व्यक्तिपिच्छे कोरोनाको लक्षण, पीसीआर गर्ने र आइसोलेसनमा बस्ने न्यून – Nepal Press

व्यक्तिपिच्छे कोरोनाको लक्षण, पीसीआर गर्ने र आइसोलेसनमा बस्ने न्यून

काठमाडौं । काठमाडौं जोरपाटीकी उमा क्षेत्रीलाई माघ १ मा शरीर भारी हुने, गल्ने भइराखेको थियो । बेलुकापख हनहनी ज्वरो आयो । उनले सोचिन्- मौसम परिवर्तनको असर होला ।

थर्ममिटरले ज्वरो १०३ फरेनहाइड देखायो । सिटामोल खाएर सुतिन् । तर, औषधीले पनि छोएन । विहान उठ्दा घाँटी दुख्ने, छाती दुख्ने, रुघाखोकी लाग्ने पनि थपियो । कोरोनाको आशंका भइहाल्यो । तर, उनी पीसीआर टेस्ट गर्नतिर लागिनन् ।

मेडिकल पुगेर सामान्य चेकजाँच गरिन् । ५ दिनको लागि औषधी बोकेर आइन् । दुई दिन काममा जान सकिनन् ।

उनी भन्छिन्, ‘मलाई कोभिड भयो होला भन्ने शंका लागेको थियो । टेस्ट गराएको भए १०० प्रतिशत पोजिटिभ देखिन्थ्यो होला ।’

उमासँगै काम गर्ने सहकर्मीलाई अघिल्लो दिन मात्रै कोभिड भएको थियो । उनी कन्ट्रयाक्ट ट्रेसिङमा परेकी थिइन् । उनलाई ज्वरो आएको तेस्रो दिन परिवारको अन्य सदस्यलाई पनि लक्षण देखियो । यतिञ्जेल सबैले कोभिड नै हो भन्ने निधो गरिसकेका थिए । तर, कोही पनि पीसीआर गर्न गएनन् ।

ज्वरो आएपछि पनि परिवारका सदस्य आफैं तरकारी किनेर ल्याउनेदेखि बजारसमेत जान्थे । कोही पनि आइसोलेसनमा बसेनन् । ओमिक्रोन पुष्टि भएको ७ दिन अनिवार्य आइसोलेसनमा बस्नुपर्ने नियम छ । तर उमा ३ दिनदेखि नै अफिस जान थालिन् ।

उनी भन्छिन्, ‘लक्षण हेर्दा कोभिड नै भएको पक्का भयो । तर, घरमा अनावश्यक तनाव हुन्छ भनेर पनि टेस्ट गराइनन् । फेरि टेस्ट गर्न पैसा पनि धेरै लाग्छ ।’

कोभिड टेस्ट नगराएपछि आइसोलेसनमा पनि नबसेको उनी स्वीकार्छिन् । परीक्षण नगरेर परिवारमा नै जोखिम मोलेको उनले बताइन् ।

काठमाडौं दक्षिणढोकामा किराना पसल चलाउँदै आएकी सविना पाैडेललाई पनि एक साताअघि ज्वरो आउने, रुघा लाग्ने, टाउको दुख्ने भयो । ज्वरोले उठ्नै नसक्ने गरी थलिइन् । सिटामोल खाएर बसिन् । उनले पनि कोभिड परीक्षण गराउन आवश्यक ठानिनन् ।

तीन दिनपछि विस्तारै कम हुदै गयो । तर उनको श्रीमान राेशन पाैडेललाई पनि ज्वरोले समात्यो । सविनालाई जस्तै लक्षण देखिएपछि उनी पनि सिटामोल खाएर सुते । तर ज्वरा रे खोकी झनै बढ्दै गएपछि उनको अफिसले पीसीआर गर्न बोलायो । पीसीआर रिपोर्ट पोजेटिभ आयो ।

उनलाई आपत पर्‍यो । दुईवटा कोठामा बसिरहेका उनीहरु आइसोलेसन बस्ने ठाउँ नै भएन । पोजिटिभ भएरु पनि मापदण्ड पालना गर्न नसकेको उनी बताउँछन् ।

‘छुट्टै सुते पनि सबैको शौचालय एउटै हुन्थ्यो । भान्सा एउटै थियो । सबै कुरा पालना गर्न सम्भव नै भएन,’ उनले भने ।

उनलाई ५ दिनपछि निको भयो । तर, लगत्तै आमालाई ज्वरो आयो । आमालाई पनि राेशनको जस्तै लक्षण देखियो । तर आमाले पीसीआर गराइनन् ।

उनी भन्छिन्, ‘अब कोरोना हो भन्ने थाहा भइसक्यो । गाह्रो भएको छैन । खर्च मात्रै बढ्ने हो भनेर पीसीआर गराइन । आइसोलेसनमा पनि बसिन ।’

चितवनको प्रहरी तालिम शिक्षालयमा तालिम गरिरहेका प्रहरी जवानहरुलाई धमाधम ज्वरो आउने र टाउको दुख्ने भयो गत साता । तालिम गरिरहेका झण्डै ६ सय जनामा एकै किसिमको लक्षण देखेपछि शंका लागेर १६ जनाको कोरोना परीक्षण भयो । परीक्षण गरेका सबैमा कोरोना पोजेटिभ देखियो ।

रिपोर्ट आएपछि संक्रमितलाई आइसोलेसनमा राखियो । ज्वरो आउने, टाउको दुख्ने लक्षण देखिएका अरु शिक्षार्थीलाई परीक्षण नगरी आइसोलेसनमा राखियो ।

एक शिक्षार्थी भन्छन्, ‘हामीलाई परीक्षण नगर्ने रे । जो-जोलाई लक्षण देखिन्छ, उनीहरु आइसोलेसनमा बस्नु भन्नुभएको छ । हामी ज्वरो आउने बितिकै छुट्टै रुममा बस्ने हो ।’

उनका अनुसार अब लक्षण देखिएकाको पीसीआर नगराउने शिक्षालयले निर्णय गरेको छ । ५ दिन आइसोलेसनमा बसेर नियमित काममा फर्किनुपर्ने उनको भनाइ छ ।

०००

कोरोनाको तेस्रो लहरले अहिले सिंगै देशलाई लपेटेको छ । संक्रमण घर–घरमा फैलिइसकेको अवस्थामा धेरैले पीसीआर नै गराउन छोडेका छन् । त्यसैले सरकारी आँकडाले देखाउनेभन्दा धेरै गुणा संक्रमित हुन सक्ने विज्ञहरु बताउँछन् ।

काठमाडौंमा मात्र होइन देशैभर कोरोनाको लक्षण देखिदा पनि परीक्षण गराउन छोडिएको छ । किन त ?

जनस्जास्थ्यविद् तथा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. बाबुराम मरासिनी अहिले कोरोनाको लक्षण देखिएपनि पीसीआर नगर्नुको एउटा कारण पैसा पनि रहेको बताउँछन् । पैसा नहुनेहरु कोभिडलाई बेवास्ता गरेर समुदायमा हिँडिराखेको उनको भनाइ छ ।

मरासनीले भने, ‘उपचारको लागि ७० रुपैयाँ पनि नलाग्ने तर टेस्ट गर्न २ हजार चाहिने भएपछि मानिसहरु पीसीआर गर्न निरुत्साहित भएका हुन् ।’

पहिला संक्रमितको सम्पर्कमा आएकोहरुको कन्ट्रयाक्ट टे«सिङ सरकारले गरिदिन्थ्यो । तर अहिले आफैंले गर्नुपर्ने भएकाले पनि पीसीआर नगरी बस्नेहरु बढेको उनी बताउँछन् ।

‘गरेर साध्य पनि छैन । संक्रमितको सम्पर्कमा आएका कयौं मान्छे हुन्छन् । कन्ट्याक्ट टे«सिङ गराउने हो भने एकैदिन २५ हजार संक्रमित भेटिन सक्छन्,’ मरासनीले भने । परीक्षण शुल्क घटाइएको भने पनि प्रयोगशालालाई अझै चिठी नगएको उनले बताए ।

तर, पीसीआर नगर्नुको कारण पैसा मात्र नभएको मरासनी बताउँछन् ।

उनले भने, ‘पैसा एउटा फयाक्टर हो । अर्को चाहिँ मान्छेमा खोप लगाएपछि साह्रै कडा लक्षण हुँदैन रहेछ र चाँडै निको हुँदो रहेछ भन्ने आत्मविश्वास पनि बढेको छ । ५-६ दिन हेरिहालौ भनेर बस्दा धेरैलाई निको भएको छ ।’

महाशाखा भन्छः सबैजना अनुशासित र जिम्मेवार हुनुपर्छ

सरकारले पहिलाजस्तो संक्रमितको सम्पर्कमा आएकाहरु कन्ट्याक्ट टे«सिङ नगरेको स्वीकार्छ स्वास्थ्य मन्त्रालयअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा । अहिले महाशाखाले कन्ट्याक्ट ट्रेसिङ र संक्रमितको निगरानी गर्ने जिम्मा स्थानीय पालिकालाई दिएको छ । तर स्थानीय पालिकाहरुले वेवास्ता गर्दा संक्रमण बढेको महाशाखाको भनाइ छ ।

सबैभन्दा बढी संक्रमित काठमाडौं, भक्तपुर र ललितपुरमा भेटिएपछि तीनै जिल्ला स्वास्थ्य कार्यालयमा कन्ट्याक्ट टे«सिङ के भइराखेको छ भनेर महाशाखाले सोधेको थियो ।

महाशाखाका प्रमुख डा. कृष्णप्रसाद पौडेलले भने, ‘कन्ट्याक्ट ट्रेसिङ स्थानीय निकायले गर्ने हो । तर राम्रोसँग भइराखेको छैन । काठमाडौंमा विशेषगरी वाहिरका मान्छे धेरै छन् । वडालाई पनि थाहा छैन कति मान्छे छन् भन्ने । सबैको रेकर्ड व्यवस्थित छैन । काठमाडौंको कीर्तिपुरमा बरु राम्रो छ ।’

अहिले ८२ हजार संक्रमितमध्ये ८० हजार संक्रमित होम आइसोलेसनमा रहेको भनिएको छ । संस्थागत आइसोलेसनमा थोरै छन् । कन्ट्याक्ट ट्रेसिङमा परेका सबैलाई पीसीआर आवश्यक पनि नभएको डा. पौडेल बताउँछन् ।

उनी भन्छन्, ‘पीसीआर नगर्ने पनि हुन्छन् । तर संक्रमितबाट सर्न सक्ने हुनाले आफैले सेल्फ आइसोलेसन गरे भने समस्या धेरै हुदैन ।’

पौडेलका अनुसार टेस्ट बढाउने हिसाबले सरकारी तथा प्राइभेट प्रयोगशालाहरुमा रेट पनि घटाइएको छ । तर जसका लागि टेस्ट वाध्यात्मक छ, उनीहरुमात्रै जाने गरेको उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर