‘भगवान् चोर’ को बिगबिगी, कहाँ लगिँदैछन् मूर्ति ? – Nepal Press

‘भगवान् चोर’ को बिगबिगी, कहाँ लगिँदैछन् मूर्ति ?

काठमाडौं । गत म‌ंसिर २८ गते ललितपुरको कुम्भेश्वर मन्दिरबाट नारायणको मूर्ति चोरी भयो । रातको समयमा चोरी भएको उक्त मूर्तिसहित पुस १७ गते रामेछापको दोरम्भा घर भएका २३ वर्षीय नेसनल योञ्जन पक्राउ परे ।

त्यसको अघिल्लो दिनमात्र ललितपुरको टौखेलमा रहेको पन्चायनी मन्दिरमा रहेको बुद्धको मूर्ति हराएको थियो । भोलिपल्ट जंगलमा फ्याँकेको अवस्थामा भेटिएको उक्त मूर्ति योन्जनले नै प्रहरीलाई देखाएका थिए । अनुसन्धानका क्रममा नेसनलले ललितपुरको टंगलस्थित ढुंगेधाराबाट मंसिर २७ गते हराएको दुईवटा नारायण भगवान्‌को मूर्ति पनि चोरेको खुल्यो । तर, ती दुवै मूर्ति बरामद हुन सकेन ।

नेसनलले मूर्ति व्यापारी सानुलाल महर्जनलाई ती मूर्ति बिक्री गरेको बताए पनि हाल प्रहरी हिरासतमा रहेका महर्जनले त्यसलाई अस्वीकार गर्दै आएका छन् । ललितपुर प्रहरी प्रमुख यज्ञविनोद पोखरेलले मूर्ति किनेको भनिएका महर्जनले इन्कार गरिरहेकाले ‘तेस्रो लेयर’ सम्म पुग्न नसकेको बताउँछन् । ज्यामी काम गर्दै आएका नेसनलले एउटा मूर्ति १० हजारदेखि ३० हजार रूपैयाँसम्ममा खरिद गर्ने गरेको अनुसन्धान अधिकारी बताउँछन् ।

स्थानीयको दबाबपछि तात्यो प्रहरी

शनिबार राति ललितपुर महानगरपालिका-२७ सुनाकोठीमा रहेको गुठीबाट बालकुमारी माईको मूर्ति चोरी भयो । राति ११ बजेसम्म उक्त गुठीमा भोज आयोजना भएकोमा त्यसै रात मूर्ति चोरी भएको थियो ।

नेवारी समुदायको आस्था रहेको उक्त मूर्ति डेढदेखि दुई सय वर्ष पुरानो भएको अनुमान छ । ललितपुर प्रहरी प्रमुख सिद्धिविक्रम शाहले स्थानीयले तीन पुस्तादेखि उक्त मूर्ति रहेको भन्ने जानकारी प्राप्त भएको बताए ।

‘ठ्याक्कै कति पुरानो भन्ने छैन । तर बुढापाकाहरूले आफूभन्दा दुई पुस्ताअघि देखि उक्त मूर्ति रहेको बताएका छन्’, एसपी शाहले भने । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनसहित स्थानीय जनप्रतिनिधिले दबाब दिएपछि प्रहरीले छानबिन समिति बनाएर अनुसन्धान थालेको छ ।

नेपालबाट चोरी भएका मूर्ति विदेशका विभिन्न संग्रहालयमा रहेको पाइएको छ । तर, ती मूर्तिहरू कसरी त्यहाँ पुगे भन्नेबारे सम्बन्धित पक्षहरूले केही बताउन नचाहेको पुरातात्विक विभागका अधिकारी बताउँछन् । चोरिएका मूर्ति काठ, धातु र ढुंगाबाट बनेका धेरै साथै हिन्दू र बौद्ध धर्मसँग सम्बन्धित छन् ।

सोमबार ललितपुर प्रहरी परिसरले डीएसपी दिपक भारतीको स‌ंयोजकत्वमा समिति बनाएको थियो । तर, त्यसको केही समयमा महानगरीय प्रहरी कार्यालय, रानीपोखरीले महानगरीय प्रहरी अपराध महाशाखामा कार्यरत एसपी कृष्ण प‌ंगेनीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ । समितीको सदस्यमा डीएसपी भारतीलगायत छन् ।

नेपालभित्र चोरी भएका पुरातात्विक महत्वका सामग्रीहरू विदेश पुग्ने गरेको पाइएको छ । ललितपुर उद्योग वाणिज्य संघका सदस्य रहेका मूर्ति व्यवसायी रमेशसिंह महर्जन पुरातत्व विभागको स्विकृति लिएर चीन, भुटान, मलेसियालगायत देशमा व्यापार हुँदै आएको बताउँछन् ।
‘हामीले तयार गर्ने मूर्तिहरू पुरातत्व विभागले व्यापारिक प्रयोजनका लागि पास गरेपछि मात्र निर्यात गर्न पाइन्छ’, उनले भने । मूर्तिको आकार, त्यसमा प्रयोग हुने कला, मूर्तिकारको प्रख्यातीलगायत कारणले मूर्तिको मूल्य निर्धारण हुने उनले बताए । उनले कतिपय पुरातात्विक महत्वका मूर्तिहरू दैवी शक्तिका कारण चोरिएर पनि भेटिएको बताए ।

‘पाटनको सुन्धारामा रहेको बालकुमारीको मन्दिर मलाई थाहा भएसम्म दुईपटक र त्यसअघि एकपटक चोरी भएको सुनेको हुँ । एकपटक चोरेर ठमेलमा पुर्‍याइएको रहेछ । तर, भगवानको शक्तिका कारण त्यस राखिएको क्षेत्रमा विभिन्न समस्याहरू देखिन थालेपछि पछि त्यहाँ मूर्ति लुकाइएको थाहा भयो । पाटनबाट बाजागाजासहित गएर त्यो मूर्ति ल्याएको थियो’, उनी सम्झन्छन्।

बाघको टाउको र तरबार चोरी प्रयास

केशरमहलमा राखिएको पुरातात्विक महत्वको बाघको टाउको र तरबार पनि चोरीको प्रयास भएको छ । केशर पुस्तकालयभित्र राखिँदै आएको केशरशमसेरको पालाका ती सामग्रीहरू २०७२ सालको भूकम्पपछि भवन कमजोर भएर गोदामजस्तो ठाउँमा दराजमा राखिँदै आएको थियो ।

हरेक १५ दिनमा ती सामानको निरीक्षण हुने गरेकामा गत माघ ३ गते हेर्न जाँदा दराज तोडफोड देखिएपछि हल्ला भएको थियो । त्यसअघि अन्तिमपटक पुस १८ गते निरीक्षण गर्दा ती दुवै सामान सुरक्षित थिए ।

सामान हराएको सार्वजनिक भएको तेस्रो दिनमा तरबार र बाघको टाउको दुवै सोही भवनको एक कुनामा बोरामा लुकाएर राखिएको अवस्थामा फेला परेको थियो । उक्त सामान लिन आएको आरोपमा स्कुटरसहित २ जना पक्राउ परेका थिए ।

प्रहरीले त्यहाँ निर्माणको काम गर्ने अन्य दुईजनालाई पनि पक्राउ गरेको छ । केशरमहलभित्र काम गरिरहेको निर्माण कम्पनीको सुपरभाइजर रहेका गणेश श्रीपाली भनिने गणेश विश्वकर्मा भने पक्राउ पर्न सकेका छैनन् । श्रीपालीकै योजनामा ती सामान चोर्ने प्रयास भएको दाबी प्रहरीको छ । चोर्न खोजिएका सामानहरू कसलाई र कहाँ पुर्‍याइँदै थियो भन्ने निचोडमा प्रहरी पुग्न सकेको छैन ।

७६ वटा मूर्ति स्वदेश फिर्ता, ५४ वटा विदेशमै

विभिन्न समयमा चोरी गरिएर विदेश पुर्‍याएका ७६ वटा मूर्ति नेपाल फिर्ता भइसकेको पुरातत्व विभागले जनाएको छ ।

विभागका प्रवक्ता रामबहादुर कुँवरले ती मूर्तिहरू अमेरिका, बेलायत, तिब्बत, अस्ट्रिया, फ्रान्सलगायत मुलुकबाट फिर्ता ल्याइएको बताए ।

कुँवरका अनुसार फिर्ता हुने प्रकृयामा रहेका अन्य ५ मूर्ति ती देशमा रहेका नेपाली कूटनीतिक नियोगमा छन् । उनले अझै ५४ वटा मूर्तिहरू फिर्ताका लागि कूटनीतिक पहल भइरहेको जानकारी दिए । ‘ती मूर्तिहरू फ्रान्स, बेलायत र अमेरिका छन्’, कुँवरले भने ।

नेपालबाट लगिएका ती मूर्ति विभिन्न संग्रहालयमा रहेको पाइएको छ । ‘तर ती मूर्तिहरू कसरी त्यहाँ पुगे भन्नेबारे सम्बन्धित पक्षहरूले केही बताउन नै चाहँदैनन्’, कुँवरले भने । चोरिएका मूर्ति काठ, धातु र ढुंगाबाट बनेका धेरै साथै हिन्दू र बौद्ध धर्मसँग सम्बन्धित छन्

कुँवरले एक सय वर्षभन्दा पुराना वस्तुहरू पुरातात्विक महत्वको मानिने र त्यसको ओसार-प्रसारमा बन्देज रहेको जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *