सेटिङमा भागेका कैदी भन्छन् – प्रहरीलाई ५ लाख र जेलरलाई २५ लाख बुझाएको थिएँ – Nepal Press

सेटिङमा भागेका कैदी भन्छन् – प्रहरीलाई ५ लाख र जेलरलाई २५ लाख बुझाएको थिएँ

काठमाडौं । प्रहरी र जेल प्रशासनको सेटिङमा भागेका जन्मकैद भोगिरहेका कैदी यमराज परियारले आफूले प्रहरी र जेलरलाई ठूलो रकम दिएको बताएका छन् ।

उनले प्रहरीलाई ५ लाख र जेलरलाई २५ लाख रुपैयाँ बुझाएको बताएका हुन् ।

भारतीय प्रहरीको सहयोगमा पक्राउ परेका २९ वर्षीय यमराजले प्रारम्भिक अनुसन्धानमा आफूलाई उपचारका लागि बाहिर ल्याउने प्रहरी जवान धनबहादुर चौधरीलाई ५ लाख रुपैयाँ र जिल्ला कारागारका जेलर युवराज परियारलाई २५ लाख रुपैयाँ बुझाएको बताएको एक अधिकारीले जानकारी दिए ।

‘धनबहादुरले ८ लाख रुपैयाँ मागेका थिए । पछि ५ लाख रुपैयाँमा कुरा मिलेको थियो’, प्रारम्भिक अनुसन्धानका क्रममा यमराजले भनेका छन् । कैदी भगाउन सहयोग गरेको आरोप लागेका दुवै जना पक्राउ परिसकेका छन् ।

कर्तव्य ज्यान मुद्धामा जन्मकैद भोगिरहेका यमराज पुष ८ गते उपचारका लागि अस्पताल आउनेक्रममा चालक चौधरीले चलाएको लु ३१ प १५० नम्बरको मोटरसाइकल लिएर फरार भएका थिए ।

घोराहीस्थित विपि चोकमा रहेको थकाली भान्सा घर एन्ड लजमा खाजा खाँदै गर्दा यमराज बाहिर निस्किएर मोटरसाइकलमा फरार भएका थिए ।

उनी दिउँसो २ बजे त्यहाँबाट निस्किए पनि साँझ ५ बजे मात्र जिल्ला प्रहरी कार्यालयले फरार भएको बारे जानकारी पाएको थियो ।

दाङको राजपुर गाउँपालिका(३ स्थायी घर भएका यमराज कैद सजाय काटिरहेको ७ वर्ष पुगेको थियो । पहिला चौकीदार रहेका उनी पछिल्लो समय जिल्ला कारागारमा नाइके भएर काम गरिरहेका थिए ।

दुई रात जङ्गलमा पैदल, लुधियानाको सुकुम्बासी बस्तीमा बास

प्रहरीले यमराज फरार भएको भोलीपल्ट उनले लिएर गएको मोटरसाइकल लमहीको मस्कटमा फेला पारेको थियो । उक्त क्षेत्र कारागारबाट २०र२५ मिनेटको मोटरसाइकल दुरीमा पर्छ ।

मोटरसाइकल छाडेर दुई रात जङ्गलको बाटो पैदल हिँडेर भारत पुगेको यमराजले बताएका छन्। त्यसबीचमा उनले ६ वटा सिमहरु प्रयोग गरेको पाइएको छ ।

‘पैसा साँट्न, खानेकुरा ल्याई दिन साथीहरुले पनि सहयोग गरेको देखिन्छ । उनले पुस ८ गतेदेखि पुस १० गते बिहानसम्म जङगलको बाटो पैदल हिँडेर भारत पुगेको बताएका छन्’, अनुसन्धानमा संलग्न अधिकारी भन्छन् ।

प्रहरीका अनुसार यमराजका भारतमा बस्दै आएका सहोदार भाईसहित ५ जनाले सहयोग गरेका थिए ।

प्रहरीले भारतीय प्रहरीको सहयोगमा यमराजलाई पन्जाबको लुधियानास्थित एक झुपटी बस्तीबाट पक्राउ गरेको हो। यमराज त्यहाँ आफ्ना नातेदार पर्ने भाईसँग बसिरहेका थिए ।

जेलमा बसेपनि ३/४ वटा बैंक अकाउन्ट

७ वर्षदेखि जेलमा रहेका यमराजको नाममा तीन चार वटा बैंकमा खाता रहेको र त्यसमा लाखौँ रुपैयाँ बचत रहेको पाइएको छ ।

अनुसन्धानका क्रममा जेलबाट भाग्नुअघि यमराजले त्यहाँ रहेका कैदी बन्दीहरुबाट ६०/७० लाख रुपैयाँ उठाएका थिए ।

‘विभिन्न प्रलोभनहरु देखाएर उनले पैसा उठाएको देखिन्छ । जेलमा उनको रवाफ नै बेग्लै रहेछ’, अनुसन्धानमा संलग्न अधिकारी भन्छन् ।

जेलमा रहेका व्यक्तिको नाममा बैंकमा ३र४ वटा खाता रहनुले जेल प्रशासनसँग उनको बलियो सम्बन्ध र प्रभाव देखिएको अधिकारीहरु बताउँछन् ।

कैदबाट भागेमा डेढी सजाय हुन सक्ने कानूनी व्यवस्था छ । त्यसका लागि यमराजविरुद्ध कारागार प्रशासनले मुद्धा चलाउने छ ।

मुलुकी ऐनमा कर्तव्य ज्यान कसुरमा जन्मकैद भएकाहरुका हकमा पनि ४० प्रतिशत कैद भुक्तान गरिसकेपछि बाँकी कैद सजाय छुटको व्यवस्था थियो । तर कैदबाट भागेको भएकाले यमराजले अब त्यो सुविधा प्रयोग गर्न पाउने छैनन् ।

मुलुकी ऐनमा जन्मकैद बराबर २० वर्ष सजाय हुन्थ्यो । मुलुकी फौजदारी अपराध संहितामा जन्मकैद भन्नाले २५ वर्ष कैद सजाय हुन्छ भने पछिल्लो कानूनमा जन्मकैदको हकमा सजाय छुट हुने व्यवस्था छैन् ।


प्रतिक्रिया