‘स्पाइडरम्यान’ बन्यो छैटौं सर्वाधिक कमाउने फिल्म, ‘जुरासिक वर्ल्ड’ र ‘लायन किङ’लाई उछिन्यो – Nepal Press

‘स्पाइडरम्यान’ बन्यो छैटौं सर्वाधिक कमाउने फिल्म, ‘जुरासिक वर्ल्ड’ र ‘लायन किङ’लाई उछिन्यो

काठमाडौं । नेपालमा समेत व्यवसायिक कीर्तिमान राखेको हलिउड फिल्म ‘स्पाइडरम्यान : नो वे होम’ले विश्व बक्सअफिसमा समेत रेकर्ड राखेको छ । भेराइटी म्यागजिनका अनुसार अहिलेसम्म विश्वभर १.६९ विलियन अमेरिकी डलर कमाउँदै यो फिल्म अहिलेसम्म सर्वाधिक कमाउने छैटौं फिल्म बनेको छ ।

पछिल्लो सप्ताहन्तमा सोनी र मार्भल स्टुडियोको फिल्म नो वे होमले जुरासिक वर्ल्ड (१.६७ बिलियन डलर) र द लायन किङ (१.६६ बिलियन डलर)लाई समेत उछिन्यो ।

पछिल्लो साताको उत्तर अमेरिकी बक्सअफिसमा समेत स्पाइडरम्यान पहिलो स्थानमा छ । शुक्रबार र शनिबार फिल्मले त्यहाँ १४.१ मिलियन डलर कमायो । ओभरसिजनमा चाहिँ २७.७ मिलियन डलर कमाइ भएको छ ।

टम हल्यान्ड स्टारर सुपरहिरो फिल्म डिसेम्बरमा रिलिज भएको थियो । अमेरिकी बक्सअफिसमा मात्र यसले ७२१ मिलियन डलरको ओपनिङ गरेको थियो । विश्वभर यसको ओपनिङ ९७०.१ मिलियन डलर थियो ।

अमेरिकाभन्दा बाहिरी बजारमा चाहिँ स्पाइडरम्यान अहिलेसम्म सर्वाधिक कमाउने चौंथो फिल्म बनेको छ । फिल्मका मुख्य अभिनेता टम हल्यान्डको जन्मथलो बेलायतमा मात्र यसले अहिलेसम्म ११६ मिलियन डलर कमाएको छ । नेपालमा कोरोनाभाइरसको दोस्रो लहरअघि फिल्मले झन्डै सात करोड ग्रस कमाइ गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर