सरकारलाई आयोगको ताकेता- स्थानीय तहको निर्वाचन यथाशीघ्र तोकियोस् – Nepal Press

सरकारलाई आयोगको ताकेता- स्थानीय तहको निर्वाचन यथाशीघ्र तोकियोस्

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन यथाशीघ्र तोक्न सरकारलाई आग्रह गरेको छ । मंगलबार विज्ञप्ति निकाल्दै आयोगले सरकारसँग छिटो मिति तोक्न ताकेता गरेको हो ।

आयोगले २०७९ वैशाख मसान्तभित्रै स्थानीय तहको निर्वाचन सम्पन्न गर्न आयोग तयारी अवस्थामा रहेको जनाएको छ । निर्वाचन व्यवस्थापनका लागि कानुनत: १२० दिन आवश्यक पर्ने भन्दै आयोगले भनेको छ ‘स्थानीय तहको निर्वाचनलाई लक्षित गरी मतदाता नामावली संकलन, मतदानस्थलहरूको पुनरावलोकन र निर्धारण तथा निर्वाचन सम्पन्न गर्न आवश्यक अन्य पूर्वतयारीका कार्यहरु निरन्तर गरिरहेको हुँदा आयोगले प्रस्ताव गरेअनुसार निर्वाचनको मिति तोकिएमा २०७९ वैशाख मसान्त भित्रै स्थानीय तहको निर्वाचन सम्पन्न गर्न आयोग तयारी अवस्थामा रहेको छ ।’

निर्वाचनको मिति तोक्न ढिलाइ गर्दा कठिनाइ झन बढ्दै जाने भन्दै आयोगले आयोगको परामर्शमा यथाशीघ्र मिति तोक्न आग्रह गरेको हो ।

आयोगले भनेको छ, ‘वर्तमान संवैधानिक एवम् कानूनी ब्यवस्थाको आधारमा स्थानीय तहको निर्वाचनको मिति तोक्ने काम जति विलम्व हुँदै जान्छ, त्यति नै निर्वाचन ब्यवस्थापनको कार्य व्यवहारिक एवम् प्राविधिक कारणले जटिल बन्दै जान्छ भन्ने तथ्यलाई दृष्टिगत गरी स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ४ को उपदफा (१) बमोजिम आयोगको परामर्शमा आगामी स्थानीय तहको निर्वाचनको मिति यथाशीघ्र तोक्न नेपाल सरकार समक्ष निर्वाचन आयोग आग्रह गर्दछ ।’

स्थानीय तहको आगामी निर्वाचनका सम्बन्धमा भएका संवैधानिक तथा कानूनी व्यवस्थाबारे प्रधानमन्त्री शेरबहादुर देउवालाई जानकारी गराइएको भन्दै आयोगले स्थानीय तहका जनप्रतिनिधिको अवधि ५ जेठमा सकिने भएकाले त्यसअघि नै चुनाव गर्नुपर्ने बताएको छ ।

आयोगले वैशाख १४ र २२ मा चुनाव गर्न सरकारलाई सिफारिस गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर