राष्ट्रियसभाको निर्वाचन आज, मतदाता र मतदानस्थलबारे सम्पूर्ण जानकारी – Nepal Press

राष्ट्रियसभाको निर्वाचन आज, मतदाता र मतदानस्थलबारे सम्पूर्ण जानकारी

कैलाली । राष्ट्रियसभाको रिक्त रहेका १९ सीटका लागि आज निर्वाचन हुँदैछ । निर्वाचन आयोगले सबै प्रदेशमा निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

आज बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ । राष्ट्रियसभाको १९ जना सदस्यका लागि ४३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । सत्तारुढ ५ दलीय गठबन्धनबीच सबै सीटमा चुनावी तालमेल भएको छ भने मधेस प्रदेशमा नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीबीच तालमेल भएको छ ।

सत्तारुढ ५ दलीय गठबन्धनभित्र १९ सीटमध्ये कांग्रेसले ६, नेकपा माओवादी केन्द्रले र नेकपा एसले ५-५, जनता समाजवादी पार्टीले २ र राष्ट्रिय जनमोर्चाले १ सीट पाएका छन् ।

फागुन २० गतेदेखि राष्ट्रियसभाका २० जना सदस्यको पदावधि सकिदैछ । १९ जना निर्वाचनबाट छानिँदैछन् भने १ जना मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत गरिनेछ ।

पदावधि सकिनेमध्ये नेकपा एमालेका ८, माओवादी र समाजवादीका ४-४, कांग्रेसको ३ जना सदस्य रहेका छन् ।

निर्वाचन आयोगले आज मतदान सकिएलगत्तै मतगणना हुने जनाएको छ । कोभिड संक्रमणको जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य सम्बन्धी मापदण्ड पालनामा विशेष ध्यान दिइएको आयोगले जनाएको छ ।

राष्ट्रियसभाको निर्वाचनमा प्रदेशसभा सांसद र स्थानीय तहका प्रमुख र उपप्रमुख मतदाताका रुपमा रहन्छन् । प्रदेशसभा सांसदको मतभार ४८ र स्थानीय तहका प्रमुख÷उपप्रमुखको मतभार १८ रहेको छ । सत्तारुढ गठबन्धनका ५ दलबीच चुनावी तालमेल भएका कारण सबै १९ सीटमै गठबन्धनका उम्मेदवारहरुको जित निश्चित देखिन्छ ।

महिलामा ७ जना, दलित ३ जना, अपांगता भएका व्यक्ति वा अल्पसङ्ख्यकबाट २ जना र अन्यमा ७ जना गरी १९ जना निर्वाचित हुने निर्वाचन आयोगले जानकारी दिएको छ ।

प्रदेश १ बाट महिलामा १ जना, अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यकबाट १ जना र अन्यमा १ जना गरी ३ जना निर्वाचित हुने छन् ।

मधेस र वागमतीमा समान महिलामा १/१ जना र अन्यमा १/१ जना गरी २/२जना निर्वाचित हुने छन् । गण्डकी र लुम्बिनीमा समान महिलामा १/१ जना, दलित १/१ जना, र अन्यमा १/१ जना गरी ३/३ जना निर्वाचित हुने छन् ।

कर्णाली प्रदेशमा महिलामा १ जना, अपांगता भएका व्यक्ति वा अल्पसङ्ख्यकबाट १ जना र अन्यमा १ जना गरी ३ जना तथा सुदूरपश्चिम प्रदेशबाट महिलामा १ जना, दलितमा १ जना र अन्यमा १ जना गरी ३ जना निर्वाचित हुने छन् ।

मुलुकका ५३२ प्रदेशसभा सदस्य तथा गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख र उपप्रमुखहरुले १९ पदको लागि १२ गते मतदान गर्ने छन् ।

कहाँ, कति छन् मतदाता ?

राष्ट्रियसभाको निर्वाचनमा सबैभन्दा धेरै मतदाता मधेसमा छन् । प्रदेश २ मा प्रदेशसभाका १०४ सदस्य र स्थानीय तहका २६८ जना जनप्रतिनिधि गरी ३७२ जनाले मतदान गर्नेछन् । त्यसपछि प्रदेश १ मा बढी मतदाता रहेका छन् । प्रदेश १ मा प्रदेश सभाका ९२ र स्थानीय तहका २७२ जना गरी ३६४ जनाले मतदान गर्ने छन् ।

वागमती प्रदेशमा प्रदेशसभाका १०९ र स्थानीय तहका २३८ जना गरी ३४६ जनाले मतदान गर्नेछन् । लुम्बिनी प्रदेशमा प्रदेश सभाका ८१ र स्थानीय तहका २१५ जना गरी २९६ जनाले मतदान गर्ने छन् ।

सुदूरपश्चिम प्रदेशमा प्रदेशसभाका ५२ र स्थानीय तहका १७५ जना गरी २२७ जनाले मतदान गर्नेछन् । सबै भन्दा कम कर्णाली प्रदेशमा रहेका छन् । यहाँ प्रदेशसभाका ३५ र स्थानीय तहका १५६ जना गरी १९१ जनाले मतदान गर्नेछन् ।

कहाँ-कहाँ छन् मतदान केन्द्र ?

प्रदेश १ मा गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष एवम् नगरपालिका प्रमुख र उपप्रमुखको लागि प्रदेश निर्वाचन कार्यालय विराटनगर र प्रदेश सभा सदस्यको लागि वाली संरक्षण प्रयोगशाला विराटनगरमा मतदान स्थल तोकिएको छ ।

मधेस प्रदेशको लागि महेन्द्र नारायण निधी भवन, वागमती प्रदेशको लागि औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको सभागृह, गण्डकी प्रदेशको लगी प्रदेश निर्वाचन कार्यालय पोखरा तोकिएको छ ।

यस्तै लुम्बिनी प्रदेशको लागि कर्मचारी मिलन केन्द्र दाङ, कर्णाली प्रदेशको लागि प्रदेश निर्वाचन कार्यालय सुर्खेत र सुदूरपश्चिम प्रदेशको लागि प्रदेश सभा भवन धनगढीमा मतदान स्थल गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर