलिसके । गीत, कवितालाई केरमेट गर्दा गर्दै छोरीहरु जन्मिएर पनि हुर्किसके । विस्तारै आफूमा सिथिलता आउन थालेको स्वयम् महसुस गरेका छन् ।

मुकारुङले भने, ‘उमेरले गर्दा जीवनको उत्तराद्र्ध सुरु भएको हो कि जस्तो लाग्न थालेको छ ।’

मुकारुङ, पहिले किताब भेट्नासाथ फरफर पढिहाल्थे । कसैले नयाँ पुस्तक दिनासाथ पढेर सकाइहाल्थे । कुनै नयाँ घटना अथवा समाचारप्रति अपडेट भइहाल्थे । अहिले अलि अल्छि गर्छन् ।

‘उमेरले पनि होला, पछिल्लो समय आँखा कमजोर छन्, चश्मा लगाउनुपर्छ । अलि अल्छे पनि भएको छु,’ मुकारुङ सुनाउँछन्, ‘अचेल कसैले दिएको किताब एक-डेढ महिना यत्तिकै पनि थन्किन्छन् । ‘पढ्यौ ?’ भन्दा ‘पढ्दैछु’ भन्यो, सकियो ! सृजना र अध्ययनले मानिसलाई ताजगी महसुस गराउने भए पनि अचेल अलि सुस्त भएको छु ।’

तर, नयाँ कविता, गीतले दिने ताजगी र ऊर्जा भने अहिले पनि यथावत रहेको अनुभव उनको छ । लेख्ने गति कम हुँदा एक प्रकारको सकस र छटपटी महसुस गर्छन् ।

भन्छन्, ‘कुनै विषयप्रति एकोहोरिएँ भने त्यो भइहाल्छ । अहिले चाहिँ आमाजीले गर्दा लेखाइप्रति ध्यान हुँदैन । आमाजी ठीक हुनुभएपछि तनाव सुरु भइहाल्छ ।’

भनेजस्तो सृजना नहुँदाको छटपटाहटलाई सृजनासँगकै प्रसंगहरुमा जोडिएर, होहल्ला गरेर भए पनि कम गर्छन् उनी । तर, लेख्न नसकेकोमा भने पहिलाको तुलनामा कम सकस हुन्छ मुकारुङलाई ।

‘अहिले त नलेखे पनि केही जाँदैन भन्ने लाचारीपनजस्तो हुन्छ, पहिले चाहिँ लेख्न नसक्दा असाध्यै औडाहा हुन्थ्यो,’ उनले भने ।

एउटा गजबको उपन्यास लेख्ने योजनामा छन् । कतै जाँदा नयाँ-नयाँ प्लटहरु दिमागमा कुँदिरहेका हुन्छन् । बजारमा नयाँ उपन्यास आउँदा भने आफूले सोचेको पो लेखिसक्यो कि भन्ने भयले चाहिँ छटपटी दिने बताउँछन् ।

अर्को भय पनि छ मुकारुङलाई- ‘मलाई लाग्छ, म समयसँगै छु, नयाँ नै छु । तर, नयाँ पुस्ताको कवि, कलाकार आएको देखेपछि, आफ्नै बच्चाहरु हुर्कँदै गएको देखेपछि अलि बूढो भएँ कि लाग्छ । मेरो यति नै हो कि भन्ने सन्त्रास मनमा आउँछ ।’

पहिले आफूले जत्तिको अरु कसैले लेखेको छैन, आज चाहिने सृजना नै आफ्नो हो जस्तो लाग्थ्यो उनलाई । अहिले भने ‘अलि पछि परेँ कि, कला, सृजना धेरै अगाडि बढिसक्यो’ झैं लाग्छ उनलाई । जीवनप्रतिको बुझाइ बदलिँदै जाने, परिपक्व हुँदै जाने र अध्ययन–अनुभवले मानिसलाई जता पनि लैजाने उनको अनुभव छ । सुरुको यात्राबाट ठीक विपरीत पनि लैजाने दाबी छ उनको ।

भन्छन्, ‘मेरो वैचारिक, दार्शनिक हिँडाइमा पनि त्यो देख्छु । वामपन्थी स्कुलिङबाट प्रभावित भएर आएको म पछिल्लो समय डेमोक्रेटिक चिजहरु मनपराउने अवस्थामा आइपुगेँ ।’

मैले सोधेँ, ‘तर तपाईंको राजनीतिक–वैचारिक यात्रालाई वैचारिक स्खलन भन्नेहरु पनि छन् !’

मुकारुङ फिस्स हाँसेर जवाफ दिन्छन्, ‘त्यो अवुझहरुले गर्ने कुरा हो । जीवनको यात्रा नागबेली हुन्छ, सरल रेखामा हुँदैन ।’

‘तपाईंलाई वामपन्थीहरुले आफ्नो कवि भन्दै गर्दा अचानक नेपाली कांग्रेसको झण्डामुनि पुग्नुभएकाले ‘वैचारिक स्खलन’ भनेका होलान् कि !’

‘संसारलाई हेर्ने, जीवनलाई हेर्ने, परिस्थितिलाई हेर्ने पहिलो त म नै हो । र मसँग जोडिएर आउने चिजले त्यसलाई गाइड गर्दै लैजान्छ । डेमोक्रेट मान्छेले मदन भण्डारी पढ्न सक्छ, लेफ्टिस्टले पनि विपी पढ्न सक्छ नि !’

‘तर, तपाईंलाई अवसर खोज्दै त्यता पुगेको भन्नेहरु पनि छन् !’

‘फाइदा, अवसर दोस्रो कुरा हो । हामी दिमागले चल्छौं, अवसरले होइन । अवसरको पछि लाग्ने हो भने मम पसल चलाइन्थ्यो होला । कपडा पसल खोलिन्थ्यो होला । हामी ‘कम्युनिस्ट हौं, यो दिन्छु’ भनेर कम्युनिस्ट हुँदैनौँ, पहिला कन्भिन्स हुनुपर्छ । कुनै पनि वैचारिकी, दार्शनिकी संश्लेषण गर्छौं र धारणा बनाउँछौं । त्यो दिमागले हो, अवसरले होइन ।’

‘कांग्रेस त बन्नुभयो, तर लेखनमा भने उस्तो उल्लेख्य परिवर्तन देखिँदैन !’

‘हिजो मैले राम्रा गीत, कविताहरु कम्युनिस्ट भएर लेखेको होइन, श्रवण मुकारुङले आफ्नो दृष्टिकोणले लेखेको हो । माओको दृष्टिकोणले होइन । उनीहरुको दर्शन, विचार मनपराएँ हुँला, तर लेख्दा त आफ्नै दृष्टिकोणले लेखेँ ।’

‘डेमोक्रेट हुन सघाउने दृष्टिकोण चाहिँ कस्तो थियो ?’

‘आफ्नै खाले दृष्टिकोण थियो नि ! अर्को कुरो, हिजो पनि मेरो लेखन कम्युनिस्ट लेखन होइन । आम मानिसको मुक्तिको कुरा गर्न कम्युनिस्ट नै हुनुपर्छ भन्ने छैन । यो त झनै बलियोसँग डेमोक्रेटहरुले भनेको हो । मेरो लेखनमा वामपन्थी लेखनको प्रभाव मात्रै हो । सुरुआती कालमा गोर्की, लुसुनहरु पढियो, त्यसको प्रभाव पर्ने नै भयो । अर्को कुरा, वामपन्थी लेखन भने कम्युनिस्टको मात्रै पेवा होइन । वामपन्थी त कांग्रेस पनि हुन्छ । अहिलेको कम्युनिस्ट संसदीय अभ्यासमा आउनु भनेको उनीहरु डेमोक्रेटिक कम्युनिस्ट हुनु हो । डेमोक्रेटहरुले पनि समाजवादी कुरा गरेका छन्, माक्र्सको कतिपय तर्कलाई एप्रिसियट गरेका छन् ।

अहिले संसार नै आइडियोलोजीहरुको फ्युजनको संघारमा आइपुगेको छ । एउटा आइडियोलोजीको पक्षपोषण गर्नु एउटा पाटो हो, तर संसार त हजारौँ आइडियोलोजीहरुले चलाउने हो । एक्लो आइडियोलोजीले मात्रै चल्दैन । सबै आइडियोलोजीको राम्रो चिज ज-जसले टिपेर जान्छ, ऊ टिक्दै जान्छ । टिप्न नसक्ने सकिँदै जान्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *