लामो उपचारपछि स्वदेश फर्किए माओवादी नेता पुन – Nepal Press

लामो उपचारपछि स्वदेश फर्किए माओवादी नेता पुन

काठमाडौं । थाइल्याण्ड र चीनमा लामो समय उपचार गरेर नेकपा (माओवादी केन्द)का नेता वर्षमान पुन स्वदेश फर्किएका छन् ।

पुन सोमबार हिमालयन एयरलाइन्सको स्वास्थ्य सामाग्री लिन गएको कार्गो बिमानबाट नेपाल आएका हुन् । उनका साथमा पत्नि ओनसरी घर्ती पनि नेपाल फर्किएकी हुन्।

उनलाई स्वागत गर्न माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, खेलकुद मन्त्री महेश्वर गहतराज लगायतका नेताहरु त्रिभुवन विमानस्थलमा पुगेका थिए।

पुनले त्रिभुवन विमानस्थलको अति विशिष्ट कक्षमा संक्षिप्त कुराकानी गर्दै अहिले आफ्नो स्वाथ्यमा सुधार आएको बताए।

पुनको बैंकक र चीनको थर्ड पिपुल्स हस्पिटल अफ सेनजेनमा उपचार भएको थियो । विरलै देखिने वंशाणुगत जण्डिसका बिरामी पुनलाई शुरुमा ललितपुरको सुमेरु अस्पतालमा उपचार गरिए पनि सम्भव नभएपछि चिकित्सकको परामर्शमा गत १३ असोजमा थाइल्याण्डको राजधानी बैंकक लगिएको थियो ।

बैंककस्थित समितिभेज अस्पतालमा दुई महिना उपचार गराउँदासमेत स्वास्थ्यमा उल्लेख्य सुधार नभएपछि १० मंसिरमा उनलाई चीन लगिएको थियो।

चीनमा लगिएपछि स्वास्थ्यमा सुधार आएको थियो । स्वास्थ्यमा सुधार आएसँगै पुनले चिनियाँ सरकारका उच्च अधिकारीहरुसँग पनि भेट गरेका थिए।

चीनका उपमन्त्री चेन झाओसँग पुनको भेट भएको थियो। माओवादी महासचिवका दावेदार समेत रहेका पुनलाई चिनियाँ सरकारकार उच्च अधिकारीले महत्व दिएर भेट्नुलाई अर्थपूर्णरुपमा हेरिएको थियो ।

पुनकै आग्रहमा आठौं महाधिवेशनपछि निर्वाचित माओवादी केन्द्रको पहिलो केन्द्रीय समितिले पदाधिकारी चयन गर्ने प्रक्रिया स्थगन गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर